काठमाडौं । केही दिनयता काठमाडौंको आकाशमा दिनहुँ चंगा उडिरहेका देखिन्छन् । बालबालिकादेखि युवासम्म चंगा उडाउन मस्त छन् अहिले । कारण हो– दशैंको आगमन । नेपालमा दशैं शुरु हुनुभन्दा केही दिनअघि चंगा उडाउने गरिएको छ । चंगा उडाउनेहरूले एकापसमा चंगा चेट प्रतियोगिता पनि गर्ने गरेको पाइन्छ ।
यद्यपि पछिल्लो समय चंगा उडाउने चलन भने घट्दै गएको जानकारहरू बताउँछन् । यही प्रचलनलाई जोगाउनका लागि उपत्यकाका कतिपय विद्यालयले दशैंको अवसरमा ‘चंगा चेट’ प्रतियोगिता पनि गर्ने गरेका छन् ।
किम्बदन्ती अनुसार असारको खेतीपछि भदौसम्म पानी पर्ने भएकाले अब पानी पुग्यो र धान पाक्ने बेला भयो भन्नका लागि इन्द्रदेवलाई चंगा उडाएर सन्देश पठाइने गरिएको हो ।
नेपालमा मात्रै होइन, अन्य देशहरूमा पनि मनोरञ्जनका लागि चंगा उडाउने गरिएको छ । चंगा उडाउनका लागि मौसम पनि अनुकूल हुनुपर्छ । घाम लागेको दिन र हावाको वेग राम्रो भएमा मात्र चंगा उडाउन सकिन्छ ।
उपत्यकाका बजारहरूमा अहिले चंगा, धागो र लट्टाई किन्नेको भीड लाग्ने गरेको छ । नेपाली बजारमा चंगा १० रुपैयाँदेखि एक हजारसम्म र लट्टाई ४० रुपैयाँदेखि तीन हजारसम्मको पाइने गरेको छ । यस्तै, १ हजार मिटरको धागोलाई यहाँ ४०० देखि १००० रुपैयाँसम्म पर्ने गरेको छ ।
नेपाली बजारमा भारतबाट चंगा भित्रिने गरेको छ । काठमाडौंमा मात्रै दशैंको सिजनमा २५ देखि ३० करोड रुपैयाँको चंगा र चंगाको सामग्रीहरू भारतबाट आयात हुने गरेको व्यापारीहरू बताउँछन् ।