ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

इमानदारै इमानदारका बीचमा

२०८० साउन, २६  
तीतो मीठो
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar मदन लम्साल

फरक दल फरक झण्डा 

फरक घोषणापत्र फरक फण्डा

कहिले धम्की कहिले डण्डा

देशको दोहन एउटै धन्दा 

कहिले फुट्ने कहिले जुट्ने

ध्येय एकै देश लुट्ने ।

हो, म सोच्थेँ कि यो युगमा इमानदार मान्छे पाउन असम्भव छ । तर अचेल त म जताततै इमानदारै इमानदार पो देख्छु त । शास्त्रहरूमा कलिपछि सत्य युग आउँछ भन्ने पढेको हो । तर नेपालमा त द्वापर युगपछि सीधै सत्य युग आएजस्तो लाग्न थालेको छ । जहाँ गयो, त्यहीँ इमानदारको ताँती । देशमा यस्ता यस्ता इमानदार खासगरी सरकारी कर्मचारी, नेता आदि जातका मान्छे रहेछन् कि उनीहरू हरेक काम भयंकर इमानदारीपूर्वक गर्दा रहेछन् । जस्तै, कसैलाई गोली नै हान्न परे पनि इमानदारीपूर्वक नै हान्दा रहेछन्, ताकि उसलाई यस्तो नलागोस् कि गोली हान्ने मान्छेले प्रेमपूर्वक हानिरहेको छ । कसैको पकेट मार्न होस्, गाँस काट्न होस् या घाँटी नै काट्नुपरे पनि पूरै इमानदारीसँग काट्ने रहेछन् । कहाँ त्यस्तो हुन्छ भन्नुहोला । विभिन्न करका नाममा विभिन्न सरकारहरूले तपाईंबाट जबर्जस्ती उठाउने कर वा सडकमा मकै पोलेर बेचेर आफ्ना बालबच्चा पढाउने, हुर्काउने गरेकोमा त्यो हठात् रोक्नु भनेको कुनै गला काट्ने काम भन्दा फरक हो र ? हैन नि ।

यसको मतलब शासकहरूले बदलामा कुनै सुविधा नदिई जनतालाई केवल एटीएम मेशिनबाट पैसा निकालेजस्तो कर उठाउने काम इमानदारीपूर्वक गरिरहेकै छन् त । कतिपय मान्छेहरू बाहिर बाहिर त माया गरेजस्तो गर्छन्, तर भित्रभित्रै गला काट्छन् । तर हाम्रा सरकारहरू गोली हान्ने भए सीधै गोली हान्छन्, गला काट्ने भए गला । यसमा सरकारले दायाँ बायाँ हेर्दैन वा दाँया बाँया गर्दैन । उसले जे गर्नुपर्ने हो, त्यो गर्छ गर्छ । विवादास्पद छवि भएका व्यक्ति ल्हारक्याल लामालाई लुम्बिनी विकास कोषको उपाध्यक्षमा नियुक्त गर्नु पनि त्यही इमानदारीको पुष्टि हैन र ?

नेपालका राजनीतिक दलहरूलाई नै हेर्नुस् न । सत्तामा हुँदा तथ्यांकमा देशको विकासले उचाइ छुन्छ । प्रतिपक्षमा पुग्नासाथ त्यही मिथ्यांक बन्छ, अर्थतन्त्र खत्तम र बर्बाद बन्छ । सांसदहरू पनि आफ्नो दलको सरकार छ भने उसले गलत गरे पनि चुइँक्क बोल्दैनन् । आफ्नो दल प्रतिपक्षमा छ भने संसद् कुनै हालतमा पनि चल्न दिँदैनन्, चाहे सत्तापक्षले कुनै सही काम नै गरेको किन नहोस् । यो हो नि इमानदारी भनेको, पार्टीप्रति बफादारी भनेको । 

यसको मतलब के जनता चैं इमानदार छैनन् त ? जनता त झन् इमानदार छन् नि । पहिलो कुरा त जनताले भोट दिए भने पूरै इमानदारीसँग दिन्छन् । जसको पैसा लिएको छ, जसको दारु पिएको छ, जसको कुखुरा चपाएको छ, उसैको चुनाव चिह्नमा इमानदारीपूर्वक छाप लगाउँछन् । कोठाभित्र दिइने गोप्य मतमा समेत यस्तो इमानदार देखाउने बहादुर दुनियाँमा अन्त कतै होलान् त ? के सरकारी कर्मचारी पनि इमानदार छन् त ? ल सबैभन्दा इमानदार नै देशमा कर्मचारी नै त हुन् । पैसाप्रति इमानदारी । उनीहरू कसैको पनि काम पैसा नलिई सित्तैमा गर्दै गर्दैनन् । पहिला पैसा छनछन गन्न लाउँछन् अनि काम गर्दिन्छन् । पैसा नपाए कहिले के भएन, कहिले के मिलेन भनेर यता र उता लखेटिरहन्छन् । यो हो नि इमान्दारीको नमूना । नूनको सोझो गर्न उनीहरू पछि पर्दै पर्दैनन् । उनीहरू कतिपय जनप्रतिनिधि जस्ता पनि छैनन्, जो पैसा नलिई पनि काम गर्दिन्छन् । कर्मचारी त अगाडि वा सीधै पैसा लिन मिलेन भने पनि पछाडिको ढोकाबाट पैसा दराजमा राख्न लगाएर भने पनि दाम लिएपछि मात्र काम गर्दिन्छन् । यसको मतलब सीधै लिनुको साटो घुमाएर पैसा लिने काम त बेइमानी भयो नि भन्नुहोला होइन नि । उनीहरू इमानदार नै हुन् । त्यै भएर त उनीहरू सरकारी सेवामा ठूलठूला पदमा पदासीन हुन पुगेका । केवल उनीहरूका इमानदारीको तरीका अलि फरक मात्र हो ।

