ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

स्स्स् ! प्रशासनलाई सुत्न देऊ

२०८० असोज, १२  
तीतो मीठो
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar मदन लम्साल

उहिले उहिले नेपालबाट तमाखु, खुर्सानी, कस्तुरीको विना, राडीपाखी आदि कोसेली बोकेर नेपाली टोली चीनका बादशाहलाई भेट्न जान्थ्यो । चीनका बादशाह पनि नेपालका राजाले मानमनितो गरे भनेर दंग हुन्थे । अनि महँगा महँगा कोसेली दिएर पठाउँथे रे । अचेल यताबाट केही लानुपर्दैन, हुलका हुल मान्छेका जम्बो टोली मात्र लगे पुग्छ । जे कोसेली आउने हो, त्यो चैं उतैबाट आउने गर्दछ । 

तर यसपालि हाम्रा प्रधानमन्त्री अमेरिकापछि चीन भ्रमणमा गएर आए र कोसेली पनि दह्रै लिएर पो आए । अर्थात् चीनसँग गरिएका मुठाका मुठा सम्झौतापत्रहरू र अहिलेसम्मको सबैभन्दा लामो संयुक्त वक्तव्य पनि साथै ल्याए । यो पनि आफैमा उपलब्धि हो । पहिले पहिले पनि हाम्रा प्रधानमन्त्री, राष्ट्रपतिले यस्ता कत्ति सम्झौताका कागजपत्रहरू डोकाका डोका बोकाएर ल्याएकै हुन् । प्रमको काम त सम्झौता गर्दिने न हो । त्यसलाई कार्यान्वयनमा लाने काम त अब प्रशासनको हो । भाषण गरेर शासन गर्न पुगेकाले त आफ्नै लागि रासनपानीको जोहो गर्ने बाहेक अरू के नै गर्छन् र ?

तर जहाँसम्म हाम्रो देशको प्रशासनको कुरा छ ऊ प्राय: खाने बेलामा मात्र ब्यूँझन्छ, कुम्भकर्णजस्तो । कुम्भकर्णलाई अरूले आहारा जुराइदिन्थे, हाम्रा प्रशासकहरू त खाने कुराको जोहो आफै गर्न जुर्मुराउँछन् । कुर्सीमा जोसुकैै प्रशासक बसे पनि, कुर्सीमै निदाए पनि यसले हाम्रो प्रशासनिक क्षमतामा खासै असर गर्दैन । हो, सरकारी हाकिमहरू आफ्ना कुर्सीमा बस्दा बस्दै निदाउँछन् पनि । सरकारी कार्यालयका पियन र अझ कुनै दल आबद्ध टे्रड युनियनमा लागेका कर्मचारीहरू त यो विषयमा अझ क्षमतावान् छन् । उनीहरू टुलमै पनि बसी बसी नै उङ्न सक्छन् ।

सामान्य व्यक्ति आफ्ना दु:ख पीडाहरूलाई भुलेर सुत्छ । तर हाकिमहरू भने थुप्रै मानिसहरूका दु:खकष्टहरूलाई भुलेर मज्जाले सुतिदिन्छन् । विदेशतिरको प्रशासन हो र करदाताको पैसा जथाभावी गर्न हुन्न भन्नलाई ? नेपालको प्रशासन त सरकारी जति आफ्नै भकारी ठानेर चल्ने हो नि ।

हाकिमहरू दुई प्रकारले निदाउँछन् । एउटा त सामान्य निद्रा हो, जसमा आँखा बन्द रहन्छन् र दिमाग पनि शान्त रहन्छ । दोस्रोमा आँखा त खुलै रहन्छ, तर दिमाग चैं सुतिरहन्छ । यो एक प्रकारको सिद्धि हो, जुन अनुभवबाट मात्र प्राप्त हुन्छ । सरकारी हाकिम र ‘स्लिप वाकर’मा सबैभन्दा ठूलो भिन्नता यही हो कि स्लिप वाकर कमसेकम हिँड्छ । जब प्रशासन सुत्छ, तब फाइलहरूले तकियाको काम दिन्छन् । सामान्य व्यक्ति आफ्ना दु:ख पीडाहरूलाई भुलेर सुत्छ । तर हाकिमहरू भने थुप्रै मानिसहरूका दु:खकष्टहरूलाई भुलेर मज्जाले सुतिदिन्छन् । विदेशतिरको प्रशासन हो र करदाताको पैसा जथाभावी गर्न हुन्न भन्नलाई ? नेपालको प्रशासन त सरकारी जति आफ्नै भकारी ठानेर चल्ने हो नि । 

सामान्य व्यक्तिलाई थाहा हुन्छ कि उसलाई सुतेपछि उठ्नु पनि पर्छ, र समयमै उठ्नुपर्छ । किनकि भोलि उठेर काम पनि गर्नुपर्छ । तर प्रशासनलाई सुत्दैखेरि थाहा हुन्छ कि उसलाई उठ्नुपर्नेु कुनै आवश्यकता छैन, जति सुत्यो त्यति हाइसन्चो हुन्छ । साधारण ओछ्यानमा केवल सामान्य निद्रा हुन्छ । तर सरकारी निद्रामा एउटा गज्जबको नशा हुन्छ । हाकिमी पाराको अभिमानको नशा क्या ! जब हाकिमलाई निद्रा लाग्छ, तब फाइलहरू विचारहीन रहन्छन् । प्रशासन सुतिरहन्छ र समस्याहरू चैं विचाराधीन रहन्छन् ।

