जब जब चाडपर्व नजिकिँदै जान्छ, तब तब हाम्रा सरकारी निकायहरू शुद्धताको अनुगमनमा निस्किइहाल्छन् । अनुगमनका यस्तो रामलीला नाटक हरेक वर्ष, हरेक शहरहरूमा मञ्चन गरिन्छन् । सरकारलाई पनि थाहा छ, यो उपभोक्ताका आँखामा छारो हाल्न गरिएको मेसो हो । उपभोक्तालाई पनि थाहा छ यो हाकिमहरूको अतिरिक्त कमाइको पासो हो । यसमा अरू धेरै कसैको गुनासो पनि छैन । गुनासो केवल सीमित यस्ता मान्छेहरूको हो, जो हरेक कुरामा शुद्धता र जवाफदेहिता खोजिरहेका हुन्छन्, जुन कुरा अहिलेको जमानामा, त्यो पनि हाम्रो देशमा सम्भवै छैन । त्यसैले यो त्यस्ता सीमित मान्छेहरूको मात्र समस्या हो, देशको, उद्योगीको, कर्मचारीतन्त्रको, राजनीतिको वा समाजको समस्या नै हैन ।
अहिलेको जमानामा तपाईंले शुद्धता खोजेर कहाँ वा कुन कुरामा पाउन सक्नुहुन्छ र भन्या ! सबैलाई थाहा छ, तपाईं बजारमा शुद्ध घिउ खोज्न जानुस्, डाल्डा वा पिँडालु मिसाएको पाउन सक्नुहुन्छ । फेरि मिसाएको डाल्डा पनि शुद्ध हुन्छ भन्ने कुनै ग्यारेन्टी त हुन्न । असला माछा त असली नहुने जमानामा मसला शुद्ध पाउने कुरै भएन । चामल, आँटादेखि कपडासम्म शुद्ध पाइन्न । अरू त अरू सुनमा समेत मिसावट बढ्न थालेको छ । देखिहाल्नु भो नि जिउँदो हुँदादेखि मरेपछि पुग्नुपर्ने पशुपतिनाथमा चढाएको सुनमा समेत पित्तल मिसाउन भ्याएछन् ! अब सुनभन्दा पित्तल पर्ने र पित्तल किन्दा सुन पर्ने जमाना आएपछि शुद्धता चाहिँ कहाँ पाउनु भन्या ? पित्तलमा सुन पर्दा जेल, सुनमा पित्तल पर्दा झेल । यस्तो तालमेलको खेल कहिले र कसरी पार्ने होला फेल ?
एउटा समय थियो रे जब देशमा शुद्ध दूध र घिउको नदी नै बहन्थ्यो रे । हो, त्यो दूधको नदी सानो थियो । तर जति बहन्थ्यो, पाउनेले शुद्ध नै पाउँथे । बीचमा विपरीत हावा लाग्न थाल्यो । बजारमा माग धान्न धौ धौ पर्न थाल्यो । अनि त के ? दूधको नदीमा पानीको नहर मिसिन थाल्यो । हुँदा हुँदा अहिले गाईभैंसीको दानामार्फत वा सीधै जहर अर्थात् मन्द विष समेत उपभोक्ताले दूधसँगै उपहार पाइरहेका छन् । त्यसपछि नेपाली अर्थशास्त्रमा यो सिद्धान्त प्रतिपादित भइसकेको छ कि मासमा पुग्नु छ भने अनिवार्य मिसावट गर, शुद्धताको सजावट गर ।
असला माछा त असली नहुने जमानामा मसला शुद्ध पाउने कुरै भएन । सुनभन्दा पित्तल पर्ने र पित्तल किन्दा सुन पर्ने जमाना आएपछि शुद्धता चाहिँ कहाँ पाउनु भन्या ? पित्तलमा सुन पर्दा जेल, सुनमा पित्तल पर्दा झेल । यस्तो तालमेलको खेल कहिले र कसरी पार्ने होला फेल ?
यसरी दूधको नदीमा पानीको मात्रा बढ्दै गयो र कालान्तरमा दूध तत्त्व (त्यसभित्र रहेको घिउ, खनिज आदि) गायब हुँदै गयो र केवल सेतो पानी मात्र बाँकी रह्यो । तैपनि उपभोक्ता कराइरहेका छन्– दूध चाहिएन, बरु शुद्ध पानी नै पाऊँ न त भनेर । तर अफसोस– शुद्ध पानी पनि कहाँ पाइन्छ र हजुर ? अब पानी नै शुद्ध नपाएपछि पानी नै पानीले भरिएको शरीर कति दिन र कसरी शुद्ध रहन सक्छ र ?
