हिजो सहर गुल्जार थियो, भीडभाड, ठेलमठेल, मोलमोलाइ थियो । तर, अहिले सटरहरूमा ताला छन्, होटलहरूका कोठाहरू खाली खाली छन् । तर होटल तथा पार्टी प्यालेसका हलहरू भने भरिभराउ छन् । त्यहाँ धमाधम कार्यक्रमहरू भइरहेका छन् । यसको मतलब देशमा केही न केही अभियान चलेकै छ । जति युवाहरूले देश छाडे, गाउँ रित्तियो, त्यति नै शहर र गाउँमा प्रमुख अतिथि बन्ने र बनाउने लहर बढेको छ । यो त्यो ठाउँको आकारमा निर्भर हुन्छ कि त्यहाँ कति प्रमुख अतिथि बन्न लायक मानिस बस्छन् । हरेक साना शहरमा पनि २–४ यस्ता व्यक्ति हुन्छन्, जो प्रमुख आतिथ्य ग्रहण गर्न जुनसुकै कार्यक्रममा पनि पुगेकै हुन्छन् । प्रमुख अतिथि बन्ने, बनाउने र खादा लगाइदिने कार्यक्रमको भीड देख्दा लाग्छ म मात्रै काम न काजको मानिस रहेछु ।
कतिपय व्यक्तिहरू प्रमुख अतिथि बन्न चाहेर पनि बन्न सक्तैनन् । किनकि हरेक व्यक्तिले दौरा सुरुवाल र कोट सिलाउन सक्तैन । तर जसले सिलाउन सक्छ, उसको प्रमुख आतिथ्य चलिहाल्छ । हिजोआज दौरा सुरुवाल सांसद, मन्त्रीबाहेक कि त दुलाहाका लागि सिलाइन्छ कि त प्रमुख अतिथिका लागि । पेशेवर प्रमुख अतिथिसँग प्राय: दुई वा दुईभन्दा बढी दौरा सुरुवाल र कोट स्टकमा हुन्छन् । यदि एउटा ड्राई क्लिनमा गयो भने पनि प्रमुख आतिथि बन्न रोकिनुपर्दैन । दोस्रो पहिरिएर जान सक्छन् ।
त्यसो त प्रमुख अतिथिलाई दौरा सुरुवाल कोट धुलाइरहने समय कहाँ हुन्छ र ? त्यसैले होला प्राय: प्रमुख अतिथिहरूको दौरा सुरुवालबाट एउटा खास किसिमको गन्ध आउने गर्छ । प्रमुख आतिथ्यको गन्ध क्या ! यो प्राय: फूलका गुच्छा, माला, खादा, मदिरा र चुरोटको धुँवाको गन्धबाट बनेको हुन्छ । र, यो गन्ध लगातार आइरहन्छ ।
प्रमुख अतिथि कि त छानिन्छन् कि बनाइन्छन् । यसमा पनि सिन्डिकेट हुन्छ । आलोपालो एकले अर्कोलाई प्रमुख अतिथि बनाइरहन्छन् । तर असली प्रमुख अतिथि त न छानिन्छन् वा बनाइन्छन् । ती आफै जन्मिन्छन् । जे होस्, अहिले नेपाली समाजले प्रत्येक दिन दुई चारदेखि दुई चार सयसम्म प्रमुख अतिथि झेलिरहेका छन् । मानिसहरू मरिरहेका छन् । तर प्रमुख अतिथि जीवितै रहेर शोकसभाहरूमा प्रमुख आतिथ्य सेवा दिइरहकै छन् ।