आगो लागिरहेको हुन्छ । तर निभाउने कुरा विचाराधीन रहन्छ । मानिसहरू मरिरहेका हुन्छन् । तर डाक्टर बोलाउने कुरा विचाराधीन रहन्छ । विचाराधीन शब्द नै एकदम क्रान्तिकारी र रोचक छ । यो खासमा ‘हुन्न’ भन्ने शब्दको सरकारी पर्यायवाची हो । यो सुतिरहेको शासनको अक्षमताको गम्भीर अभिव्यक्ति हो । विचाराधीनको कुनै समयसीमा निर्धारित हुन्न । कुनै पनि प्रश्न लामो समयसम्म विचाराधीन हुन सक्छ । यसमा समस्या विचारहरूको अधीन हुन जान्छ । अथवा समस्यामाथि विचारहरूले राज गर्छन् । समस्यालाई घुमाइरहन्छन् । उठ्नै दिन्नन् । समस्या टाउको उठाउँछ, तब विचारले त्यसलाई दबाइहाल्छ । विचाराधीनको पनि समय हुन्छ । फाइलको पिठ्युँमा बाँधिएका रातो फित्ताभित्र कागजपत्र छटपटाइरहेका हुन्छन् । यही नै विचाराधीनको स्थिति हो । विचार मानौं कमिला हो, जो सुतिरहेको हात्तीरूपी प्रशासनमुनि दबिएर बसेको हुन्छ ।

सुतिरहेको प्रशासन वर्तमानलाई भविष्य र भविष्यलाई सुदूर भविष्यमा फ्याँकेर सुत्छ । र, जनतालाई जानकारी दिइन्छ कि उसका समस्याहरू शासककोमा विचाराधीन छन् । हाम्रो सौभाग्य यो हो कि यो देशमा नयाँ विचारहरूले राजकीय ठाँटका साथ जन्म त लिन्छन्, तर दुर्भाग्य ती नयाँ विचारहरू छिट्टै एउटा भिखारी सरह तड्पी तड्पी मृत्युवरण गर्न पुग्छन् । सारा देशभरि प्रस्तावहरू घुमिरहन्छन् । तर यी प्रस्ताव, नयाँ विचार, आइडिया अचार बन्न पुग्छन् । भर्खर जन्मिएका स्टार्टअप उद्यमीहरूका आइडियाहरूको हालत नै हेरौं न ।

पहिले पहिले कमसेकम यो सुख थियो कि सारा देश एउटा रमाइलो मेला जस्तो लाग्थ्यो र नेताहरू जादुगर जस्ता लाग्थे । नेतालाई देख्न र सुन्न भनेरै मानिसहरू टाढाटाढाबाट ओइरिन्थे । तर अहिले परिस्थिति बदलिएको छ । नेताले बोले पनि वा नबोले पनि त्यसले केही फरक पर्दैन । हाकिम सुत्छन् वा उठ्छन्, त्यसले केही फरक पर्दैन । निर्णय लिए पनि, नलिए पनि केही फरक पर्दैन । यो वा त्यो जुनसुकै समूहले माइतीघरमा धर्ना, जुलुस गरे पनि नगरे पनि केही फरक पर्दैन । सरकारले हडताल, प्रदर्शन गर्ने समूहसँग वार्ता वा कुनै पनि सम्झौता गरे पनि नगरे पनि केही फरक पर्दैन ।

दैनिक पत्रिकाहरूले जत्ति नै ठूला हेडलाइन बनाएर कुनै समस्याका विषयमा वा कुनै विचार, प्रस्ताव वा विधेयकका विषयमा लेखे पनि, टिभीमा जति कुर्लेर कराए पनि सरकारलाई केही फरक पर्दैन । खबर जतिसुकै गम्भीर, सनसनीपूर्ण रहे पनि २–४ दिनपछि त्यो सारहीन, सनसनीहीन बन्न पुग्छ । भुटानी शरणार्थी प्रकरण, सुनकाण्ड, ललिता निवास जग्गा काण्ड, लगायत काण्डहरूको हबिगत सम्झिनुस् त ।

माइतीघरबाट आएको जुलुश सिंहदरबार भएर जान्छ । तर हाम्रा हाकिमहरूका झ्याल र ढोकाहरू प्राय: बन्दै रहन्छन् । बरु मोटा तकिया, नरम बिछ्यौना, आरामदायी कुर्सी वा सोफा, एयर कन्डिसनका बीच हाम्रा नेता, मन्त्री र प्रशासकहरू दिउँसै घुरिरहेका हुन्छन् ।

बरु बिस्तारै बोल्नुस् । अहिले पनि देशका शासक, प्रशासक घुरेर सुतिरहेका छन् । उहाँहरूको सुत्ने र घुर्ने अधिकारलाई तपाईं डिस्टर्ब नगर्नुस् है !

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)