तपाईंले अलि ध्यान दिनुभयो भने थाहा पाइहाल्नुहुन्छ यहाँ केही, कोही शुद्ध छैनन् । जस्तै, कर्मचारीतन्त्रमै हेर्नुस् । अपवाद बाहेक, के त्यहाँ कुनै शुद्ध कर्मचारी तपाईंले देख्नु वा भेट्नुभएको छ र ? अझ राजनीतिमै हेरौं न । त्यहाँ त झन् शुद्ध नेता खोज्नु भनेको स्यालको सिङ खोज्नुजस्तै भएको छ । जनयुद्ध गरेर देशलाई समाजवादमा पुर्याउँछु भन्नेहरू, सभामुख, मन्त्री, प्रधानमन्त्री भैखाका मान्छेहरू त अन्तमा गएर सुनको सुरुङमा वा सर्प पाल्ने भ्वाङमा पो पुर्याउने भएछन् । त्यस्तो नहोस् पनि किन ? किनकि न दल शुद्ध छन्, न त तिनका घोषणापत्र । न तिनका दृष्टिकोण शुद्ध, न तिनीहरूले चलाउने वर्गीय संगठन शुद्ध छन् । कतै छन् भने देखाउनोस् । हो, सुन र पानी दुवै शुद्ध नभए पनि सुनपानीले दलाल, गुण्डा, भ्रष्टाचारी र तस्करलाई चोख्याउन सक्ने ल्याकत भने नेतामा चौरासी क्यारेट शुद्धता देखिन्छ ।
दलहरूका लागि प्रगति भनेको जातिवाद हो, अझ गुट, उपगुटवाद हो । उनीहरूको धर्मसंस्कृति भनेको संकीर्णता हो । समाजवाद भनेको वर्ग स्वार्थ हो । समाजसेवा भनेको नेतागिरी हो । अर्थात् देखाउने दाँत एउटा छ, चपाउने अर्कै । अनि देशमा तपाईं शुद्धताको आशा गर्ने ? यसको अर्थ के नेताहरूले यो देशको हितको विषयमा कहिल्यै चिन्तन गर्दै गर्दैनन् हो ? हैन । गर्न त गर्छन् नि । तर जब नेता चिन्तन गर्न थाल्छन्, तब त्यसमा कसरी कसरी आफ्ना दलको, अझ गुटको र अझ आफ्नो परिवारको हित चैं आफै मिसिन आउँदो रहेछ क्या !
यसको मतलब के जनता चैं सबै शुद्धै शुद्ध छन् त ? जनता शुद्ध भैद्या भे देशमा गधाहरू आफ्नै घरघरका छतमाथि पुगुन्जेल जनता के हेरेर बसिरहन्थे त ? अनि देश यति धेरै खण्ड खण्डमा, गुट उपगुटमा, सम्प्रदाय सम्प्रदायमा विभक्त भइरहुन्जेल के हेरेर बसिरहन्थे त ? अझ सामाजिक सञ्जालमा लेखिने र देखिने विचार तथा पृष्ठपोषणको भाषाको स्तरले जनता कुन हदमा शुद्ध रहेछन् भनेर देखाउँदैन र ? अर्थात् जस्ता जनता छन्, नेता पनि त्यस्तै हुने नै भए नि । हैन र ? त्यसो भए नेता अशुद्ध भएर जनता अशुद्ध भएका कि जनता अशुद्ध भएर नेता अशुद्ध भएका भनेर नसोध्नु होला । किनकि, यो त अण्डा पहिले कि कुखुरा पहिले भने जस्तो भएन र भन्या ?
त्यसैले अहिलेको जमानामा शुद्ध चिज खोज्नु नै मूर्खता हो भन्छु म त । कोही मुसुक्क हाँस्यो भने पनि त्यसमा व्यापार मिसिएको देख्छु । अब त चाहे शुद्ध घिउ, मह होस् वा शुद्ध प्रेम, अथवा शुद्ध देशभक्ति वा शुद्ध देशभक्तिको चिन्तन सबै सबै कुरामा पनि मिसावटै मिसावट देखिन्छ । पुजारी र भक्त, मन्दिर र मस्जिद सबै कता कता अशुद्ध नै अशुद्ध देखिन्छन् । धर्मग्रन्थले अहिंसा भन्छ, त्यही ग्रन्थ बोकेर मान्छे बस्तीमा बम बर्साउँछ । अनि अब मन्दिर र मस्जिदमा पनि नपाएको शुद्धता खोज्न कहाँ जाने ?
यसरी यहाँ न तन शुद्ध रह्यो, न मन शुद्ध रह्यो, न धन शुद्ध रह्यो, न त आत्मा शुद्ध रह्यो । हुँदा हुँदा अशुद्धताको विरुद्ध कारबाही गर्दै हिँड्नुपर्ने न सरकार शुद्ध रह्यो, न त्यसको विरोधमा आवाज उठाउनुपर्ने प्रतिपक्ष नै शुद्ध रह्यो । शुद्धताको वकालत गर्न खडा भएका उपभोक्ता हित समूहहरू केवल आफ्नो हित पो हेर्नेमा गए । यस्तो माहोलमा शुद्धताको कुरा गर्ने वा शुद्धताको खोजी गर्ने कोही यो देशमा छन् भने तिनलाई देशद्रोही घोषणा गरेर तुरुन्त देश निकाला गरियोस् सरकार ! यो चैं मेरो शुद्ध अनुरोध हो, यसलाई चाहिँ अशुुद्ध नपारौं है, सम्बन्धित सबैलाई हेक्का रहोस् !