आर्थिक वर्ष (आव) २०७९/८० को नेपालको वैदेशिक व्यापारको अवस्थालाई विश्लेषण गर्दा नेपालको कुल वैदेशिक व्यापार अघिल्लो वर्षको सोही अवधिको तुलनामा २१ दशमलव ४ प्रतिशतले ह्रास आई रू. १,७६८.८७ अर्ब पुगेको छ । समीक्षा अवधिमा नेपालको कुल निकासी २१ दशमलव ४ प्रतिशतले ह्रास आई रू. १५७.१४ अर्ब तथा कुल पैठारीमा १६ दशमलव १ प्रतिशतले ह्रास आई रू. १,६११.७३ अर्ब पुगेको छ भने कुल व्यापारमा निकासी तथा पैठारीको योगदान क्रमश: ८ दशमलव ९ प्रतिशत र ९१ दशमलव १ प्रतिशत रहेको छ । आव २०७८/७९ मा निकासी पैठारी व्यापारको अनुपात १:९.६ रहेकोमा आव २०७९/८० को सोही अवधिमा उक्त अनुपात १:१०.३ मा कायम रहेको छ ।
आव २०७९/८० को नेपालको कुल गार्हस्थ्य उत्पादनको तुलनामा नेपालको कुल व्यापारको अंश ३६ दशमलव ४ रहेको छ भने सोही वर्षको नेपालको कुल गार्हस्थ्य उत्पादनमा निकासी तथा पैठारीको हिस्सा क्रमश: ३ दशमलव २५ र ३३ दशमलव २५ रहेको छ । आव २०७८/७९ को नेपालको कुल गार्हस्थ्य उत्पादनको तुलनामा व्यापारको अंश ४९ दशमलव ६५ रहेको थियो भने सोही वर्षको नेपालको कुल गार्हस्थ्य उत्पादनमा निकासी र पैठारीको अंश क्रमश: ४ दशमलव ७५ र ४४ दशमलव ९५ रहेको थियो ।
अन्तरराष्ट्रिय व्यापार केन्द्रले गरेको विश्व व्यापारको तथ्यांक विश्लेषणलाई अवलोकन गर्ने हो भने २०२२ मा विश्वको कुल निर्यात व्यापारमा नेपालका मालवस्तुहरूको कुल निर्यातको अंश १५५औं स्थानमा रहेको र विश्व व्यापारको कुल निर्यात रकममा नेपालबाट भएको कुल निर्यात रकमको ०.००५५ प्रतिशत रहेको देखिन्छ । आयाततर्फ भने विश्व व्यापारको कुल आयातमा नेपालको आयातको अंश १०१औं स्थानमा रहेको र नेपालको कुल आयात रकम विश्व व्यापारको कुल आयात रकमको ०.०५५५ प्रतिशत रहेको छ ।
प्रशोधित वस्तुहरूको निर्यात प्रवर्द्धन गर्न गुणस्तरका प्रावधानहरू पूरा गर्ने विषयमा सबैभन्दा बढी ध्यान जानुपर्छ । विशेष गरी नेपाली प्रयोगशालाका प्रमाणपत्रहरूलाई सम्बद्ध आयातकर्ता मुलुकहरूमा मान्यता प्राप्त गर्न नेपालको राजनीतिक र कूटनीतिक क्षेत्रबाट विशेष पहल हुन जरूरी देखिन्छ ।
आव २०७९/८० मा नेपालको निर्यात २१ दशमलव ४ प्रतिशतले ह्रास आई रू. १५७.१४ अर्ब पुगेको छ । यस अवधिमा नेपालबाट निर्यात भैरहेका अधिकांश वस्तुको निर्यातमा आव २०७८/७९ को तुलनामा आव २०७९/८० मा खाने तेलको निर्यातबाहेक अन्य निकासी भइरहेका वस्तुहरूको सन्तोषजनक रूपमा वृद्धि भएको देखिन्छ ।
आव २०७९/८० मा नेपालबाट वस्तुगत तथा देशगत रूपमा निर्यात भएका मालवस्तुहरूको विश्लेषण गर्ने हो भने प्रमुख वस्तुहरूमा पामतेल, पोलिस्टर तथा अन्य धागो, ऊनी गलैंचा, फलाम तथा फलामका उत्पादनहरू, भटमासको तेल, अलैंची, जुट तथा जुटका सामानहरू, तयारी पोशाक तथा एक्सेसरिज, जुस, ऊनी फेल्टका उत्पादन, चिया, कुकुर बिरालाका आहारा, पश्मिना शल, कपडा, चाउचाउ, रोजिन एन्ड रेजिन एसिड, जडीबुटी, नेपाली हातेकागज, अदुवा र जुत्ता चप्पल प्रमुख रूपमा रहेका छन् ।
