ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

थप ११ कम्पनीलाई ब्रोकर लाइसेन्स 

२०८० साउन, ७  
शेयर / बैङ्किङ गतिविधि
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar प्रजिता बुढाथोकी

काठमाडौं। नेपाल धितोपत्र बोर्डले थप ११ कम्पनीलाई ब्रोकर लाइसेन्स प्रदान गरेको छ । साउन ४ गते बसेको बोर्ड सञ्चालक समिति बैठकले थप ११ कम्पनीलाई ब्रोकर लाइसेन्स वितरण गर्ने निर्णय गरेको हो । बोर्डका प्रवक्ता मुक्ति श्रेष्ठका अनुसार ब्रोकर लाइसेन्स प्राप्त गर्ने थप कम्पनीहरूमा मिल्की वे शेयर ब्रोकर कम्पनी, क्यापिटल हब प्रालि, आकाश भैरव सेक्युरिटिज, पाही इन्भेस्टमेन्ट प्रालि, एसपीएसए सेक्युरिटिज, एनएमबी सेक्युरिटिज, सानिमा सेक्युरिटिज, स्टक्सकार्टस् सेक्युरिटिज, इन्दिरा सेक्युरिटिज, ब्लु चिप सेक्युरिटिज र गरिमा सेक्युरिटिज रहेका छन् । यी सबै कम्पनी पूँजीका हिसाबमा पहिलो तहको सीमिति कार्य गर्ने कम्पनी रहेको प्रवक्ता श्रेष्ठले जानकारी दिएका छन् । 

११ कम्पनीमध्ये एसपीएसए सेक्युरिटिजको चुक्ता पूँजी ३० करोड रुपैयाँ छ । बाँकी १० कम्पनीको चुक्तापूँजी २० करोड रुपैयाँ रहेको छ । बोर्डले पूँजीका हिसाबमा तीन किसिमको रहने गरी ४३ ओटा नयाँ ब्रोकर लाइसेन्स वितरण गर्ने कार्यलाई निरन्तरता दिएको हो । पहिलो तहको सीमित कार्य गर्ने ब्रोकरका लागि २० करोड रुपैयाँ, शेयर खरीदविक्री गर्नेसँगै डिपीको रूपमा काम गर्ने, लगानी परामर्श सेवा एवं लगानी व्यवस्थापन गर्ने र मार्जिन कारोबार सेवासमेत दिने पूर्ण दायरासहितको दोस्रो तहको ब्रोकरको चुक्तापूँजी ६० करोड रुपैयाँ र तेस्रो तहको स्टक डिलरका लागि १ अर्ब ५० करोड रुपैयाँ चुक्तापूँजी हुनुपर्ने व्यवस्था बोर्डले गरेको छ । 

सोही व्यवस्थाबमोजिम बोर्डले यसअघि एक धितोपत्र व्यापारी, एक पूर्ण कार्य गर्ने धितोपत्र दलाल र १६ सीमित कार्य गर्ने धितोपत्र दलाललाई लाइसेन्स प्रदान गरिसकेको छ ।

पछिल्लो समय सीमित कार्य गर्ने ११ कम्पनी थप भएसँगै यसपटक बोर्डबाट ब्रोकर लाइसेन्स पाउने कम्पनीको संख्या २९ पुगेको छ । आशयपत्र प्राप्त गरेका १४ कम्पनीले लाइसेन्स पाउन बाँकी छ । बाँकी १४ मा ६० करोड रुपैयाँ पूँजी भएका दोस्रो तहको सेवा प्रदान गर्ने हिमालयन सेक्युरिटिज र सनी सेक्युरिटिज छन् । अरू चाहिँ पूँजीको हिसाबमा पहिलो तहको सीमित कार्य गर्ने क्षमता भएका कम्पनी हुन् ।

बोर्डले तीन चरणमा गरी २९ कम्पनीलाई ब्रोकर लाइसेन्स दिएको हो । यसअघि जेठ ८ को निर्णयबमोजिम ७ र जेठ २२ को निर्णयबमोजिम ११ कम्पनीलाई बोर्डले ब्रोकर लाइसेन्स वितरण गरिसकेको छ । यसअघि बोर्डबाट लाइसेन्स पाएका १८ कम्पनीमध्ये सात कम्पनीले सेवा शुरू गरिसकेका छन् । असार २८ गतेदेखि नयाँ सात ब्रोकर कम्पनी बजारमा प्रवेश गरेका हुन् ।

दोस्रो चरणमा ब्रोकर लाइसेन्स प्राप्त गर्ने ११ कम्पनीमध्ये एउटा पुरानो ब्रोकर कम्पनीसँग मर्जरमा जाने तयारीमा छ । १० कम्पनीले नेप्सेको सदस्यता पर्खिरहेका छन् । बोर्डबाट लाइसेन्स प्राप्त गरेका कम्पनीले नेप्सेको सदस्यता लिनुपर्छ । 

२०७२ सालमा आफूले बोर्डको अध्यक्षता सम्हाल्दादेखिको बैंकलाई ब्रोकर लाइसेन्स दिने प्रयासले हाल आएर पूर्णता पाएको भन्दै पूर्वअध्यक्ष डा. रेवतबहादुर कार्कीले खुशी व्यक्त गरेका छन् । नयाँ ब्रोकर बजारमा थपिएसँगै प्रतिस्पर्धा बढ्न गई शुल्क घट्ने र सेवामा समेत व्यापक सुधार आउने अपेक्षा कार्कीको छ । पूँजीका हिसाबमा बलिया कम्पनीहरूले अन्तरराष्ट्रिय अभ्यास अनुसरण गरी लगानीकर्तालाई उच्च स्तरको सेवा प्रदान गर्नेमा विश्वस्त रहेका कार्कीले यसबाट समग्र पूँजीबजारको हित हुने प्रतिक्रिया दिए ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)