हाम्रो देशमा सुन भनेसी मान्छे भुतुक्कै हुन्छन् । तर समय परिस्थिति अनुसार यो सुनको अर्थ अनर्थ पनि हुन पुग्दो रहेछ, सामान्यतया सोचिने भन्दा फरक अर्थ पनि बोक्दो रहेछ । नपत्याए ल पढ्नुस् ।
सुन सुन हे कान्छा भनेको त सुन्नु हैन रहेछ, पहेँलो धातु पो रहेछ । पहिले सुनै सुनको लंका श्रीलंका भन्ने बुझ्थे । अहिले हामै्र देशकोे एयरपोर्ट ।
जहाँ क्विन्टलका क्विन्टल सुन आउँछ, त्यसको नाम त्रिभुवन विमानस्थल रे । अनि जहाँ सुन फल्दैन, त्यसको नाम चाहिँ स्वर्णभूमि एयरपोर्ट रे । अब भो त ?
हङकङ, सिंगापुर, साउदी अरबहरू पनि क्या दानी क्या ! नेपाल गरीब छ भनेर माया गरेर नेपालको एयरपोर्टसम्मै सुन ल्याइदिन्छन् भन्या । कहिले कपको पिँध बनार, कहिले ब्रेक शुमा छिरार, कहिले बिजुली चुरोटमा घुसार, कहिले पानी तान्ने पम्पमा पेलेर । कहिले शरीरभित्र लुकाएर । अझ मगन्ते घुमन्तेलाई त औंठी, सिक्री के के भिरार ठ्याक्कै ५० ग्राम प्रतिटाउको पठाइदिन्चन् भन्या ।
देवकोटाका मदन सुनका डल्ला लिन तिब्बत धाउँथे, अचेलकी मुना दुबई उड्छिन् । अनि तिब्बतले ऊ बेला सुनका डल्ला पठाउँथ्यो अहिले ल–सुनका पोटी । आखिर ल–सुनमा पनि सुन त छँदै छ नि ।
त्यसैले हाम्री बज्यै भन्थिन्, ‘ल्हासामा सुन छ कान मेरो बुच्चै’ । अहिले एयरपोर्टमा सुन छ, तर मेरो लकर रित्तै । जे होस्, मान्छे भनेको व्यवसायी दीपक मल्होत्रा जस्तो लोभ लालच नभएको हुनुपर्छ है । सबैले १०० केजी सुन तेरो हो भन्दा पनि पत्रकार सम्मेलन नै गरेर मेरो होइन भनेर ठोकुवा गरे । त्यै सुन तेरो हो भन्देलान् भनेर राकेश अडुकिया चैं भाग्यो रे । उहिले त्यागको महिमा गाउँथे । क्विन्टलका क्विन्टल सुन मेरो होइन भन्न सक्ने मान्छेहरू जति ठूलो त्यागी अरू कोही हुन सक्छ दुनियाँमा ?
सुन देखेपछि आँखाको चमक नै उड्छ भन्थे, हो रै छ । पुराना मोबाइलधरि ठ्याक्कै समात्ने आँखा, सुन देखेपछि तिरमिर तिरमिर भर केही चिनिन्न बा ! त्यही भएर एक्सरे स्क्यानर भएर पनि बिचरा कर्मचारीले सुनै चिन्न नसकेका । किन्नै नसक्नेले चिन्ने कुरो पनि आएन नि ।
पञ्चायतकालमा एउटा सांसद थिए । उनको सुन समातियो । अनि गएर भाषण गरे, ‘सबैलाई सानो बुलाकी लगाइदिऊँ भनेको सरकारले सबै खोस्यो’, भोट जति तिनैले पाए । तिनको नामै सुन बुढा भयो रे ।
सरकारलाई थाहा नभई सुन तस्करी नै हुन्न रे । महान् पूर्वप्रधानमन्त्री बाले आफ्नो अनुभव सुनाइरहन्छन् । आफ्ना पालामा तस्करी भयो भन्दैमा सबैका पालामा नहोला, तिनलाई बुझाउने कसले ? अनि अनुभवहीन प्रधानमन्त्रीलाई ज्ञान बाँड्दा पनि मान्छे कुरा काट्छन् भन्या । अनि तिनै प्रधानमन्त्रीका पालामा सुन तस्कर समातिए, सुन अहिलेसम्म फेला पर्या छैन । राजस्व अनुसन्धान विभागलाई प्रम कार्यालयकै मातहतमा ल्याउँदा पनि ३३ किलो सुन अहिलेसम्म फेला परेन । तिनैका पालामा कति किलो हो सुन समातेको, परीक्षण गर्दा पित्तल पो परेछ रे । पारसमणिले फलामलाई सुन बनाउँछ भन्छन्, यिनीसँग सुनलाई पित्तल बनाउने खुबी रैछ । किन नहुनु त सुन जस्तो देशलाई पित्तल बनाउन सफल जो छन् । जाबो दुई चार किलो सुनलाई पित्तल बनाउन के गाह्रो भो र ?
जहाँ क्विन्टलका क्विन्टल सुन आउँछ, त्यसको नाम त्रिभुवन विमानस्थल रे । अनि जहाँ सुन फल्दैन, त्यसको नाम चाहिँ स्वर्णभूमि एयरपोर्ट रे । अब भो त ?
तपाईं सोध्नुहोला कि त्यत्रो सुन जान्छ चाहिँ कहाँ होला भनेर ? ‘इधरका माल उधर’ भन्ने त सुन्नुभएकै होला । अर्थात् सुन मगाउने उधरकैले हो, लाने व्यवस्था मिलाउने पनि उधरकैले हो । इधरकाले त केवल भन्सार छलाइदिए र बोर्डर सोर्डर मिलाइदिएबापत यसो छ्याकन पाउने न हुन् । सेटिङ बिग्रिँदा झुक्किएर फेला परेका सुन जति नियमअनुसार त राष्ट्र बैंक जानुपर्ने हो । तर खासमा चैं त्यो सबै सुन अख्तियारले लैजान्छ । अख्तियारले किन लान्छ भन्नुहोला । ल, भ्रष्टाचारका आरोपी सबैलाई सुनपानीले चोख्याउन परेन ? देशैभरि भएका यति धेरै भ्रष्टाचारीलाई चोख्याउन सुन पनि त धेरै चाहियो नि । कसो ?
खैर यो सुनको महिमा वर्णन गरी साध्यै छैन । सुन एक, तर यसका अर्थ अनेक । लौ सुन्नुस् सुनका विषयमा सामाजिक सञ्जालमा भेटिएका सुन विज्ञहरूबाट संकलित तथा यो पंक्तिकारबाट सम्पादित र थपित सुनका विभिन्न अर्थ ।
इतिश्री सुन अध्याय समाप्त ।