समीक्षा अवधिमा भौतिक संरचना निर्माणका सामग्रीहरू जस्तै फलाम, स्टील तथा तिनका सामानहरू आल्युमिनियम, तामाजस्ता वस्तुको आयातले मुलुकको पूर्वाधार तथा अन्य निर्यात गरिने मालवस्तुहरूको उत्पादनमा सकारात्मक योगदान पुर्याउन सकेको आकलन गर्न सकिन्छ । यसैगरी निर्यात हुने मालवस्तुहरू तयार गर्न आवश्यक पर्ने औद्योगिक कच्चा पदार्थहरू जस्तै कच्चा पाम आयल, कच्चा भटमासको तेललगायत अन्य मालवस्तु उत्पादन गरी स्वदेशमा नै खपत हुने मालवस्तुहरूका लागि आवश्यक पर्ने पोलिथिनका दानाहरू, रबर र रसायनजस्ता वस्तुको आयातसमेत उल्लेख्य रूपमा भएको पाइन्छ ।
चालू आव २०७९/८० मा अघिल्लो आवको तुलनामा समग्र पैठारीमा ह्रास आउँदा व्यापारघाटामा सुधार भएको छ । यस अवधिमा व्यापारघाटामा १५ दशमलव ५ प्रतिशतले ह्रास आई कुल व्यापारघाटा रू. १,४५४.५९ अर्बमा झरेको छ । अघिल्लो आवमा २३ दशमलव शून्य प्रतिशतले वृद्धि भएको थियो । यसरी हेर्दा समीक्षा अवधिमा व्यापारघाटामा क्रमश: सुधार आएको देखिन्छ ।
निर्याततर्फ बृहत् आर्थिक वर्गीकरणअनुसार माध्यमिक उपभोगको योगदान ५४ दशमलव ७ प्रतिशत र अन्तिम उपभोगको योगदान ४४ दशमलव ६ प्रतिशत रहेको छ । समग्रमा नेपालको निर्यातमा अन्तिम उपभोगको अंश बढाउन आवश्यक देखिन्छ ।
आयाततर्फ बृहत् आर्थिक वर्गीकरणअनुसार माध्यमिक उपभोगको योगदान ५२ दशमलव ९ प्रतिशत, पूँजी निर्माण गर्ने वस्तुहरूको योगदान ८ दशमलव ९ प्रतिशत तथा अन्तिम उपभोगको योगदान ३८ दशमलव ३ प्रतिशत रहेको छ । समग्रमा नेपालको कुल आयातमा माध्यमिक उपभोग र पूँजी निर्माण गर्ने वस्तुहरूको योगदान ६१ दशमलव ७ प्रतिशत रहेको आँकडाले नेपालको अधिकांश आयात औद्योगिक क्रियाकलापका लागि उपयोग भइरहेको देखिन्छ । नेपालको आयात यस अर्थमा सकारात्मक नै देखिन्छ ।
निर्याततर्फ देशगत रूपमा हेर्दा प्रमुख १० गन्तव्य मुलुकहरूमा भारत र टर्कीयेतर्फको निर्यातमा ह्रास आए तापनि अन्य देशहरूसँगको निर्यातमा भने वृद्धिको अवस्था विद्यमान रहेको छ ।
उपर्युक्त तथ्यांकहरूले नेपालको वैदेशिक व्यापारमा केही संकेतहरू गरेको र केही नीतिगत सम्बोधनको अपेक्षा गरेको छ । सर्वप्रथम नेपालको निर्यात व्यापारमा प्रशोधित र तयारी मालवस्तुहरूको निर्यातको अंशमा वृद्धि गर्नुपर्र्ने देखिन्छ । नेपालको कुल निर्यातमा औद्योगिक कच्चा पदार्थको अंश ५४ दशमलव ७ प्रतिशत रहेको अवस्थामा नेपालको निर्यात सम्भावना पनि यही क्षेत्रमा रहेको संकेत गर्छ ।
