ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

नेपाल सुन तस्करीको ट्रान्जिट हो ?

२०८० साउन, ७  
पाठक विचार
Aarthik Abhiyan 18th Anniversary NA

नेपाल सुन तस्करीको केन्द्र बन्न थालेको छ । चीन, हङकङ, दुबई आदिबाट अवैध बाटोबाट सुन ल्याउने र भारततर्फ तस्करी गर्ने गरेको पाइन्छ । भारत र नेपालमा सुन आयातमा कर लगाइन्छ तर ती देशमा सुनमा कर लगाइँदैन वा नाममात्रको लिइन्छ । त्यसैले ती देशबाट चोरी बाटोबाट नेपाल ल्याउने गरेको पाइन्छ । सानो परिमाणको सुन नेपालभित्रै खपत हुने देखिन्छ भने ठूलो परिमाणको सुन भारततर्फ तस्करी हुन्छ । अहिले त्रिभुवन विमानस्थल सुन तस्करीको च्यानल बनेको छ । सुन तस्करहरूले सामान्य नागरिकलाई माध्यम बनाउने र आफू पर्दा पछाडि बसेर तस्करीमा लगानी गर्ने गरेको देखिन्छ । 

तस्करीमा प्रहरी प्रशासन, भन्सार विभाग आदिको मिलोमतो देखिन्छ । यी सबैको मिलोमतो नभई विमानस्थलबाट सुन तस्करी सम्भव देखिँदैन । वैदेशिक रोजगारीमा जाने वा विदेशमा बसेर आउने नेपालीले ल्याएका सानामसिना सामान देख्ने कर्मचारीले त्यत्रो सुन किन देख्दैनन् ? त्यसमा पनि सामान पास गर्न एक्सरेमेशिनबाट हेरिन्छ । त्यसले यस्ता वस्तुको जानकारी दिन्छ । तर, कर्मचारीले थाहा नपाएको भन्नु आफूलाई जोगाउने प्रयास मात्रै हो । तस्करीको सुनको केही भाग नेपालकै बजारमा पनि विक्री हुन्छ । भन्सार नतिरी ल्याउँदा तोलामै ८/९ हजार फाइदा हुन्छ । सुन व्यवसायीले सरकारले दिएको कोटाको सुन अपुग भएको बताउँदै आएका छन् । यद्यपि कतिपय बेला बैंकहरूको सुन नबिकेको समाचार पनि आइरहेको हुन्छ । त्यसो हुँदा तस्करी भएर आउने सबै सुन यहाँ खपत हुँदैन भन्न सकिन्छ । 

भारत संसारमा सबैभन्दा धेरै सुन खपत गर्ने मुलुकमध्ये एक हो । भारतमा सुनमा भन्सार र जीएसटीसमेत गरेर १८ दशमलव ४५ प्रतिशत कर लाग्दै आएको छ । तर, त्यहाँ सुनको माग र कर दुवै उच्च भएकाले ठूलो परिमाणको सुन तस्करी हुने गरेको छ । भारतमा हुने कुल खपतमध्ये २५ प्रतिशत सुन तस्करीको हो भनिन्छ । १ किलो सुनको मूल्य हङकङको मूल्यको तुलनामा भारतमा १४ लाख २१ हजार रुपैयाँ बढी हुन्छ । यति ठूलो मुनाफा हुने भएकाले नै तस्करीमा नयाँनयाँ तरीका अपनाउने गरिएको हो । नेपाल भारतबीच खुला सिमाना भएकाले कुनै पनि तरिकाले भारत पुर्‍याउन निकै सजिलो हुन्छ । 

माग धेरै हुने बेलामा नेपालको बजारमा तस्करीको सुनले आपूर्ति धानेको देखिन्छ । त्यसैले नेपालमा तस्करी हुने सुन नेपालमा खपत हुँदैन र तस्करीकै बाटोबाट भारततिर जान्छ । त्यसैले नेपाल सुन तस्करीको ट्रान्जिट बन्न थालेको देखिन्छ । 

माधव दुवाडी

रानीवन, काठमाडौं

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)