ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

समय चिन्नुहोस्, नेता किन्नुहोस्

२०८० साउन, १२  
तीतो मीठो
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar मदन लम्साल

उद्योगी व्यवसायी भनिरहेका छन् कि सरकारले काम गरेर कमाइ गर्ने वातावरण बनाएन, अर्थात् गरिखान दिएन । गरिखान दिएन रे ? कहाँ दिएको छैन । नाच्न जान्दैन आँगन टेडो ? ए बाबा ! विदेशमा जस्तो टक्क इमानदार भएर, कानून र विधि मानेर गरिखान पाइन्छ त ? आफूहरू जस्तो देश, त्यस्तै भेष नगर्ने अनि दोष चाहिँ सरकारको ? 

‘राजनीतिक दल र सरकारी अधिकारीहरू भाषण गर्दा उद्यमशीलता बढाउने, देश विकास गर्ने भन्छन् । तर व्यवहारमा भने समय–असमय व्यवसायीलाई प्रताडित गरिहन्छन् । विभिन्न करका नाममा जनतालाई एटिएम मेशिन सरह व्यवहार गरिरहेका छन् । जसरी हुन्छ, जनताबाट असुली चैं गर्ने । तर कुनै सुविधा चाहिँ नदिने ?’ भन्छन् उद्योगी, व्यवसायीहरू ।

तर उद्योगी, व्यवसायीका यी धारणा पूर्णतया गलत छन् । किनकि सरकारी प्रताडना पूर्ण रूपमा कानूनी हुन्छन् । सरकार भनेको भगवान्जस्तै शक्तिशाली तत्त्व पो हो त । भगवान्ले गरेको कुरामा प्रश्न उठाउन त पाइन्न नि । आफू धन्दा चलाउन नजान्ने, दोष दल र सर्खारलाई दिने ? उद्योग सुद्योग चलाउन, व्यापार गर्न पो सरकारले प्रताडित गरेको हो । धन्धा चलाउन त उक्साएकै छ । धन्धा गर्न छोडेर उद्योग व्यापार जोड्ने काममा लागेपछि सरकारले सहन्छ त ? त्यसैले सबै काम छोड्नुस्, धन्धा गर्न लाग्नुस् । धन्धा गर्न नजानेको भए तलका कुरा पढ्नुस् ।

धन्धा गर्ने असली तरीका यो हो कि तपाईं आफ्नो साथमा कुनै एउटा राम्रो दलाल पाल्नुस् । अझ यो राम्रो हुन्छ कि तपाईं आफ्नो पाइन्टको खल्तीमा एक–दुई नेता नै किनेर राख्नुस् । सकेसम्म फरक फरक दलका नेता किन्नुस् । अँ नेता चिनेको छु भनेर मख्ख चाहिँ नपर्नुस् नि है, चिनेको भन्दा किनेको चाहिँ पक्का काम लाग्छ । हिजोआज त कतिपय बुद्धिमान् मान्छेहरूले ४–५ दलका नेता खरीद गरेर राखेका हुन्छन् । 

किनेर राखेका नेताले जहिले पनि काम दिन्छन् । भन्सारबाट तपाईंले विदेशबाट ल्याएका सुन, चाँदी भन्सार शुल्क नै नतिरी सित्तैमा छुटाइदिन्छन् । कथम्कदाचित् सेटिङ बिग्रिएर सुन समातियो भने पनि पीर नगर्नुस्, सुन जाला तर तपाईंलाई चोखै बचाइदिन्छन् । सरकारी जग्गा तपाईंका नाममा नामसारी गराइदिन्छन् । छानबिन भएछ पनि तपाईंलाई तर्काइदिन्छन् । किनिएका नेताले तपाईंका मान्छेलाई आफूले इच्छाएको ठाउँमा सरुवा, बढुवा गर्नेदेखि आयकरमा गडबढ गराउनेदेखि ठेक्कापट्टा दिलाउनेसम्मका काम मजैले गर्न, गराउन विशेष खुबी राख्छन् । यी नेता आवश्यक पर्‍यो भने प्रहरीसँग समन्वय अर्थात् सेटिङ मिलाउन सक्छन् । असली देउता बरु चुक्लान्, यी चुक्दैनन् ।

अब कहाँ किन्ने यस्तो नेता भन्नुहोला ? चिन्ता लिनै पर्दैन । बजारमा हरेक आकार प्रकारका एक से एक नेता हर समय विक्रीका लागि उपलब्ध छन् । एकातिर नयाँ नेता, अर्कातिर पुराना नेता, बोली बोली भ्याउने नेता, नबोली नबोली सिध्याउने देउता, सिन्को नभाँची सोसल मिडिया हल्लाउने नेता, म रिसाए सिध्याइदिन्छु धन्दै धम्क्याउने नेता । तपाईंलाई जस्तो चाहियो रोजीरोजी पाउनुहुन्छ । ती नेता नै तपाईंलाई खोजी खोजी आउँछन् ।

