ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

तीजको अनावश्यक खर्च घटाएर शेयरबजारमा लगानी गरौं

२०८० भदौ, ३१  
टिप्पणी
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar लक्ष्मी शर्मा

पछिल्ला केही वर्षयता तीज अलि भड्किलो र खर्चिलोे बन्दै गएको टिप्पणी सामान्य भइसकेको छ । विगतमा तीजको दर खाने दिन एउटा मात्रै हुन्थ्यो । पात्रोमा पनि एउटै दिन, यस वर्ष भदौ ३१ गते दर खाने उल्लेख छ । दर खाने दिनको भोलिपल्ट तीजको व्रत हुन्छ । तर, अचेल तीज आउनुभन्दा एक महीना अगाडिबाटै दर खाने चलन बढिरहेको छ । यस्तो दरको भोज आफन्तहरूले पालैपालो गरिरहेका हुन्छन् । 

अहिले महिलाहरू दिनहुँजसो आफन्तकहाँ दरको नाममा भोज खाइरहेका हुन्छन् । एनजीओ, सहकारीहरूले पनि दरका कार्यक्रम गरिरहेका हुन्छन् । यस्ता कार्यक्रममा धैरै खाना खेर फालिन्छ । कार्यक्रममा सहभागी हुने महिलाबीच नयाँनयाँ फेशनका महँगा पहिरन र गहना लगाउने प्रतिस्पर्धा चल्छ । यी सब कारणले अचेलको तीज महँगो र भड्किलो चाड बनेको छ । यस्तो प्रचलन कम गर्न महिला आफैले मात्र सक्छन् ।

एक जमाना थियो, महिलाहरू निकै परनिर्भर थिए । पति, बुबा वा दाजुले कमाउँथे । उनीहरूले आफ्नो कमाइबाट महिलालाई रमाइलो गर्ने स्वतन्त्रता तीजको अवसरमा १ दिनमात्रै दिन्थे । अहिले त्यस्तो छैन । अहिले धेरैजसो महिला आत्मनिर्भर भइसकेका छन् । परनिर्भरताको अवस्था निकै घटेको छ । पुरुषहरूको दृष्टिकोण पनि बदलिएको छ । कतिपय महिला पति, बाबु वा दाजुसँग अधिकारपूर्वक माग गरी आफ्ना चाहना पूरा गर्न सक्ने भएका छन् । महिलाहरूले तीजका अवसरमा अनावश्यक गर्ने खर्च कुनै उत्पादनशील क्षेत्रमा लगानी गरेर भविष्यमा त्यसबाट राम्रो प्रतिफल पाउनेतर्फ सोच्नुपर्ने देखिन्छ । तीज भनेको लामो समयदेखि भेट नभएका दिदीबहिनीहरू एकआपसमा भेटेर आफ्ना दु:खसुख साटेर सँगै रमाइलो गर्ने दिन हो । तर, पछिल्लो समय दर विकृतिका रूपमा फैलिएको छ । 

एक महीना अगाडिदेखि तीजको नाममा खर्च गरिने पैसा र समय अन्य क्षेत्रमा लगानी गरे महिला स्वतन्त्रता झन् बलियो हुन्छ । अहिलेको अवस्थामा छोटो समयमा राम्रो आम्दानी गर्ने क्षेत्र भनेको शेयरबजार नै हो । अहिले धितोपत्रको दोस्रो बजारमा सूचीकृत कम्पनीहरूले लाभांश प्रस्ताव गर्न थालेका छन् । यसकारण पनि यो समय शेयरबजारमा गरेको लगानीबाट छोटो समयमै राम्रो प्रतिफल प्राप्त हुने विश्लेषक बताउँछन् । अनावश्यक खर्चको सट्टा सो पैसालाई शेयरबजारमा लगानी गरे राम्रो प्रतिफल प्राप्त हुने उनीहरूको भनाइ छ । 

राधा पोखरेल

अध्यक्ष, नेपाल पूँजीबजार लगानीकर्ता संघ

पछिल्लो समय शहरमा मात्रै होइन गाउँमा पनि ‘म्याचिङ’ लुगा गरगहना लगाएर तीज आउनुभन्दा १ महीना अगाडिबाट दर खाने चलन एकदमै बढ्दो छ । यो विकृति हो । हामीले हाम्रा चाडपर्व मनाउनुपर्छ तर सरल सभ्य तरीकाले मनाउनु राम्रो हुन्छ । अनावश्यक तरीकाले धेरै महँगो लुगा, गरगहनामा खर्च हुने पैसा शेयरबजारलगायत अन्य क्षेत्रमा लगानी गर्नुहोस्, आफूलाई अप्ठ्यारो पर्दा काम लाग्छ । 

सोनाम पाठक

लगानीकर्ता

पहिलापहिला सबैजना एक घरमा जम्मा भएर दिदीबहिनीले मादल बजाएर गीत गाएर तीज मनाइन्थ्यो । हामीले हाम्रो संस्कृति पनि बचाउनुपर्छ । तर, पछिल्लो समय एकदमै विकृति भित्रिएको छ । पैसा उठाएर पार्टी प्यालेसमा गएर दर खाने प्रवृत्ति भित्रिएको छ । सरल तरीकाले तीज मनाऊँ, अनावश्यक खर्च नगरौं भन्न चाहन्छु । म शेयरबजारमा लगानी गर्दै आएकाले अनावश्यक खर्चको सट्टा शेयरबजारमा लगानी गर्न सुझाउँछु । राम्रो प्रतिफल दिने कम्पनीमा लगानी गर्नुहोस् भन्न चाहन्छु । 

दुर्गा तिवारी 

लगानीकर्ता

चाडपर्व हाम्रा अभिन्न अंग हुन् । पछिल्लो समय चाडपर्व भड्किलो हुँदै गएको देखिएको छ । हामीहरू आबद्ध भएका विभिन्न संघसंस्थाले तीज कार्यक्रम गर्छन् । एक हप्तादेखि म पनि त्यस्तै कार्यक्रममा गइरहेको छु । छिमेकी आमा, दिदीबहीनीले बोलाउनु हुन्छ, केही समय रमाइलो गरिन्छ । योसम्म त ठिकै होला तर १ महीनाअघिदेखि नै मनाउनुचाहिँ विकृति हो । पछिल्लो समय सामाजिक सञ्जालमा आएका केही भिडियोहरूले पनि तीजमा विकृति भित्रिएको देखाउँछ । तीज सभ्य तरीकाले मनाउनुपर्छ, धेरै खर्च गरेर होइन । बरु फजुल खर्च घटाएर शेयरबजारमा लगानी गरे राम्रो हुन्छ । 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)