ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

निर्यातकर्ताको क्षमता अभिवृद्धिका रणनीतिहरू: आवधिक कक्षा सञ्चालन गर्न आवश्यक 

२०८० साउन, १६  
लेख | दृष्टिकोण
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar कृष्णराज बजगाईं

निर्यातकर्ताको क्षमता अभिवृद्धिलाई मुलुकमा आम रूपमा लिने गरिन्छ । हेभिवेट र फिदरवेटका खेलाडीहरूलाई एकै मोडालिटीमा तालीम सञ्चालन गरेजस्तो निर्यातकर्ताको क्षमता अभिवृद्धि कार्यक्रमहरू सञ्चालन भइरहेको सन्दर्भमा सबैखालका निर्यातकर्तालाई एकैप्रकारको दृष्टिबाट हेर्ने र उनीहरू सबैलाई छ्यासमिस गरेर निर्यातकर्ताको क्षमता अभिवृद्धि गर्ने कार्यक्रमहरू सञ्चालन गर्ने एकप्रकारको संस्कृति नै बन्न गएको छ । फलस्वरूप निर्यातकर्ताको क्षमता अभिवृद्धिका कार्यले अपेक्षित प्रतिफल दिन सकेको छैन । 

क्षमता अभिवृद्धिको चर्चा गर्दा सम्बद्ध निर्यातकर्ताको अवस्था र वस्तुस्थिति र उनीहरूको आवश्यकताका बारेमा अध्ययन हुन जरुरी हुन्छ । यी सबै कार्यका लागि सर्वप्रथम निर्यातकर्ताको क्षमताका आधारमा उनीहरूको वर्गीकरण गरिनु आवश्यक हुन्छ । नेपालको सन्दर्भमा नेपाली निर्यात क्षेत्रलाई पाँच भागमा वर्गीकृत गर्न सकिन्छ । पहिलो निर्यातका बारेमा ज्ञान आर्जन गर्न चाहने विद्यार्थीहरू, दोस्रो, निर्यातक्षेत्रमा संलग्न भई नसकेका तर संलग्न हुन चाहनेहरू, तेस्रो उत्पादनमा संलग्न भएका र निर्यात क्षेत्रमा संलग्न हुन चाहनेहरू, चौथो, सानो आकारमा निर्यात गरिरहेका र आफ्नो निर्यात व्यापार विस्तार गर्न चाहिरहेकाहरू, पाँचौं विगत लामो समयदेखि निर्यात व्यापारमा संलग्न ठूला र स्थापित निर्यातकर्ता । 

उपर्युक्त पाँचओटा वर्गका लागि अलगअलग क्षमता अभिवृद्धिको रणनीति अंगीकार गरिनु आवश्यक देखिन्छ । निर्यात व्यापारका बारेमा ज्ञान प्राप्त गर्न चाहनेहरूलाई सैद्धान्तिक प्रकृतिका, नेपालको वैदेशिक व्यापारको संयोजन, अन्य देशको व्यापारको अवस्था, सम्भावनाहरू, निर्यात अभिवृद्धिका औजारहरू, विभिन्न देशका निर्यात प्रवर्द्धनका दृष्टान्तहरू, बजार अनुसन्धान, वैदेशिक व्यापारसम्बद्ध आन्तरिक र अन्तरराष्ट्रिय कानूनहरू, विभिन्न देशका वाणिज्य नीतिहरू, भन्सार र गैरभन्सार प्रावधानहरू, निर्यातमा प्रक्रियागत पक्षहरू, निर्यातमा लजिस्टिक र व्यापार वित्त व्यवस्थापनजस्ता विषय आवश्यक पर्छन् । उनीहरूलाई यस क्षेत्रमा दक्ष बनाउन मासिक अवधिका, त्रिमास अवधिका, अर्धवार्षिक अवधिका र वर्ष दिन अवधिका डिप्लोमा कोर्सहरूमार्फत कक्षाहरू सञ्चालन हुन आवश्यक छ । यस कार्यले निर्यात क्षेत्रमा नयाँ पुस्ताको आवागमन हुने, निर्यात क्षेत्रलाई आवश्यक पर्ने सेवा प्रवाह गर्ने दक्ष जनशक्ति तयार हुने देखिन्छ । भारतमा भारतीय वैदेशिक व्यापार संस्थानले यसप्रकारका कार्य गर्दै आएको छ । नेपालमा पनि व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रले यस प्रकारको भूमिका प्रभावकारी रूपमा खेल्न सक्छ । यसका लागि केन्द्रको वर्तमान संरचनामा आवश्यक परिमार्जन हुन भने आवश्यक देखिन्छ । यस्तै नेपाली कलेजहरूले यस्ता विशिष्टीकृत कोर्सहरू सञ्चालन गर्न सक्छन् जसलाई आर्थिक र प्राविधिक रूपमा नेपाल सरकारले आवश्यक सहयोग गर्न भने जरुरी हुन्छ । 