देशमा संसदीय चुनावी लिगको धार्मिक अवसरमा प्रत्येक नेताले आआफ्ना दलाल नियुक्त गर्छन् र दलालका माध्यमबाटै खुलमखुला बिक्छन् । बस्, रोकडा चाहिन्छ रोकडा, बिक्नका लागि तयार हुन्छन् नेताहरू ।

चुनावको मौसममा त नेताहरू फुटपाथमै बिक्न तयार हुन्छन् । यो गल्ली, त्यो गल्लीदेखि चौबाटोसम्म हर प्रकारका नेता विक्री हुनका लागि तम्तयार । कतिपय नेताहरू त मान्छेहरूका हातमा विक्री हुनुलाई आफ्नो धर्म ठान्छन् । अझ एउटा नेता जब अर्को नेतालाई किन्छ भने तब किन्नेवाला नेता सर्वोच्च नेतामा दरिइहाल्छ । अर्को शब्दमा भन्नुपर्दा त्यो उच्च नेता उच्चस्तरको लुच्चा बन्छ । जुन नेताले अरू नेतालाई खरीद गर्छ, त्यो नेता सबैभन्दा ठूलो कुर्सीमा विराजमान हुन पुग्छ । यस्ता नेता ठूल्ठूला होटलहरूमा, रिसोर्टहरूमा गएर एकदमै प्रेमपूर्वक आफ्नो लिलामी आह्वान गर्छन् । 

देशमा संसदीय चुनावी लिगको धार्मिक अवसरमा त प्रत्येक नेताले आआफ्ना दलाल नियुक्त गर्छन् र दलालका माध्यमबाटै खुलमखुला बिक्छन् । बस्, रोकडा चाहिन्छ रोकडा, बिक्नका लागि तयार हुन्छन् नेताहरू ।

प्रदेशका मात्र हैन, संघीय वा केन्द्रीय राजधानीमा त झन् बिक्ने नेताहरूको ठूलै भीड उपलब्ध छन् । जान्ने मान्छेहरूले विहारतिर जस्तै आफ्ना आफ्ना ढंगका नेता किनेरै राखेका हुन्छन् । हिजोआज प्रत्येक घरमा वा अफिसमा एउटा न एउटा किनिएका नेता चाहिन्छ क्या ! घरको ढल सफा गर्नु छ भने नेता आवश्यक । घर पछाडि मरेको कुकुर हटाउनु छ त नेता आवश्यक । दुई हप्तामा एकचोटि मात्र धारामा पानी आयो भने पनि यसको प्रार्थनाका लागि पनि एउटा नेताको एकदमै आवश्यकता हुन्छ । यता अफिसमा पनि बिजुलीको बिलमा छुट दिलाउनेदेखि कतिपय सरकारी कार्यालयमा गुट मिलाउनेसम्ममा नेताकै आड, भरोसा वा आशीर्वाद चाहिन्छ । त्यति मात्र होइन, एउटा टोले गुन्डाको नेता त झन् नभई हुँदैन । सबैभन्दा पहिला काम लाग्ने त त्यही हुन्छ । 

यसरी नागरिकता बनाउन होस् वा सवारी लाइसेन्स लिन, विदेश जाने फारम भर्न होस् वा कसैलाई धाकधम्की गर्न सबैतिर नेताको आवश्यकता पर्छ । बिचरा नेताले तपाईंबाट के नै पाउँछ र ? केवल उसको र्‍यालीमा केही बेर उसको जयजयकार ! उसका भोटका लागि भीड लावालस्कर बन्दिनु । उसका खराब काममा हो हो मा हो हो मिलाउनु । समय समयमा उसका लातहरू सहनु, बेला बेलामा ‘राष्ट्रिय शब्द’का बातहरू सुन्नु । यत्ति मात्र त हो । अरू त के नै चाहिन्छ र ? नेताजीले मागेको रकम दिनुस् र आफ्नो काम लिनुस् ।

त्यसैले, उठ्नोस् प्रभु ! तपाईं पनि शिरक छाड्नुहोस् र एउटा नेता खरीद गरेर ल्याउनुस् । नेताले चाह्यो भने गर्मीमा हिउँ पार्न सक्छन् र चिसो मौसममा पसिना निकाल्ने गर्मी बढाउन सक्छन् । एक घर एक रोजगार हैन । अब त एक परिवारमा एक नेता चाहिन्छ । खल्ती खल्तीमा नेता कोच्नुहोस् । हो भन्या ! धन्धा चलाउनुस्, अरूका मन जलाउनुस् । अकुत सम्पत्ति जोड्नुस्, कानूनका जालोहरू तोड्नुस् । समय चिन्नुस्, नेता किन्नुस् । आउनोस्, यो सुवर्ण अवसर नचुकाउनुहोस् । समय छँदै एउटा न एउटा नेता किनिहाल्नुहोस् है हजुर !

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)