ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

हाँसेरै मर्ने भए

२०८० साउन, ५  
तीतो मीठो
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar मदन लम्साल

केही दिनअघि माथिल्लो सदन अर्थात् राष्ट्रिय सभामा ईकमर्श (विद्युतीय माध्यमबाट हुने व्यापार)सम्बन्धी कानूनको बहस हुनुपर्ने थियो । तर उपस्थित उद्योगमन्त्री तथा माननीयहरूले विद्युत् व्यापारको पो गम्भीर छलफल गरेछन् । यो देख्ने सुन्नेहरू मुर्छा परेर हाँसे । कुनै गम्भीर विषयमा सदनमा बिरलै हुने गरेको गम्भीर छलफललाई लिएर गम्भीर बन्नुपर्ने मानिसहरू उल्टो हाँस्नुपर्ने त थिएन । कुरा आग्राको थियो, भयो गाग्राको । भएको त्यत्ति मात्र हो । जे भए पनि कुरा चैं व्यापारकै भएको थियो । यसमा हाँस्नैपर्ने त थिएन ।

हिजोआज मानिसहरूलाई के भएको छ कुन्नि उनीहरू गम्भीर हुन छाडेजस्ता छन् । देशका ठूला मान्छेहरूले कुनै गम्भीर कुरा गरे भने पनि हाँसोमा उडाउन थालेका छन् । जस्तै, हाम्रा प्रधानमन्त्री वा मन्त्री कुनै सार्वजनिक समारोहमा अझ धार्मिक कार्यक्रममा गएर भगवान् बुद्धले भनेको मार्गमा चल्न सक्नुपर्छ, उनका उपदेशरूलाई जीवनमा उतार्नुपर्छ भन्छन् । तर यो सुनेर मानिसहरू एकआपसमा मुखामुख गर्छन् र हाँस्न थाल्छन् । मलाई ताज्जुप लाग्छ । भगवान् बुद्ध महापुरुष हुन् । उनका उपदेश पनि एकदमै राम्रा छन् । हाम्रा मन्त्री, प्रधानमन्त्री पनि राम्रै मान्छेहरू हुन् । राम्रै भएर त राम्रै राम्रै पदमा पुगेका हुन् । तर उनीहरूको कुरामा मान्छे हाँस्छन्, किन ? पहिले पहिले त मान्छेहरू यसरी हाँस्दैनथे त । मन्त्री, नेताहरू समयअनुसार मौका पर्नासाथ राम्रा कुरा गर्छन् । यो उनीहरूको बानी पनि हो । यसमा नराम्रो मान्नुपर्ने वा हाँस्नुपर्ने कुरा पनि छैन ।

मानौं, कुनै दिन कुनै भ्रष्टाचारी, गुण्डाको जन्मदिनमा नेतालाई बोलाउनुभयो भने पनि बानीअनुसार नेताले भन्ने नै छन् कि ‘हामीले फलानाको आदर्शहरूलाई जीवनमा उतार्नुपर्छ ।’ पाकेटमारहरूको संगठनको सम्मेलन उद्घाटनमा बोलाइयो भने पनि उनीहरूले भन्नैपर्छ कि ‘पाकेटमारहरूको रोजीरोटीको ग्यारेन्टी गर्नैपर्छ । सरकार पाकेटमारहरूको विकासका लागि पूरै कोशिस गर्नेछ ।’

एक दिन एउटा मिसनरीले खोलेको अनाथालयमा गएर एक मन्त्रीले भने, ‘घरघरमा शौचालय खोलिसकेपछि अब सरकार घरघरमा अनाथालय र विधुवा–आश्रम तथा वृद्धाश्रमहरू पनि खोल्न चाहन्छ ।’ मन्त्रीहरू यस्ता गम्भीर कुराहरू गरिरहन्छन् । तर हामी त्यसमा ध्यान दिँदैनौं । हामी उनीहरूको कुरामा हाँस्दिन्छौं मात्र । मन्त्रीहरू त मन्त्रीहरू हुन् । उनीहरूले कति गम्भीर भएर गम्भीर गम्भीर कुराहरू भनिरहेका हुन्छन् । जस्तै, भगवान् बुद्धका उपदेशमा कुनै हास्यरस त हुँदैन । त्यसो भए हामी हाँस्छौं किन त ?

स्वास्थ्यमन्त्री भन्छन्– डाक्टरहरूले नि:स्वार्थ भावले सेवा गर्नुपर्छ । हामी त्यो सुनेर हाँस्छौं । शिक्षामन्त्री भन्छन्– सरकार देशको शिक्षाक्षेत्रको विकासमा खुब लागिराछ । शिक्षाको उद्देश्य रोजगारी सृजनाभन्दा चरित्र निर्माणमा केन्द्रित हुनुपर्छ । त्यसमा पनि हामी हाँस्दिन्छौं । उद्योग, पर्यटन, ऊर्जा, अर्थ लगायतका मन्त्रीहरूले मौका पर्नासाथ भनिरहेका हुन्छन्, ‘व्यापारमा नैतिकताको पालना गर्नुपर्छ ।’ हामी त्यसमा पनि हाँस्छौं ।

हुँदाहुँदा अहिले हाम्रा नेता अर्थात् भाग्यविधाताहरूले सबै महापुरुषहरू, जस्तै– राम, कृष्ण, बुद्ध, पृथ्वीनाराणलगायत सबैलाई हास्यास्पद बनाइरहेका छन् । यो कुरा थाहा पाए भने यी महापुरुषहरू कति डराउँछन् होला कि कुनै मन्त्री या नेताले उनीहरूको नाम लिएर कहीँ कतै कुनै राम्रा कुरा नगर्दिऊन् । किनकि त्यसमा सबै हाँस्छन् फेरि ।