नेपालको निर्यातमा मूल्य अभिवृद्धि गर्न सकिने क्षेत्र पनि यही नै हो । उदाहरणका अलैंची र अदुवा निर्यात गर्नुको साटो यसको मसला निर्यात गर्ने रणनीति अंगीकार गर्नुपर्छ भन्ने यसको अर्थ हो । यस अवस्थामा नेपालले पूर्ण प्रशोधित र पूर्ण तयारी मालवस्तुको निर्यात गर्ने रणनीति अंगीकार गर्नु आवश्यक छ । यसका लागि सम्बद्ध कच्चा पदार्थ संकलन, उत्पादक र निर्यातकर्तासँग आवश्यक समन्वय गरी सम्बद्ध क्षेत्रका उद्योगहरूको स्तरोन्नति र नयाँ उद्योगहरूको विकासमा आवश्यक कदम चाल्नुपर्ने देखिन्छ । पूर्ण प्रशोधित र पूर्ण तयारी मालवस्तुको निर्यातको रणनीति बनाउँदा यसको समग्र पहुँचको रणनीतिमा आधारित रही कोरिडोर अवधारणामा कच्चा पदार्थ उत्पादन, शीप विकास केन्द्र, नवप्रवर्तन, भण्डारण तथा सहायक उद्योगहरूको विकास गर्ने पक्षमा सबैको ध्यान जान आवश्यक छ । यस्तै नयाँ उद्योग स्थापना र स्थापित उद्योगहरूको स्तरोन्नति गर्न आवश्यक पर्ने सहुलियतयुक्त वित्त व्यवस्थापनमा पनि विशेष ध्यान जानु आवश्यक छ । सबैभन्दा महत्त्वपूर्ण पक्ष यस्ता उद्योगको स्थापनासँगै यी उद्योगलाई लामो अवधिका लागि कर छूटको व्यवस्था गर्नु पनि जरूरी छ । साथै निर्यातमा नगद अनुदान, उद्योग स्थापनामा सहज जग्गा प्राप्ति, कृषिको अग्र र पृष्ठयोजन सहज हुने गरी भूमिको हदबन्दीको प्रावधानमा संशोधन जस्ता विषयमा पनि ध्यान जानु आवश्यक छ ।
प्रशोधित वस्तुहरूको निर्यात प्रवर्द्धन गर्न गुणस्तरका प्रावधानहरू पूरा गर्ने विषयमा सबैभन्दा बढी ध्यान जानुपर्छ । विशेष गरी नेपाली प्रयोगशालाका प्रमाणपत्रहरूलाई सम्बद्ध आयातकर्ता मुलुकहरूमा मान्यता प्राप्त गर्न नेपालको राजनीतिक र कूटनीतिक क्षेत्रबाट विशेष पहल हुन जरुरी देखिन्छ । स्वदेशमा पेस्ट रिस्क विश्लेषण तथा दुई देशहरूबीच पारस्परिक मान्यता सम्झौता गर्न सकेको खण्डमा निर्यातमा गुणस्तरसँग सम्बद्ध धेरै समस्याको समाधान हुने देखिन्छ ।
यसका अतिरिक्त नेपालको वैदेशिक व्यापारमा तेस्रो मुलुकहरूतर्फको निर्यातमा एकप्रकारको स्थिरता रहेको छ । आजभन्दा ५० वर्षअघि पहिचान गरिएका वस्तुहरू तयारी पोशाक, उनी गलैंचालगायत हस्तकलाका उत्पादनहरूले आज पनि राम्रो व्यापार गरिरहेको सन्दर्भमा यी वस्तुहरू केन्द्रित बजार प्रवर्द्धन गरी नेपालको निर्यात व्यापारलाई स्थिरता दिन सकिन्छ भन्ने संकेत पनि यस तथ्यांकले दर्शाएको छ । तसर्थ नेपाली उत्पादनहरू तुलनात्मक रूपमा बढी प्रतिस्पर्धी भएको तेस्रो मुलुक केन्द्रित निर्यात प्रवर्द्धन रणनीति बन्नु आवश्यक रहेको पनि यस तथ्यांकले संकेत गरेको छ ।
उपर्युक्त परिस्थितिलाई दृष्टिगत गर्दै नेपालले तेस्रो मुलुक केन्द्रित प्रशोधित र पूर्ण तयारी मालवस्तुहरूको निर्यातको दिशामा अघि बढ्नु उचित रहेको गत आवको नेपालको वैदेशिक व्यापारले संकेत गरेको छ ।
लेखक व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रका वरिष्ठ अधिकृत हुन् ।