ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

धान उत्पादन वृद्धिको संकेत

२०८० पुस, २५  
टिप्पणी
Aarthik Abhiyan 18th Anniversary Image Not Found

पछिल्लो ४ वर्षको तुलनामा यस वर्ष नेपालमा सबैभन्दा धेरै धान उत्पादन भएको छ । त्यही जमीनमा धान उत्पादन वृद्धि हुनु भनेको उत्पादकत्व वृद्धि भएको हो र यसलाई विकासको संकेत मान्नुपर्छ । उत्पादन वृद्धिका लागि विभिन्न पक्षले काम गरेका हुन्छन् । मलखाद, सिँचाइ, श्रमिकलगायतको भूमिका हुने भएकाले यसपटक धान उत्पादन वृद्धि हुनुले ल अफ भेरियबल 

प्रोपोर्शन चरितार्थ भएको छ । नेपालमा कृषि उत्पादन गुजारामुखी भएको भन्दै कृषि पेशाबाट पलायन हुने संख्या ठूलो छ । तर, पछिल्लो समय ठूलाठूला औद्योगिक घरानाले कृषिक्षेत्रमा लगानी गरेको पनि पाइएको छ । यस्ता समूहले कृषिबाट लाभ लिइसकेको भने अझै पाइएको छैन । 

नेपालका लागि कृषि सम्भावना बोेकेको क्षेत्र भए पनि आधुनिक प्रविधिको प्रयोग हुन नसक्दा लाभ लिन नसकिएको धेरैको भनाइ छ । कृषिमा सम्भावना नदेखेका कैयन् युवायुवती वैदेशिक रोजगारीमा गइरहेका छन् । कृषिबाट पलायन भएर वैदेशिक रोजगारीमा जानेको संख्या बढिरहेका बेला अहिले जसरी धानको उत्पादकत्व बढेको देखिएको छ, यही बेला सरकारले थप काम गर्नुपर्ने हुन्छ । जमीन वृद्धि नभएको तर उत्पादन वृद्धि हुनुले कृषिमा आधुनिक प्रविधिको प्रयोगको शुरुआत भएको देखाउँछ । 

त्यसैले अब सरकारले उत्पादनमा थप वृद्धि गराउन नयाँनयाँँ प्रविधिको प्रयोग तथा सिँचाइ, मल, बीउको उपलब्धतामा काम गर्नुपर्ने हुन्छ । नत्र अहिले वृद्धि भएको धान उत्पादन अर्को वर्षमा कमी नआउला भन्न सकिँदैन । कृषि गणनाको पछिल्लो तथ्यांकअनुसार विगत १० वर्षमा रासायनिक मल, विषादी र उन्नत तथा वर्णसंकर बीउको प्रयोग पनि बढेको देखिएको छ । जुन अनुपातमा रासायनिक मल, विषादी र उन्नत जातका बीउको प्रयोग बढेको हो त्यसअनुसार कृषि उत्पादकत्व भने बढ्न नसकेको विज्ञहरूले बताउँदै आएका छन् । यसको अर्थ अझै पनि यिनको समन्वित र सही ढंगले प्रयोग भएको छैन भन्ने हो । 

जहाँ सिँचाइ सुविधा हुन्छ त्यहाँ कृषि उत्पादन बढ्छ । त्यस्तै मल र विषादीको प्रयोगले पनि कृषि उत्पादन र उत्पादकत्व दुवै बढ्छ । त्यसमा पनि बढी उत्पादकत्वका लागि वर्णसंकर प्रजातिका बीउको विकास गरिएको छ । नेपालमा यी प्रयास भइरहे पनि कहिले मलको अभाव हुन्छ, कहिले पानी राम्ररी पर्दैन र कहिले उचित बीउको अभाव हुन्छ जसले गर्दा कृषि उत्पादकत्वमा असर परेको हुन्छ । अहिले उत्पादन बढेको देखिए पनि नेपालमा उपयुक्त खालको कृषि उपकरणको विकास भइसक्यो भन्ने अवस्था छैन । 