प्रमुख अतिथि एक गम्भीर किसिमको प्राणी हुन्छ वा उसमा एउटा यो भ्रम कायम राखिरहने शक्ति हुन्छ कि ऊ गम्भीर छ । जुन कार्यक्रमको प्रमुख आतिथ्य गर्नुपर्ने हुन्छ, उसले कार्यक्रमस्थल पुग्नुभन्दा कमसेकम २–३ घण्टा अघिदेखि नै गम्भीर हुने अभ्यास शुरू गर्दिहाल्छ । कोही कोही त अघिल्लो साँझदेखि नै गम्भीर हुन थालिहाल्छन् । अघिल्लो साँझदेखि नै गम्भीर हुने व्यक्ति कार्यक्रम शुरू हुने बेलासम्म त कान्तिहीन वा बिरामीजस्तै भइसकेको हुन्छ, जुन कुरा प्रमुख अतिथि हुन पहिलो गुण हो । राम्रो प्रमुख अतिथि बन्ने मानिस एक प्रकारले बिरामी नै हुन्छ । अथवा यसो भनौं, एउटा बिरामी नै राम्रो प्रमुख अतिथि बन्न सक्छ ।
प्रमुख अतिथि प्राय: पुरुष नै हुन्छन् । त्यसैले प्रमुख अतिथि बन्ने काम एउटा पुरुषार्थ हो । पुरुषार्थ गर्ने भएपछि उसले नजानेको विषय नै हुँदैन । त्यसैले उसले सुकुमबासीलाई हटाउनेदेखि मंगलग्रहमा बस्ती बसाउनेसम्मका कुरा बक्न भ्याउँछ । अनि प्रमुख अतिथि बनेपछि अरूले केही पनि जान्दैनन् भन्ने महाज्ञान पनि पलाइहाल्छ । कहिलेकाहीँ त कार्यक्रम संयोजकले छोटो बोल्न बीचैमा चिट देखाउनुपर्छ ।
एकपटक कुनै कार्यक्रममा प्रमुख अतिथि बनिसकेपछि अर्को कार्यक्रममा त्योभन्दा तलको आतिथ्य स्वीकार गर्न गाहै्र हुन्छ । त्यसैले एउटा पेशेवर प्रमुख अतिथि कुनै सभामा तब जान्छ, जब त्यहाँ उनलाई प्रमुख अतिथिकै रूपमा बोलाइएको हुन्छ । किनकि त्यसपछि उनी दर्शक वा ताली बजाउने दीर्घामा बस्नै सक्तैनन् । कुनै पनि कार्यक्रममा उनलाई बोलाइएको छ भने उनी यो ठानेर हिँड्छन् कि उनी नै कार्यक्रमका प्रमुख अतिथि हुन् ।
अहिले नेपाली समाजले प्रत्येक दिन दुई चारदेखि दुई चार सयसम्म प्रमुख अतिथि झेलिरहेका छन् । मानिसहरू मरिरहेका छन् । तर प्रमुख अतिथि जीवितै रहेर शोकसभाहरूमा प्रमुख आतिथ्य सेवा दिइरहकै छन् ।
हरेक सभामा जबसम्म प्रमुख अतिथि र माइक फिट हुन्न, सभा कसरी शुरू हुन सक्छ र ? माइकका अगाडि एउटा प्रमुख अतिथि फिट गर्नु जरुरी नै हुन्छ । तर अहिलेको द्रुत गतिमा सबै कुरा इन्स्ट्यान्ट अर्थात् तुरुन्त चाहिने जमानामा अबको केही समयपछि स्वयं माइकवालाले नै आफ्नो प्रमुख अतिथि आफै साथै लिएर आउनेछ र मञ्चमा फिट गर्दिन्छ भन्ने अनुमान सहजै गर्न सकिन्छ ।
प्रमुख अतिथि बन्नेहरू मञ्चमा कसरी बस्छन् त ? कोही छक्क परेर, कोही अक्क न बक्कसँग, त कोही सहजभावमा । कोही दुलहीजस्तो लाज मानेर वा मुस्कुराएर त कोही हेडमास्टर जसरी अकडिएर बस्छन् । कोही चैं यसरी शिर निहुर्याएर बस्छन् कि मानौं बेहुलीको बाउ मण्डपमा बसिरहेको छ । यता दर्शकहरूको भाव यस्तो देखिन्छ कि यी प्रमुख तथा अन्य अतिथिहरूले आखिर के भनिरहेका छन्, एउटै कुरा बारम्बार किन भनिरहेका छन् र कहिलेसम्म भनिरहने होलान् ।
