नेपाली नागरिकले कुनै रोजगारी वा काम गरेबापत पारिश्रमिक वा केही रकम प्राप्त गर्छ भने त्यस्तो व्यक्तिको पारिश्रमिक आयमा केही रकम कर तिर्नुपर्छ । यसरी कुनै व्यक्तिले रोजगारी गरेर प्राप्त गरेको आयमा सरकारले कर लगाएको हुन्छ । आयकर ऐन, २०३१ अनुसार उपदान, निवृत्तिभरण, सञ्चित घर बिदा, बिरामी बिदा तथा सञ्चय कोषमा जम्मा भएको रकमहरू आयमा समावेश नहुने हुँदा त्यस्तो भुक्तानीमा आयकर ऐन, २०३१ बहाल रहेको अवधि २०५८/१२/१८ गतेसम्म कर नलाग्ने व्यवस्था रहेको थियो । आयकर ऐन, २०५८ लागू भएपछि अवकाश कोषबाट भुक्तान हुने रकममा केकति कर लाग्ने भन्नेमा विवाद उत्पन्न भएको पाइन्छ ।
आन्तरिक राजस्व विभागबाट स्वीकृति लिएका स्वीकृत अवकाश कोषमा आफ्नो कर्मचारीलगायतको उपदान, बिदाबापतको रकमहरू रोजगारदाताले जम्मा गरी राख्न थाले र कर्मचारीहरू अवकाश लिँदाको अवस्थामा सोही कोषबाट भुक्तानी दिने र करकट्टी गर्दा आयकर ऐन २०५८ को दफा ८८ (१) को प्रतिबन्धात्मक वाक्यांशको देहाय (१) बमोजिम ५ वा दफा ८८ (१) अनुसार १५ प्रतिशत लाग्ने विवाद भयो । राष्ट्रिय वाणिज्य बैंक लि. बाट अवकाश लिएका वेदबहादुर लावतीसमेतको निवेदनमा २०७८/०८/२१ गते सर्वाेच्च अदालतले फैसला गर्यो, जसमा ‘निवेदकहरूसँग सम्बन्धित अवकाश कोष आयकर ऐन, २०५८ को दफा ६५ को उपदफा (१) बमोजिमको स्वीकृति कोष भएको र सो कोषबाट हुने योगदानमा आधारित अवकाश भुक्तानीमा ऐ दफा ८८ को उपदफा (१) को प्रतिबन्धात्मक वाक्यांशको देहाय (१) बमोजिम ५ प्रतिशतका दरले कर कट्टा हुनुपर्ने स्पष्ट व्यवस्था देखिएकोमा आकर्षित नै हुन नसक्ने उपदफा (१) को मूल व्यवस्थाबमोजिम १५ प्रतिशतका दरले कर लाग्ने भन्ने मिल्ने अवस्था देखिएन’ भनी फैसला भएको थियो । योे फैसलासमेतका आधारमा केही संस्थाले अवकाश कोषबाट भुक्तानी गरेको रकम ५ प्रतिशत कर रकम कट्टी गरे भने केही संस्थाले १५ प्रतिशत रकम कट्टा गरेको भनी पुन: धेरै संस्थाका कर्मचारीले पुन: सर्वाेच्च अदालतमा निवेदन दर्ता गरेका थिए । यस्तै प्रकृतिका करीब ९० थान निवेदनमा सर्वाेच्च अदालतको संयुक्त इजलाशबाट मिति २०८०/०४/३२ मा फैसला भएको छ ।
अधिकांश निवेदनका हकमा रिट जारी गरिएको भनिएको छ र केही निवेदन खारेज गरिएको भनी सर्वाेच्च अदालतको वेबसाइटको आदेश फैसलाको किसिममा लेखिएको छ । यीमध्ये एक लीलामणि न्यौपाने वि. नागरिक लगानी कोषसमेत भएको मुद्दामा मिति २०८०/०४/३२ फैसला सार्वजनिक भएको छ । लीलामणि न्यौपानेको मुद्दामा चारओटा विषयवस्तुका सम्बन्धमा व्याख्या गरेको छ । जसमा (१) आयकर ऐन, २०५८ को दफा ६३ बमोजिम स्वीकृत अवकाश कोषबाट भुक्तानी नगरी रोजगारदाताले भुक्तानी गरेको उपदान, बिदालगायत सुविधाको हकमा ‘स्वीकृति नलिएको अवकाश कोषबाट गरिने भुक्तानीको हकमा आयकर ऐनको दफा ८८ को उपदफा (१) को प्रतिबन्धात्मक वाक्यांश आकर्षित हुने नभई दफा ८८ को उपदफा (१) को मूल