उत्पादनमा संलग्न भएका र निर्यात क्षेत्रमा संलग्न हुन चाहनेहरूका आवश्यकता पनि एकदमै भिन्न प्रकारका हुन्छन् । उनीहरूलाई विशेष बजार र बजारमा प्रवेश गर्दा चाहिने योग्यताका बारेमा बढी चासो हुन्छ ।

निर्यातकर्ताको क्षमताको अभिवृद्धिमा दोस्रो वर्गमा पर्ने निर्यात व्यापारमा संलग्न भइनसकेका तर संलग्न हुन चाहनेहरू पर्छन् । यस वर्गमा पर्ने आसन्न निर्यातकर्ताका लागि निर्यातका प्रारम्भिक चरणदेखि बजार पहुँचसम्मका सबै पक्ष र निर्यात व्यापारमा संलग्न हुन चाहँदा आवश्यक पर्ने प्रक्रियागत, कानूनी र अन्य निर्यातसम्बद्ध क्रियाकलाप, गुणस्तरका प्रावधानहरू र बजारमा नेपाली वस्तुहरूको आयातमा लागू हुने प्रावधानहरूका बारेमा तालीम हुन आवश्यक देखिन्छ । दुईहप्ते अवधिका कोर्सहरू तयार गरी सम्बन्धित विषयविज्ञहरूबाट कक्षा लिने गरी यस्ता क्षमता अभिवृद्धिका कार्यक्रम सञ्चालन हुन जरुरी छ । यसबाट आसन्न निर्यातकर्तालाई निर्यात व्यापारमा संलग्न हुँदा पालना गर्नुपर्ने चरणहरूबारेमा अग्रिम जानकारी प्राप्त भई निर्यातकार्य सहज हुन जाने देखिन्छ । 

यस्तै उत्पादनमा संलग्न भएका र निर्यात क्षेत्रमा संलग्न हुन चाहनेहरूका आवश्यकता पनि एकदमै भिन्न प्रकारका हुन्छन् । उनीहरूलाई विशेष बजार र बजारमा प्रवेश गर्दा चाहिने योग्यताका बारमा बढी चासो हुन्छ । विशेष गरी आयातकर्ता मुुलुकले लागू गरेका गुणस्तरका प्रावधानहरू, भन्सार दर, क्रेताहरूसँग सम्पर्क, अन्तरराष्ट्रिय मेलामा सहभागिता र आफ्नो वस्तुलाई अन्तरराष्ट्रिय बजारमा पुर्‍याउँदा चाहिने कागजपत्र र ढुवानी र भुक्तानी प्रक्रियाजस्ता विषय विशेष रूपमा उनीहरूका लागि अति आवश्यक हुने गर्छ । यसका लागि यस्ता निर्यातकर्तालाई उपर्युक्त क्षेत्रमा जानकार बनाउन एकहप्ते तालीमहरू सञ्चालन हुन जरुरी छ । 