कतिपय मान्छेहरू बाहिर बाहिर त माया गरेजस्तो गर्छन्, तर भित्रभित्रै गला काट्छन् । तर हाम्रा सरकारहरू गोली हान्ने भए सीधै गोली हान्छन्, गला काट्ने भए गला । यसमा सरकारले दाँया बाँया हेर्दैन वा दाँया बाँया गर्दैन । 

हेर्नुस्, उनीहरू कुनै पदमा पुग्नुमा उनीहरूको आफ्नो हात हुँदैन । माथि भन्नैपर्ने हुन्छ । माथि भनेर मात्र पुग्दैन, मोटो थैली नै बुझाउनुपर्ने हुन्छ इमानदारीपूर्वक । यसरी तलकाले माथिकालाई र माथिकाले झन् माथिकालाई इमानदारीपूर्वक थैली चढाउनुपर्ने परम्परा भएपछि यसमा तलकाको कुनै बेइमानी त देखिएन नि । माथिकाको आदेश अनुसार गरिने काम त अनुशासन हो, इमानदारी हो । फेरि दिनेवालाले इमानदारीपूर्वक दिने र लिनेवालाले पनि त्यसैगरी लिने कुरामा त्यसमा असंलग्न अरूहरूले यसमा बेइमानी हो भन्नु चैं बेइमानी हो । फेरि यो देशमा व्यक्तिगत मामला र इमानदारीको मामला फरक फरक कुरा हुन् । अर्को कुरा, कसैले बेइमानी गरिरहेको छ भने उसले आफ्नो ढंगले, आफ्नै बलबुतामा आफ्नै रिस्कमा वा इस्कमा गर्ने कुरा हो । जस्तै, कतिपय डनहरू हिजोआज सांसद्, मन्त्री बनिरहेका छन् । आज उनीहरूलाई कसैले बेइमान भन्ने हिम्मत छ र ? बरु तिनले नै इमानदारीको पाठ पढाइरहेका छन् ।

कसैले कसैलाई गुण्डा, बदमास, झुटा आदि भन्दैमा मात्र पनि हुँदैन । प्रमाणित हुनुपर्छ । वास्तवमा जो इमानदार छन्, उसैको समाजमा इज्जत हुन्छ । यदि उनीहरू बेइमान रहेका भए उनीहरूको इज्जत कसरी हुन्थ्यो त ?

अहिले एयरपोर्टमा १०० केजी सुन समातिएको विषयमा खुब हल्लाखल्ला छ । मानिसहरू विनासित्तीमा सुनमा बेइमानी भयो भनिरहेका छन् । तर त्यसो भन्नेहरूले के बुझिरहेका छैनन् भने त्यत्रो जोखिम मोलेर पनि कसैले लगानी गर्छ वा भन्सार पास गराइदिएबापत केही कमिशन पाउँछ भने यसमा खराबी के छ ? कमिशन खाने काम आफैमा एक कला हो । कमिशन आफ्नो ठाउँमा छ, इमानदारी आफ्नै ठाउँमा । अर्थात् यो काममा बेइमानी कसरी भयो ? बरु बेइमानी चैं यो भयो कि वर्षौंदेखि यसैगरी टनका टन सुन देशमा निर्बाध आइरहेकोमा कसैले रोक्ने काम गर्‍यो । अब हाम्रा र छिमेकका दिदीबहिनीहरूले गहना के लाउँछन् होला खै ?

वास्तवमा योे इमानदारीको विषयमा कुरा सुन्दा सुन्दा थकित छु । इमानदारी चीज नै यस्तो हो कि यसले चाँडै थकाउँछ । फेरि कसैले कसैलाई बेइमान सिद्ध नगरुञ्जेल त ऊ इमानदार नै हुने भयो नि हैन र ? त्यसैले म के कुरामा ढुक्क छु भने म जहाँ छु, इमानदारै इमानदारका बीचमा छु ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)