समयमै पुगे त शायद प्रमुख अतिथिको गरिमै रहन्न । त्यसैले कार्यक्रम हुने स्थलमा ऊनीहरू प्राय: कम्तीमा डेढ दुई घण्टा ढिलै पुग्छन् । तर आफ्ना लम्बे भाषण सक्नासाथ हतार छ भन्दै कुदिहाल्छन् । नेपाली समयलाई चरितार्थ गर्न यस्ता कार्यक्रममा बडा गजबको तारतम्य मिलाइएको हुन्छ– प्रमुख अतिथि प्राय: ढिला आउने, उनी चाँडै आए दर्शक ढिला आउने, यी दुवै चाँडो भए आयोजकले ढिला गर्ने ।
यसरी तोकिएको समयभन्दा धेरै ढिला शुरू गर्ने वा ढिलासम्म कार्यक्रम चालू गर्ने नेपाली परम्परालाई प्राय: सबैले निरन्तरता दिन्छन् । कार्यक्रमको बन्दना नै ‘आज कार्यक्रम ढिला हुन गएकोमा क्षमा चाहन्छौं’ बाट श्रीगणेश हुन्छ ।
राम्रो प्रमुख अतिथिको एउटा विशेष खुबी यो हुन्छ कि उनी अन्य वक्ताहरूभन्दा बढी क्रान्तिकारी हुन्छन् । फरक देखिनु र सुनिनु परो नि त । जस्तै, कुनै वक्ताले यतिखेर देशमा चारैतिर अन्धकार छ भन्यो भने प्रमुख अतिथिले यसमा प्रश्न उठाउँछन् र भन्छन्, ‘कहाँ छ अन्धकार ? के यस्तै हुन्छ अन्धकार ? हो यतिबेला सूर्य ढल्किसकेको छ । तर के यसैलाई अन्धकार भन्न मिल्छ ? वास्तवमा देश समाजवादको उज्यालोतर्फ बढिरहेको पो देख्छु म त । बरु अब हामीले अँधेरोलाई उज्यालो र उज्यालोलाई अँधेरो भनेर पुनर्परिभाषित गर्न ढिला भइसकेको छ । पूर्व वक्ताले अहिलेको समयलाई अँधेरो भन्नुभयो । त्यसो भए उज्यालो केलाई भन्ने ? ... आदि, आदि ।’ जे होस्, मलाई प्रमुख अतिथि बनाएर मेरा कुरा धैर्यपूर्वक सुनिदिनुभएकोमा उपस्थित सबैलाई धन्यवाद छ । कार्यक्रम धेरै ढिला शुरू भएकाले अहिले अँधेरो भइसकेको छ । त्यसैले मेरो दुई शब्द यहीँ टुंग्याउँछु ।’
प्रमुख अतिथिहरूको बौद्धिक नपुंसकता जतिसुकै सार्वजनिक भए पनि भाषण सुन्न जानेहरूको संख्या देशमा घटेको छैन । अहिले देशमा कुनै कुरा खुबै चलेको छ भने नानाथरीका दल नामक पसल वा सम्प्रदायहरूले चलाउने भाषणका कार्यक्रमहरू नै हुन् । र, कार्यक्रम भनेपछि त्यहाँ प्रमुख अतिथि अनिवार्य नै चाहिन्छ । समाजवादमा पुग्न मुख्य बाँकी काम भनेकै यस्ता कार्यक्रम, भाषण अनि प्रमुख अतिथिहरू नै हुन् भन्ने यो पंक्तिकारको ठोकुवा छ । बरु आउनोस्, देशमा नयाँ नयाँ प्रमुख अतिथिहरू तयार पारौं र सरकारको समाजवादमा छिट्टै पुग्ने लक्ष्यलाई सघाऔं ।