सानो आकारमा निर्यात गरिरहेका र आफ्नो निर्यात व्यापार विस्तार गर्न चाहिरहेकाहरूका चाहनाहरू पनि एकदमै फरक खालका हुन्छन् । यस वर्गलाई लक्षित गरी बजारको जानकारी, विभिन्न देशहरूमा आयोजना हुने व्यापार मेलाहरू, क्रेताहरूसँग सम्पर्क, आफ्ना वस्तुहरूको बजार अनुसन्धानका बारेमा ताजा सूचनाहरू प्रवाह हुने गरी २ देखि ३ दिने अवधिका छोटा अवधिका तालीम सञ्चालन हुन जरुरी देखिन्छ । विशेष गरी निर्यातमा उनीहरूले सामना गरिरहेको बटलनेकलाई कसरी सामाधान गर्ने भन्ने विषयमा उनीहरूको क्षमता अभिवृद्धि हुन जरुरी देखिएको छ । नेपाल सरकारको सहयोग पनि यस वर्गलाई सबैभन्दा बढी जरुरी देखिएको हुन्छ । निर्यात वृद्धिमा सबैभन्दा ठूलो भूमिका खेल्न सक्ने सम्भावनाले भरिएको वर्ग पनि यही नै हो । अन्तरराष्ट्रिय मेला प्रदर्शनीमा प्रभावकारी उपस्थिति उनीहरूको सबैभन्दा ठूलो चाहना हो । त्यसक्रममा क्रेताहरूसँग दीर्घकालीन महत्त्वको सम्बन्ध स्थापना गरिदिन नेपाल सरकारका कूटनीतिक नियोग र व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रको आवश्यकता त्यस अवसरमा सबैभन्दा बढी जरुरी हुन्छ । यसैगरी क्रेताहरूसँग सम्पर्क स्थापना गर्न चाहिने कौशल प्राप्त गर्न उनीहरूलाई भाषालगायत प्राविधिक विषयमा दक्ष बनाउन पनि उत्तिकै जरुरी छ । 

पाँचांै विगत लामो समयदेखि निर्यात व्यापारमा संलग्न ठूला र स्थापित निर्यातकर्ताको क्षमता अभिवृद्धि बेग्लै खालको हुन जरुरी छ । उनीहरूलाई सम्बद्ध देशका व्यावसायिक जगत् र सामाजिक र राजनीतिक तहमा सम्बन्ध स्थापित गर्न सक्ने क्षमतायुक्त बनाउन नेपाल सरकारले आवश्यक भूमिका खेल्न सक्छ । नेपालबाट हुने उच्चस्तरीय भ्रमणमा स्थापित नेपाली निर्यातकर्तालाई समावेश गर्ने, सम्बद्ध देशमा उनीको परिचय स्थापना गर्ने अवसर दिने, सम्बद्ध देशका मिडिया, प्राज्ञिक जगत् र व्यावसायिक संघसंस्थाहरूसँग सम्बन्ध स्थापना गर्ने अवसर उपलव्ध गराउनेजस्ता विषयमा आर्थिक कूटनीति परिचालन हुन जरुरी छ । यसका लागि ठूला निर्यातकर्ताको रोस्टर बनाउने र ती निर्यातकर्तालाई राष्ट्रिय र अन्तरराष्ट्रिय रूपमा पहिचान स्थापना गराउने र त्यो पहिचानलाई सम्बद्ध निर्यातकर्ताका उत्पादनसँग आबद्ध गर्ने मोडालिटी अपनाउनु यस सन्दर्भमा अझ व्यावहारिक देखिन्छ । 

यसरी उपर्युक्त पाँचथरी वर्गका लागि उनीहरूको आवश्यकताअनुसार अलगअलग अवधारणाअनुसार निर्यात क्षमता अभिवृद्धिका रणनीतिहरू अपनाई सोहीअनुसार कार्यक्रम सञ्चालन हुन जरुरी देखिन्छ । यस कार्यलाई सहजीकरण गर्न सम्बद्ध सरोकारवाला निकायहरूले अझ प्रभावकारी भूमिका खेल्नुपर्ने आवश्यकता देखिएको छ । निर्यातमा नयाँ पुस्ता तयार गर्ने, निर्यात व्यापारमा संलग्न हुन चाहनेहरूलाई संलग्न गराउने, नेपाली उत्पादकहरूलाई निर्यात व्यापारमा संलग्न गराउने, साना निर्यातकर्तालाई ठूला निर्यातकर्तामा रूपान्तरण गर्ने र स्थापित निर्यातकर्तालाई सम्बद्ध वस्तुहरूमा स्थापित अन्तरराष्ट्रिय टाइकुनका रूपमा स्थापना गर्ने गरी यी पाँचओटै वर्गको पृथक्पृथक् ढंगले क्षमता अभिवृद्धि गर्नु आवश्यक छ । नेपालको निर्यात व्यापारमा व्याप्त जडतालाई अन्त्य गर्ने यो नै सर्वोत्कृष्ट उपाय हो ।

लेखक व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रमा वरिष्ठ अधिकृत हुन् । 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)