ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

सत्ताको लड्डु

२०८० भदौ, १  
तीतो मीठो
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar मदन लम्साल

‘आगराको लड्डु, खाए पनि पछुताउने, नखाए पनि पछुताउने’ भन्छन् । तर, सत्ताको लड्डु खान पाउनुभयो भने कहिल्यै पछुताउनुपर्दैन । खान नपाए चाहिँ पछुताउने मात्र होइन, अरूलाई पछार्नेसम्मका काम गर्न पछि हट्दैनन् हाम्रा सांसद र अरू नेताहरू । त्यही भएर त प्रधानमन्त्रीले सबैलाई लड्डु चखाउन मन्त्रिपरिषद्मा फेरबदल गरिरहन्छन् । तर हाम्रा कतिपय मन्त्री कति उदार छन् भने नयाँलाई सत्ताको स्वाद चखाउन प्रधानमन्त्रीको खल्तीमै राजीनामा राखिदिन्छन् । स्वाट्ट एउटालाई हटायो, अर्कालाई ल्यायो, सांसद नभए निर्वाचन क्षेत्र खाली गराएर उपनिर्वाचन गराएर भए पनि मन्त्री पदको कोसेली टक्र्यायो । यस्तो महान् तथा उदार प्रधानमन्त्री र सांसद कतै देख्नुभएको छ ?

स्थिरताको नारा दिएर प्रधानमन्त्री बनेकाले होला प्रधानमन्त्रीले बेलाबेलामा नयाँ नयाँ मन्त्रीलाई सरकारमा ल्याएर सरकारलाई स्थिरता दिने प्रयास गरिरहन्छन् । सांसदको मन अस्थिर हुन्छ । तिनलाई मन्छाउन वा पन्छाउन मन्त्री बनाउनैपर्छ । तिनको मन स्थिर पारेपछि पो सरकार पनि स्थिर हुन्छ । त्यही भर त प्रम भएभरको बल बुद्धि लगाएर सरकारलाई स्थिरता दिने धुनमा लागेका देखिन्छन् । तर मन्त्रीहरू चाहिँ केकेमा लागेका छन् अलि बुझ्न गाह्रो भएको छ ।

अरू मन्त्री पनि पक्कै केही न केही काम लाग्ने कुरामै लागेका होलान् । बैंकको लकरमा बन्दुक राख्नेलाई शान्ति धाममा पठाउन सक्ने सामथ्र्य पनि मन्त्रीसँग छ । तर बहालवाला र त्यो पनि सत्तारूढ दलका कतिपय सांसदहरू भने वर्तमान मन्त्रीहरूलाई नै भ्रष्टाचारमा डुबेको भनेर आरोप लगाइरहेका छन् । प्रतिपक्षका सांसदहरूले त भ्रष्टाचार भइरहेको छ भन्ने नै भए । हुन पनि देशका प्राय: मन्त्री बनेकाहरूको विगतको गतिविधि र अहिलेको सम्पत्ति हेर्दा त्यस्तै देखिन्छ पनि । त्यसैले मान्छेहरू नेता, मन्त्रीहरूलाई भ्रष्ट, चोर, लुच्चा, लफंगा, डाँका, बदमास आदि के के भन्छन् भन्छन् । तर नेता, मन्त्रीहरूलाई त्यत्रो विशेषण लाउनै पर्दैन नि । केवल नेता भने त पुगिहाल्छ नि ।

जे होस्, कोही पनि मन्त्री बनेको खबर सुन्नासाथ मन्त्री बन्ने मान्छेको अनुहार तथा हाउभाउ प्रफुल्ल र दिव्य देखिन्छ नै, साथै मन्त्रीका परिवार, आफन्त र वरिपरिकाहरूको अनुहारमा समेत एक विशेष प्रकारको चमक–धमक स्पष्ट देख्न सकिन्छ । अझ मन्त्री बनाउने दलका शीर्ष नेता तथा कार्यकर्ताको अनुहार त धपक्क बलिरहेकै हुन्छ । शायद कुनै ठूलै उपलब्धि हात पार्ने आशले होला । मन्त्री बनेपछि प्राय: मन्त्रीका आँखामा सत्ताको लड्डु खाने सपना तैरिइरहेको देख्न सकिन्छ । आहा ! सत्ताको रसिलो लड्डु मनमा आउनासाथ मन्त्रीजीका अनुहारमा आनन्द प्रकट हुन थालिहाल्छ । जस्तो, मरन्च्यासे भए पनि बालुवाटार छिरेपछि त्यहाँको सत्ताको रापतापले रातापिरा भइहाल्छन् । हेर्नोस्, त भूपू प्रमहरूलाई !