मानिसहरू नेता, मन्त्रीका कुराहरूमै हाँस्न थालेपछि म जस्ता हास्य व्यंग्यकारहरुको काम र दाम त रोकिने भो त ! म हास्यव्यंग्य लेख्छु । यो मेरो रोजीरोटी पनि हो । तर म तपाईंहरूलाई हँसाउन कत्ति मेहनत गर्छु । हास्यास्पद चरित्र र स्थिति निर्माण गर्छु । लक्षणा, व्यञ्जना खोज्छु । भाषाको साधना गर्छु । टाउको ठोकठाक गरेर कति समय लगाएर लेख्छु, तैपनि हँसाउन सक्तिनँ । तर, यी नेता, मन्त्रीहरू कति सजिलै हँसाउन सक्छन् भन्या !

अस्ति पशुपतिनाथ परिसरमा एक सार्वजनिक समारोहमा एक मन्त्रीले ‘मानव सेवा नै धर्म हो’ भनेका मात्र के थिए, दर्शक स्रोताहरू मुर्छा परेर हाँस्न थाले । यसो भएपछि म जस्ता हास्य व्यंग्यकार त भोकै पर्ने भए । किनकि कसैलाई हाँस्नु छ भने नेताका भाषण सुने पुग्यो वा तिनका वक्तव्य पढे भो । भाषण सुनेपछि मानिसहरू घण्टौं हाँसेर लडीबुडी गर्न थाल्छन् । हैन के भइरहेछ यहाँ ? विगतमा राम्रा राम्रा ठानिएका कुराहरू नै अहिले जोकजस्ता बनेका छन् ? कि हामीहरूको स्वभाव नै गम्भीर नभई हाँसिरहने किसिमको बन्दै गएको हो ? वा तपाईं हाम्रो स्वभाव नै कसैको मुखारवृन्दबाट निस्केका गम्भीर र राम्रा कुराहरू नै हास्यास्पद लाग्न थालेका हुन् ?

हुन त कतिपय गम्भीर हुनुपर्ने ठाउँमा हामी हासिदिने र हाँस्नुपर्ने ठाउँमा चैं गम्भीर भइदिने बानी पनि छ हाम्रो । जस्तै, गत हप्ता एउटा कार्यक्रममा प्रधानमन्त्रीले ‘सरदार प्रितम सिंहले आफूलाई प्रधानमन्त्री बनाउन दिल्ली धाएको’ भन्न मात्र के भ्याएका थिए, मानिसहरू गम्भीर भइहाले । खासमा यो हाँस्नुपर्ने कुरा थियो । तर जब प्रधानमन्त्रीले स्वच्छ प्रशासन चलाउने कुरा गरे । मान्छेहरू हाँस्न थाले । नयाँ गृहमन्त्री आउनेबित्तिकै देशमा भ्रष्टाचार निर्मूल पार्छु भने । फेरि मान्छे हाँस्नैमै लागे । मलाई अचम्म लाग्यो । यसमा हाँस्नुपर्ने कुरा के छ र ? कस्तो सुकर्म गरेका छन् हाम्रो नेतृत्व वर्गले कि उनीहरूका मुखबाट कुनै राम्रो उपदेशको कुरा सुन्नासाथ हाँसो उठ्न थाल्छ । नेताहरूले प्रत्येक आदर्श र राम्रा कुराहरूलाई हास्यरसले भरिपूर्ण बनाउन कत्ति धेरै मेहनत गरेका छन् ।

विसं २०४६–४७ सालतिर देश सेवाका कुरा गर्दा मान्छेहरू गम्भीर रूपले लिन्थे । अहिले आएर त्यै कुरा गर्दा जनता हाँस्छन् । २०४७ सालमा नेताहरूले विकास, समृद्धिका कुरा गर्दा मान्छेहरूले गम्भीरतासँग लिन्थे । अहिले यस्ता कुराहरू मजाक गरेजस्तो हुन थालेको छ । हुँदाहुँदा अहिले यी हाम्रा नेता अर्थात् हाम्रा भाग्यविधाताहरूले सबै महापुरुषहरू, जस्तै– राम, कृष्ण, बुद्ध, पृथ्वीनारायण लगायत सबैलाई हास्यास्पद बनाइरहेका छन् । यो कुरा थाहा पाए भने यी महापुरुषहरू कति डराउँछन् होला कि कुनै मन्त्री या नेताले उनीहरूको नाम लिएर कहीँ कतै कुनै राम्रा कुरा नगर्दिऊन् । किनकि त्यसमा सबै हाँस्छन् फेरि ।

देशैभरि यति धेरै सांसद, मन्त्री, नेताहरूले दिनदिनै यति धेरै राम्रा राम्रा कुरा गरिरहेका हुन्छन् कि जनताहरूलाई हाँसो सम्हाल्नै मुश्किल होला जस्तो छ । मेरो चिन्ता यो छ कि नेताहरूको कुराले मानिसहरू धेरै हाँस्न थालेका कारण मेरो हँसाउने उपक्रम र रोजीरोटी त खोसिने भो नै । तर त्योभन्दा चिन्ताको कुरा यो छ कि नेपाली जनता भने नेताहरूका राम्रा राम्रा आदर्शका कुरा सुनेर हाँस्दा हाँस्दै भोकभोकै पो मर्ने भए त !

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)