व्यवस्था नै आकर्षित हुने स्थिति देखिन्छ’, (२) मिति २०७५/०३/३२ पूर्वअवकाश लिएका रिट निवेदकहरूका हकमा ‘वेदबहादुर लावतीको मुद्दापश्चात् अदालतमा निवेदन लिई उपस्थित भएकाले करकट्टीको विषयमा लामो समयसम्म टुङ्गिएको विषय भएको र संयुक्त इजलाशबाट भएका निर्णयहरू पनि तत् तत् निवेदकहरूको हकमा जारी भएको पाइएबाट वर्षौं पछि परेका निवेदकहरूमा विलम्बको सिद्धान्त आकर्षित हुने अवस्था देखिन्छ ।’ (३) स्वैच्छिक अवकाश योजनाअन्तर्गत अवकाश लिएका कर्मचारीहरूको हकमा चतुर्भुज भट्टको मुद्दामा पूर्ण इजलाशबाट व्याख्या भएको उल्लेख गर्दै पूर्ण इजलाशबाट स्वैच्छिक अवकाश योजनाअन्तर्गत अवकाश लिने व्यक्तिहरूलाई गरिने भुक्तानी अतिरिक्त सहुलियत भई त्यस्तो भुक्तानी आयकर ऐन, २०५८ को दफा ८८(१) को भुक्तानीको परिभाषा र दायराभित्र पर्ने अतिरिक्त भुक्तानी हुँदा त्यसमा स्वैच्छिक अवकाश योजनाअन्तर्गत अवकाशमा जाने रिट निवेदकहरूको हकमा १५ प्रतिशतको दरले करकट्टी भएकोलाई कानूनसम्मत भन्ने पूर्ण इजलाशबाट ठहर भइसकेको अवस्था देखिन्छ ।’ र (४) चौथो बुँदामा ‘करको दायित्व मूलत: व्यक्तिगत हुन्छ । अर्थात् प्रत्येक रिट निवेदकले अवकाश पाउँदा कहिले अवकाश लिएको हो, कुन शीर्षकमा केकति प्रतिशतले र कति करकट्टी गरिनुपर्ने हो भन्ने हेरिएको अवस्था हुन्छ । त्यसैगरी स्वैच्छिक अवकाश योजनाअन्तर्गत अवकाश लिएको हो वा होइन, २०७५/३/३२ अघि वा पछि कहिले अवकाश लिएको हो भन्ने आदि प्रश्नहरू प्नि यसमा सन्निहित हुन्छन् ।
कर्मचारीको सेवा अन्य जुनसुकै कारणबाट भए तापनि स्वीकृत अवकाश कोषमार्फत भएको भुक्तानीमा समान किसिमबाट करकट्टी हुनुपर्छ । कानूनबमोजिम बाहेक कर लगाउने तथा उठाउन नपाइने संवैधानिक व्यवस्थाको कार्यान्वयनका लागि कानून निर्माता, कर प्रशासन, न्यायालय तथा सरकारले आआफ्ना तर्फबाट इमानदारीसाथ कार्य गर्न जरुरी छ ।
राष्ट्रलाई नै असर पर्ने सार्वजनिक महत्त्वका करछलीका निवेदकहरू सार्वजनिक हकहित र सरोकारको विषय पनि बल्ला । तर, यहाँ जे विषयमा कुरा उठाइएको छ यो हरेक निवेदकको सम्बन्धमा व्यक्तिगत तहमा हेरिनुपर्ने विषय देखिन्छ । तसर्थ यस्तोमा सार्वजनिक हक र सरोकारको विषय भनी प्रतिनिधित्व मूलक निवेदन स्वीकार गर्न मिल्ने अवस्था देखिँदैन’ भनी व्याख्या गरेको छ ।
ललिामणि न्यौपानेको मुद्दामा सर्वाेच्च अदालतको गरेको व्याख्याले सम्पूर्ण निवेदकको पूर्णपाठ अध्ययन गरी विश्लेषण गर्नुपर्ने देखिन्छ । यद्यपि चारओटा बुँदाको व्याख्या गर्दा आर्थिक ऐन, २०७५ ले आयकर ऐन, २०५८ दफा ८८ (१) को प्रतिबन्धात्मक वाक्यांशलाई संशोधन गरेको मिति २०७५/३/३२ लाई लक्ष्मण रेखा मानेको देखिन्छ । तर चतुर्भुज भट्टको पूर्ण इजलाशको अन्तिम निष्कर्षमा उल्लेख गरेको शब्दावली ‘निवेदकहरूले स्वैच्छिक अवकाश लिँदा दिइएको अतिरिक्त सहुलियत भुक्तानीमा सोहीअनुरूप कर कट्टी गरेको विपक्षीको निर्णय कानूनसम्मत नै देखिएकाले निवेदन मागबमोजिमको आदेश जारी गर्नुपर्ने अवस्था देखिएन’ भन्ने शब्दावली र आर्थिक ऐन, २०६५ र २०७५ ले ‘आयकर ऐन, २०५८ को दफा ४७ क (३) को संशोधन’ गरेको व्यवस्था अध्ययन गर्न छुटेको हो वा छुटाइएको हो पछि सबै निवेदनको पूर्ण पाठ आएपछि विश्लेषण गर्दा सान्दर्भिक हुनेछ ।