कुनै पनि देशको हावापानी, माटो र बीउअनुसार खेती गर्ने तरीका भिन्न हुन्छ । नेपालमा कृषिमा आधुनिकीकरण ल्याउन प्रविधि र मल तथा बीउको प्रयोगलाई अभियानकै रूपमा सञ्चालन गरिएको छ । तैपनि नेपालको प्रतिहेक्टर कृषि उत्पादनमा सामान्य सुधार मात्रै भएको छ । विश्वको औसत धान उत्पादकत्व प्रतिहेक्टर ४ दशमलव २ मेट्रिक टन छ । विश्वमा सबैभन्दा बढी उत्पादकत्व भएको देश चीन हो जहाँ ६ दशमलव ५ मेटन धान उत्पादन हुन्छ । नेपालको उत्पादकत्व भारतको भन्दा कम रहेको छ । यद्यपि यस वर्ष सबैभन्दा उच्च उत्पादकत्व रहेको कृषि मन्त्रालयको भनाइ पाइन्छ । दक्षिण एशियाली मुलुकमध्ये नेपालको धान उत्पादकत्व पाँचौं स्थानमा रहेको पाइएको छ । दक्षिण एशियाली मुलुकमध्ये धानमा सबैभन्दा धेरै उत्पादकत्व भएको मुलुक श्रीलंका हो । श्रीलंकामा धानको उत्पादकत्व ४ दशमलव ८ मेट्रिक टन प्रतिहेक्टर छ । ४ दशमलव ७ मेट्रिक टन प्रतिहेक्टर उत्पादकत्वका साथ बंगलादेश दोस्रो स्थानमा छ । भुटान तेस्रो, भारत चौथो र नेपाल पाँचौं स्थानमा रहेको छ । भुटानको धान उत्पादकत्व ४ दशमलव शून्य ७ मेट्रिक टन, भारतको ४ दशमलव शून्य ५ मेट्रिक टन र नेपालको ३ दशमलव ८ मेट्रिक टन प्रतिहेक्टर रहेको छ ।

नेपालमा कृषिक्षेत्रको उपयोग घट्दो छ । शिक्षित मानिस कृषिसँग विमुख भएसँगै यसमा लाग्ने जनसंख्या पनि घट्दो छ । त्यस्तै कुल गार्हस्थ्य उत्पादनमा कृषिको अंश पनि घटिरहेको छ । कृषिमा आधुनिकीकरण गर्ने हरेक सरकारको लक्ष्य रहेको पाइन्छ तर शिक्षित वर्ग यसबाट टाढिएकाले अपेक्षित मात्रामा आधुनिकीकरण हुन सकेको छैन । 

बढ्दो जनसंख्यालाई आवश्यक खाद्य आपूर्ति गर्न जसरी पनि उत्पादन र उत्पादकत्व बढाउनैपर्ने बाध्यता छ । कृषि पेशाप्रति रहेको विकर्षणले खाद्यसुरक्षामा अझ चुनौती थपिएको छ । यस्तोमा खाद्यसुरक्षाका लागि आवश्यक आधुनिक प्रविधिको उपयोग अनिवार्य नै हुन्छ तर तिनको सही प्रयोग गर्न किसान र उपभोक्तालाई सचेत पार्न आवश्यक छ । अहिलेलाई यति मात्र गर्न सक्ने हो भने एकातिर उत्पादनमा वृद्धि त हुन्छ नै अर्कोतर्फ कृषि यन्त्रीकरण, मल, बीउलगायतको प्रयोगमा वृद्धि भई बजारमा समेत सुधार हुन्छ । त्यसैले सरकारले यो बेला उत्पादकत्व वृद्धिका लागि ठोस योजना बनाएर काम गर्नुपर्छ । 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)