कुर्सीमा बस्नासाथ प्राय: मन्त्रीको मनोदशा यस्तो देखिन्छ कि मन्त्रीका शरीरका प्रत्येक अंग वास्तवमा केवल जिब्रा हुन्, जो सत्ताको लड्डुको स्वाद चाख्न लालायित भएर तड्पिइरहेका छन् । किनकि मातहतका विभाग, कार्यालयमा दिनदहाडै हुने भ्रष्टाचारको लड्डु खानुको मजै बेग्लै हुन्छ ।

म सोच्थेँ, कि एउटा सिंगो दलबाट जाबो एकजना मन्त्री बन्दा पार्टीभित्र यति धेरै उत्साह आउनुमा के कारण हुन सक्ला । तर एउटै हनुमान् लंका जलाउन काफी हुन्छ भनेझैं एउटै मन्त्रीले पनि उसको दलको र दलको नेताको श्रीवृद्धिमा भयंकर भूमिका खेल्न सक्छन् भन्ने कुरा बल्ल पो बुझ्दै छु । अमृतभन्दा मिठो, चन्द्रमा भन्दा शितल सत्ता लड्डु भक्षणको सुगन्धित महकयुक्त वासनाले मात्र पनि मन्त्री महोदयको हृदयका समस्त दु:खहरू हरण गर्न सक्छ । त्यसैले मन्त्रीजी कुर्सीबाट उठ्नेसम्म सोच्दैनन् । आफ्नै कुर्सीमा बसी बसी आफूलाई भेट्न आउने प्रत्येक दलाल महोदयलाई सोध्छन् – ‘अनि नयाँ खबर के छ सुनाउनुस्, मेरो परम प्रिय लड्डु कहिले आइपुग्छ रहस्य खुलाउनुुस् ।’

आश्चर्य त यो लाग्छ कि यति शुभ समाचार सुनाउने दलाल महोदयसँग एकअर्कासँग कुनै अभिवादन आदान प्रदान गर्नेसम्म होश हुँदैन । शायद मीठो मिठाईको कल्पनामा मन्त्रीजीका सम्पूर्ण इन्द्रियहरूले होश गुमाइसकेका हुन्छन् । न त उनको नेत्रले काम गर्छ, न नाक र कानले । उनका आँखाबाट हर्षका आँशु बगिरहेका हुन्छन् र उनका शरीरका प्रत्येक छिद्र छिद्रहरू मिठो लड्डुको स्वाद लिनका लागि लालायित बनेका देखिन्छन् । भ्रष्टाचारको यो पावन महाकल्पमा कमिशन शब्द सुन्नासाथ संगीतको नाद सुनेसरी मन्त्रीजी एकाएक आनन्दित हुन्छन् । मंगलमय, रसमय, समस्त सन्ताप हरण गर्ने कमिशन नामक लड्डु ।

कुर्सीमा बस्नासाथ प्राय: मन्त्रीको मनोदशा यस्तो देखिन्छ कि मन्त्रीका शरीरका प्रत्येक अंग वास्तवमा केवल जिब्रा हुन्, जो सत्ताको लड्डुको स्वाद चाख्न लालायित भएर तड्पिइरहेका छन् । किनकि मातहतका विभाग, कार्यालयमा दिनदहाडै हुने भ्रष्टाचारको लड्डु खानुको मजै बेग्लै हुन्छ । सपनामा मन्त्रीजी रसगुल्ला, दूध–मलाई, छप्पन्न भोग अर्थात् लड्डु खाएको देख्छन् । विपनामा त्यही नपाउँदा पीडा हुन्छ उनलाई । अर्ध–मूच्र्छित हुन्छन् उनी । मन्त्रीजीको यस्तो अवस्था देख्न सक्दैनन् दलाल महोदय । त्यसैले दलाल देउता मन्त्रीजीलाई लड्डु व्यवस्था गर्नतिर दौडधुप गरिरहन्छन् ।

हो सांसद, मन्त्रीजी सत्ताको लड्डु खान आतुर छन्, आकुल व्याकुल छन् । वर्षौंदेखि खाँदै आइरहेका पनि छन् । यसरी नै खाइनै रहेछन् त्यो पवित्र लड्डु । खान नपाए अनेक वितण्डा मच्चाउन थाल्छन् । संसद् नै ठप्प पार्न सक्छन् । कुनै अनर्थ हुन नदिने हो भने हामी सबैले मिलेर हाम्रा सांसद र मन्त्रीजीलाई निरन्तर कुनै लड्डुको व्यवस्था गरिरहनुपर्छ । तपाईं पनि हाम्रा मन्त्रीजीलाई कुनै लड्डु व्यवस्था गर्न सक्नुहुन्छ कि ?

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)