स्वैच्छिक अवकाश योजना ल्याउँदाकै अवस्थामा उक्त योजनामा केकस्तो सुविधा वा रकम थप गर्ने भन्ने बारेमा रोजगारदाताले निर्धारण गरी कर्मचारीहरूलाई आह्वान गर्छन् । सरकारी संस्था तथा निकायहरूले स्वैच्छिक अवकाश योजनामा कर्मचारीहरूलाई उपदानको रकम थप गरिदिने वा बाँकी अवधिको तलब भत्ता एकमुष्ट दिने गरी योजना ल्याएका हुन्छन् । त्यस्तै बैंक तथा वित्तीय संस्थालगायत प्राइभेट क्षेत्रका संस्थाहरूले कर्मचारीहरूलाई थप केही महीना वा वर्षको एकमुष्ट तलब भत्ता प्रदान गरेका हुन्छन् । यसरी स्वैच्छिक अवकाश योजनामा कर्मचारीहरूले नियमित अवकाश वा राजीनामा दिँदाभन्दा बढी रकम भुक्तानी गर्ने गर्छन् । यसै सन्दर्भमा आयकर ऐन, २०५८ को दफा ४७क (३) मा व्यवसाय गाभिएको कारणले हुने नि:सर्गसम्बन्धी विशेष व्यवस्था गरेको छ । बैंक तथा वित्तीय संस्था र बीमा व्यवसाय गर्ने संस्थाहरू गाभिएको अवस्थामा कर्मचारीहरूलाई स्वैच्छिक अवकाश योजना ल्याएको अवस्थामा उक्त योजनाअनुसार दिइएको थप रकममा लाग्ने कर रकममा ५० प्रतिशत छूट दिइने व्यवस्था गरेको हो । स्वैच्छिक अवकाश योजनामा संलग्न भएबापत आयकर ऐन, २०५८ को दफा ४७ क (३) मा बैंक तथा वित्तीय संस्था र बीमा व्यवसायका लागि ५० प्रतिशत छूट दिने व्यवस्था गरेकाले यिनीहरूको हकमा ७ दशमलव ५ प्रतिशतका दरले कर लाग्ने हो ।
अनिवार्य अवकाश होस् वा स्वैच्छिक अवकाश, राजीनामा वा सेवाबाट हटाएको अवस्थामा होस् त्यस्तो व्यक्तिलाई स्वीकृत अवकाश कोषबाट भएको भुक्तानीमा ५ प्रतिशतका दरले कर लाग्ने गरी सर्वाेच्च अदालतबाट व्याख्या भएको छ । स्वैच्छिक अवकाश योजनामा संलग्न भई अवकाश लिएका कर्मचारीहरूको हकमा स्वैच्छिक अवकाश योजनामा थप गरेको रकममा मात्र आयकर ऐनअनुसार कर लाग्ने र मर्जरमा गएका बैंक, वित्तीय संस्था बीमा कम्पनीका हकमा ५० प्रतिशत छूट प्राप्त हुन्छ । यसरी स्वैच्छिक अवकाश योजना थप गरेको रकमबाहेक अन्य नियमित तवरबाट स्वीकृत अवकाश कोषबाट भुक्तानी हुने उपदान, बिदालगायत भुक्तानीमा अन्य अवकाशसरहको आयकर कट्टा हुने व्यवस्था आयकर ऐनमा रहेको छ । कर्मचारीको सेवा अन्य जुनसुकै कारणबाट भए तापनि स्वीकृत अवकाश कोषमार्फत भएको भुक्तानीमा समान किमिसबाट करकट्टी हुनुपर्छ । कानूनबमोजिम बाहेक कर लगाउने तथा उठाउन नपाइने संवैधानिक व्यवस्थाको कार्यान्वयनका लागि कानून निर्माता, कर प्रशासन, न्यायालय तथा सरकारले आआफ्ना तर्फबाट इमानदारीसाथ कार्य गर्न जरुरी छ ।
लेखक बैंकिङ अपराध विषयमा विद्यावारिधिप्राप्त अधिवक्ता हुन् ।