झार उखेलौं, देश बनाऔंपछिल्ला केही वर्षयता विदेशमा थुप्रै रोजगारी खुलेका कारण नेपाली युवा स्वदेशमा झार उखेल्न जानुको साटो विदेशतिरै हान्निइरहेका छन् । उता नहान्निनेहरू यता कुनै अरू धन्दामा लागेकाले पनि देशमा झार उखेल्ने मानिसहरू भेटिएका थिएनन् । तर पूर्व सरकारले शुरू गरेको प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत झार उखेल्ने कार्यक्रमका परिणाम अहिले पो देखिन थालेका छन् । आशा गरौं, अब विदेश जानुको साटो झार उखेल्नैका लागि पनि युवाहरू स्वदेशमै अडिनेछन् ।
हो, प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत यो पाँच वर्षमा राज्यकोषबाट करीब ४० अर्ब रुपियाँ खर्च भएछ । यो रोजगारी खासगरी बाँदर लखेट्ने, गाईवस्तु धपाउने र झार उखेल्ने कार्यक्रममा खर्च भएको रहेछ । भाउजूले भनेअनुसार बाँदरको बन्ध्याकरण कार्यक्रम पनि ल्याउन सक्ने हो भने यो रकम अझ बढ्न सक्ने थियो । जे होस्, यो आर्थिक वर्षको बजेटमा पनि यस्ता कार्यक्रमका लागि सरकारले झन्डै रू. ६ अर्ब रुपियाँ विनियोजन गरेको छ । कतिपयले यसलाई अनुत्पादक खर्च भनेर आलोचना गरेछन् ।
यस्तो झारपात गफ भनेर होच्याए पनि यसको महत्त्व कम छैन है ! बल्ल सरकारले झारको महत्त्व थाहा पायो । सबै काम छाडी अब झार उमार्ने र उखेल्ने कामलाई प्रमुख प्राथमिकताका साथ गर्नुपर्ने समय आएको छ । अब स्कुल कलेजको पाठ्यक्रममा समेत झार रोप्ने र त्यसलाई काट्ने तरीकाका विषय समावेश गर्न ढिला भइसकेको छ । यसै पनि हाम्रा विद्यार्थीहरू रोप्ने र काट्ने कुरामा अब्बल सावित छँदै छन् । खासगरी कलेजको चुनावको बेला यो स्पष्ट देखिने नै गरेको छ ।
देशमा अशिक्षित अथवा विना डिग्रीधारीले घाँस उखेल्ने वा काट्ने कार्य गरिरहेकै थिए । अब डिग्री हासिल गरेकाहरूलाई समेत घाँस उमार्ने र काट्ने कार्यक्रममा संलग्न गराउन थालेपछि देशले विकासमा चाँडै फड्को मार्न सक्छ भन्नेमा यो पंक्तिकार पूर्ण विश्वस्त छ । आज देशले कृषि क्षेत्रमा यति ठूलो फड्को मार्न सक्नुमा कृषि विज्ञान पढ्नेहरूको ठूलो हात रहेकोमा कुनै द्विविधा रहेन । अब पाठ्यक्रममा झार वा घाँस विज्ञान पनि थपिदिने हो भने देशमा बेरोजगारको संख्या दशौं लाखबाट एकैचोटि शून्यमा झर्नेमा कुनै शंका छैन । घाँस विज्ञान पढेर युवाहरूले देशमा घाँस उत्पादन, विक्रीवितरण र निर्यातसम्म गर्ने हो भने देशलाई यसले कति अघि बढाउला भन्ने कल्पना गर्दा पनि मन आनन्दित हुन्छ भन्या ! अस्ति चीनमा घाँस निर्यात गरेको देख्नु भएन ? चीनले जति नि घाँस लिने भएपछि यता उखेल्न परेन त घाँस ? घाँस नउखेली निर्यात हुने कुरै भएन ।
विगतमा हाम्रा राजनीतिक दल र नेताहरूले जनआन्दोलन गरे, पछि आएर धन आन्दोलन गरे । अनि शिक्षा र कृषि क्रान्तिका नाममा के के क्रान्ति गरे गरे । वास्तवमा अहिले अपरिहार्य रूपमा गर्न बाँकी चैं यै घाँस आन्दोलन नै हो । किनकि घाँस अब केवल जनावरका लागि मात्र उपयोगी रहेन । यो त अब मान्छेका रोजगारीसँग जोडिएको एक जल्दोबल्दो विषय पनि बनेको छ । अर्थात् घाँस उम्रियो भने रोजगारी उघ्रियो, अर्थतन्त्र सुध्रियो । रोजगारी सुध्रियो भने बेरोजगारको घरमा चुह्लो बल्यो, नत्र बलेन । भनेको मतलब घाँस अब मानिसको पनि भोजनसँग जोडिएको विषय बनेको छ ।
विगतमा हाम्रा राजनीतिक दल र नेताहरूले जनआन्दोलन गरे, पछि आएर धन आन्दोलन गरे । अनि शिक्षा र कृषि क्रान्तिका नाममा के के क्रान्ति गरे गरे । वास्तवमा अहिले अपरिहार्य रूपमा गर्न बाँकी चैं यै घाँस आन्दोलन नै हो ।
