ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

मेघौली राइनो पार्क निर्माणमा ढिलाइ, बजेट र प्राविधिक कारणले समस्या

२०८० साउन, २४  
बागमती प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar सूर्यप्रसाद अधिकारी

चितवन । जिल्लाको प्रमुख पर्यटकीय गन्तव्य एवं देशकै ‘१०० पर्यटकीय गन्तव्य’मा पर्ने मेघौलीमा ‘मेघौली राइनो पार्क’ निर्माणले गति लिन सकेको छैन । झण्डै ४ वर्षअगाडि २३ करोडको अनुमानित लागतमा निर्माण थालिएको यो पार्कको कुनै पनि काम पूरा हुन सकेको छैन । बजेट र अन्य प्राविधिक कारणले पनि पार्कले गति लिन नसकेको हो । 

पार्कमा ४० फिट लम्वाइ र ३९ फिट चौडाइ भएको गैंडाको प्रतिमा र उक्त प्रतिमाको पहिलो तलामा पर्यटक सूचना केन्द्र बनाउने योजना छ । यस्तै प्रतिमाको दोस्रो तलामा भने संग्रहालय बनाउने योजना छ । पार्कमा घाइते जंगली जनावरहरूको उद्धार र उपचार केन्द्र पनि बनाउने तयारी छ । 

पार्कका योजनाकार भरतपुर महानगरपालिकाका पर्यटन–विज्ञ विश्व सुवेदीका अनुसार उद्यानभित्र भ्यू–टावर, २५ बिघामा ताल, ५० बिघामा घाँसे मैदान, टाइगर टावर, जंगल सफारी, असहाय वन्यजन्तु उद्धार केन्द्र, जैविक विविधता सूचना केन्द्र, अहिले भइरहेको थारु सङ्ग्रहालयलगायत संरचना निर्माण हुनेछन् । 

मेघौली पर्यटन विकास समितिका अध्यक्ष मोती भूषालले पार्क निर्माणले गति लिन नसकेको बताए । उनले भने, ‘निर्माणाधीन गैंडाको मूर्तिमा टाउको नधान्ने भन्दै मूर्तिको नक्सा परिवर्तन गर्दा निर्माणमा ढिलाइ भएको छ ।’  

पर्यटकीय गन्तव्य विकासका निम्ति बागमती प्रदेश सरकारबाट विनियोजित रकममार्फत मालिका मध्यवर्ती सामुदायिक वनमा राइनो पार्क बन्दै गरेको हो  । 

भरतपुर महानगरपालिका वडा नम्बर २७ र २८ मा रहेका चारओटा सामुदायिक मध्यवर्ती वनक्षेत्रलाई समेटेर तीन सय ७६ हेक्टर अर्थात् करिब पाँच सय ५० बिघा क्षेत्रफलमा पार्क निर्माण भइरहेको हो । राधाकृष्ण, मालिका, राप्ती बेतरी र सदाबहार मध्यवर्ती सामुदायिक वनक्षेत्रलाई पार्कमा समेटिएको छ । पार्क मेघौली विमानस्थलसँगै जोडिएको छ । 

बागमती प्रदेशसभा पूर्वसदस्य कृष्ण भूर्तेलका अनुसार बागमती प्रदेश सरकारबाट मेघौली राइनो पार्कका निम्ति बहुवर्षीय योजनाअन्तर्गत गत आर्थिक वर्षमा विनियोजित ४७ लाख ७३ हजार रकमबाट पार्कको पर्खाल र गैँडाको मूर्ति बने पनि हालसम्म निर्माण पूरा हुन सकेको छैन ।

पार्कको मुख्य आकर्षण गैंडाको मूर्ति हो । २० फिट चौडाइ र ४० फिट लम्बाइको ३० फिट अग्लो मूर्ति बनाइने छ । मूर्ति तयार गर्नका लागि दुई करोड ७६ लाख रुपैयाँ लाग्ने अनुमान गरिएको छ ।

मूर्तिभित्र डिजिटल पर्यटन सूचना केन्द्र रहने छ । त्यसको माथि स्थानीय संग्रहालय पनि रहनेछ । पार्क क्षेत्रमा वन्यजन्तु उद्धार सेन्टर, हालको थारू संग्रहालय पनि रहनेछ । पर्यापर्यटनलाई नै प्राथमिकता दिएर गैंडालाई ब्रान्डिङ गर्न लागिएको पार्क जैविक विविधता अध्ययन केन्द्रको रूपमा समेत रहने उनको भनाइ छ ।

पार्कमा असहाय वन्यजन्तुको उद्धार केन्द्र र २५ बिघा क्षेत्रमा ताल र ५० बिघामा घाँसे मैदान बन्नेछ । पार्कमा बोटिङसँगै जंगल सफारी गर्न पाइनेछ । पार्कमा टाइगर टावर, ब्ल्याक स्ट्रोक टावर, ह्वाइट स्ट्रोक टावर, क्रोकोडायल टावरहरू पनि निर्माण हुने पूर्वसांसद् भूर्तेलले बताए । 

पार्कमा ३० देखि ४० बिघा क्षेत्रमा पोखरी बनाइने छ । पोखरीको वरिपरि पर्यटकलाई हिँड्न मिल्ने गरी ‘क्यानोपिक वाक’ निर्माण गरिनेछ, जसमा पोखरीको वरिपरि १५ फिट अग्लो दूरीमा हिँड्न मिल्ने गरी फलामको एक किलोमिटर लामो पुलका लागि आवश्यक पूर्वाधार तयार गरिनेछ ।

विश्व सम्पदा सूचीमा समेत सूचीकृत चितवन राष्ट्रिय निकुञ्ज र राप्ती तथा नारायणी नदी घेरिएको सुन्दर टापु हो, मेघौली । नेपालमा नै सर्वप्रथम जंगल सफारीको शुुरूआत गर्ने टाइगर टप्स जंगल लजको प्रवेशद्वार यो टापु प्रकृति र संस्कृतिको उत्कृष्ट गन्तव्य हो । जंगल सफारी, डुङ्गा सफारी, होमस्टेको बसोबाससँगै नारायणी र राप्तीको संगम स्थल गोलाघाटबाट देखिने सूर्यास्तका लागि समेत मेघौली परिचित छ । 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)