काठमाडौं । बुधवार काठमाडौंको हनुमानढोका क्षेत्रमा रहेको तलेजु भवानी मन्दिरअगाडि कुमारीहरूको सामूहिक पूजा गरिएको छ ।
प्रत्येक वर्ष इन्द्रजात्राको अवसरमा हनुमानढोका परिसरमा नेवार समुदायका ईही (बेल विवाह) नगरेका २ देखि ८ वर्ष उमेर समूहका ५०१ बालिकाहरूलाई कुमारीका रूपमा पूजा गर्ने प्रचलन छ ।
इन्द्रजात्रामा जीवित देवी कुमारीको रथ तानिने हुनाले कुमारी पूजाको महत्त्व रहेको जानकार बताउँछन् ।
धेरैजसो बालिकाहरूलाई उनका अभिभावकले विशेष कुमारीको भेषभूषामा सजाएर पूजामा सहभागी गराएका थिए । पूजापश्चात बालिकाहरूलाई तलेजु भवानीको दर्शन गराइएको थियो ।
हरेक वर्ष राष्ट्र कल्याणको कामना गर्दै कुमारी पूजा हुने गरेको छ । यसरी पूजा गरेमा बालिकाहरूलाई रोग नलाग्ने र सुख समृद्धि प्राप्त हुने जनविश्वास छ ।