देशमा धान वा गहुँ फलाउने कृषि कर्म गर्ने परिस्थिति त अब रहेन । किनकि कृषिका नाममा बैंकबाट अर्बौं ऋण कहिल्यै खेत नदेखेका व्यापारी र बिचौलियाले बीचैमा खाइरहेका छन् । सच्चा किसानका लागि सिँचाइ, मल बिउबिजन र बजारको अभावमा कृषि गर्न अब सम्भव रहेन । यसरी मल, बीउ, सिँचाइ नभए पनि आफै उम्रने झार नै अब कृषिको विकल्पको रूपमा खडा भएको छ । किनकि डाँडापाखादेखि हिजो धान, गहुँ फल्ने खेतहरूमा समेत अहिले केवल घाँसै घाँस आफै उम्रेका छन् । घाँस वा झार उखेल्ने योग्यता बोकेका थुप्रै व्यक्तिहरू आज सरकारी अधिकारी, नेता, मन्त्री वा पत्रकार, लेखक बनिसकेका छन् । यदि परिस्थितिले साथ नदिएको भए आज उनीहरू पनि झार उखेलिरहेका हुन्थे । किनकि अहिले उनीहरूले जे गरिरहेका छन्, त्यो झार उखेल्नु समान नै त भएको छ ।
‘नेपाल दुई ठूला ढुंगाको बीचको तरुल’ हो भनेर पृथ्वीनारायण शाहले उहिल्यै भनेका थिए रे । यसको मतलव चीन र भारत दुई ठूलो देशको बीचमा रहेको नेपालले उनीहरूसँग उत्पादन र विक्री आदिमा गरेर प्रतिस्पर्धा गर्नै सक्तैन । अनि झार रोप्ने र त्यसलाई फेरि उखेल्ने काम नगरेर के गर्ने त ? घाँस महिमा त उहिल्यै आदिकवि भानुभक्तले गाएकै थिए । बल्ल नेताको दिमागमा त्यो छिरेछ । गाँस, बास र कपास भन्थे पहिले, त्यो सबै घाँस भएछ अहिले । जनताले कुरा बुझ्ने कहिले ?
सबैलाई थाहै छ, ठूलाठूला जनावरहरू ब्रेकफास्ट, लञ्च, डिनरमा सधैं घाँस नै लिन्छन् । अनि त देशमा घाँसको उत्पादन कति परिमाणमा हुनुपर्छ ? घाँसका आकार, प्रकार कति किसिमका हुन्छन् ? कुन कुन जनावरले घुस ‘सरी’ घाँस खान्छन्, कुनले खाँदैनन् भन्ने जस्ता प्रश्नको उत्तर खोज्न ढिला भएन त ?
आधुनिक धरहराका प्रणेता तथा महान् जोकर प्रधानमन्त्रीले एउटा धरहरा बनाउँदा कति सिमेण्ट, छडलगायत निर्माण सामग्रीको खपत हुन्छ, कति बेरोजगारले रोजगारी पाउँछन् भन्ने लगायत थुप्रै फाइदा बताउँदै सत्ताबाट बिदा भएका थिए । जाबो एउटा धरहराले त देशको अर्थतन्त्रमा त्यत्रो प्रभाव पार्न सक्छ भने देशैभरि घाँस उमार्ने, काट्ने र जनावरलाई ख्वाउने कार्यक्रम गर्दा यसले देशको अर्थतन्त्रमा कति बहुआयामिक हिसाबले फरक पार्ला, सोच्या छ कसैले ?
देशमा घाँस काट्ने हँसिया मात्रै पनि कति उत्पादन होला ? हँसियाको त्यै महत्त्व थापा पाएर त नेपालका नामी बेनामी क्रान्तिकारी दलहरूले आफ्नो दलको झण्डामा हँसियामा हथौडा राख्ने गरेका । त्यसैले घाँसको माक्र्सवाद, लेलिनवाद र माओ विचार धारासँग गहिरो सम्बन्ध छ । यसरी घाँसको माक्र्सवादीय अर्थशास्त्र राम्रोसँग बुझेर सोही अनुरूप काम गर्ने हो भने घाँसले देशको अर्थतन्त्रको कायापलट गर्न सक्छ । डुब्न लागेकालाई त त्यान्द्राको सहारा भए पुग्छ भन्छन्, जताततै घाँसै घाँस भएपछि भएन त देशका लागि खास ? अझ घाँसको अन्य उपयोगिताका विषयमा त अध्ययन नै भएको छैन । यसका लागि एउटा आयोग बनाइहाल्ने हो कि ? जस्तै, जान्यो भने त झार जडीबुटी पनि त हो नि । अब झार नामक जडीबुटी उखेलेर बेच्न सके भइन्न त छिट्टै धनी ?
हरेक दिन हजारौंका हाराहारीमा नेपाली पढ्नका लागि भनेर विदेशतिर लागिरहेका छन् । यहाँबाट त्यहाँ जाँदा यो गर्छु र त्यो गर्छु भनेर जे जे भने पनि अन्तमा त्यही सानातिना झार उखेल्ने किसिमका काम भन्दा बेशी खासै केही गरेको तथ्यांक छैन । विदेशमा कामै गर्न जानेहरूले त झन् प्राय: यस्तै उस्तै केही काम पाउने न हुन्, जुन घाँस काट्ने वा झार उखेल्ने भन्दा खासै फरक हुन्न ।
त्यसैले देशको साँच्चिकै विकास गर्ने हो भने अब स्वदेशमै घाँस खुर्केर वा झार उमारेरै हो । बरु आउनोस्– देशको विकास गर्न तपाईं हामी पनि झार उमार्ने अनि त्यसलाई पछि उखेल्नेतिर लागौं ।
घाँस काट्ने खुर्केर
आयो झार हुर्केर
कसलाई दिऊँ यो
घाँस .... ।