कुष्माण्ड, अर्थात् शीतलदायक फलका रूपमा आयुर्वेदमा उल्लेख कुभिन्डो नेपाली जनजीवनमा धार्मिक, औषधीय, भान्साथाली एवम् मिष्ठान्न परिकारको महत्त्वपूर्ण अंगका रूपमा रहिआएको छ । सम्भवत: सबैभन्दा लामो समयसम्म सुरक्षित भण्डारण गर्न सकिने लता फलमा कुभिन्डोे रहने गरेको छ जो नेपाली अर्थतन्त्रको महत्त्वपूर्ण अंगका रूपमा समेत रहेको छ । धार्मिक, औषधीय, भान्साथाली एवम् मिष्ठान्न परिकारको बहुउपयोगी फलका रूपमा रहेको कुभिन्डोसँग जोडिएको अर्थशास्त्र आफैमा एक महत्त्वपूर्ण पक्षका रूपमा रहेको छ जसको बृहत्तर उपयोगका लागि व्यवस्थित उत्पादन, वितरण र उपभोग हुन जरुरी देखिएको छ ।
नेपालका कुल घरपरिवारमध्ये नेपालको जनगणनाको धार्मिक संयोजन र घरपरिवार सर्वेक्षणका आधारमा ५४ लाख १२ हजार २९० घरपरिवार हिन्दू रहेको एक अनुमान छ । यस आधारमा एक घरपरिवार एक कुभिन्डो देवीमा अर्पण गर्ने हो भने पनि शारदीय नवरात्रमा करीब ५४ लाख कुभिन्डो र वासन्ती नवरात्रमा ५४ लाख गरी १ करोड ८ लाख गोटा कुभिन्डो खपत हुने एक अनुमान सजिलै लगाउन सकिन्छ । एउटा कुभिन्डोको रू. १ सय बराबरको मूल्यलार्ई आधार मान्ने हो भने पनि शारदीय र वासन्ती नवरात्रमा रू. १ अर्बको कुभिन्डो खपत हुन सक्ने देखिन्छ । नवरात्र पूजनमा कुभिन्डो अर्पण अनिवार्य रहेको सन्दर्भमा विश्वका करीब २५ करोड हिन्दू परिवारमा शारदीय र वासन्ती नवरात्रमा कम्तीमा ५० करोड गोटा कुभिन्डो खपत हुने एक अनुमान लगाउन सकिन्छ । यस आधारमा हेर्दा मूल्यमा रूपान्तरण गर्दा रू. ५० अर्बको कुभिन्डो नवरात्रमा मात्र खपत हुन सक्ने देखिएको छ ।
कुभिन्डोको खपतको अर्को क्षेत्र डोसा लगायतका दक्षिण भारतीय परिकारहरू (जो अहिले पूर्वीय परिकारको आम परिकारका रूपमा प्रचलनमा रहन गएका छन्) को अनिवार्य सहपरिकार हो । नेपालमा डोसालगायत दक्षिण भारतीय परिकारहरू आमरूपमा उपलव्ध भए तापनि कुभिन्डोको परिकार चाहिँ सहपरिकारका रूपमा स्थापित हुन सकेको छैन । परन्तु ग्राहकको चाहना भने यस्ता दक्षिण भारतीय परिकारमा कुभिन्डोको माग अपरिहार्य सहपरिकारका रूपमा रहने गरेको सन्दर्भमा नेपाल पनि कुभिन्डोका लागि अर्को सबैभन्दा महत्त्वपूर्ण बजारका रूपमा रहेको छ ।
कुभिन्डोबाट विभिन्न स्वादका मीठा परिकारहरू तयार गर्ने गरिन्छ । नेपालमा भारतबाट कुभिन्डोका पेडालगायत विभिन्न मीठा परिकारहरू आयात हुने गरेको सन्दर्भमा नेपालमा पनि कुपिण्डाका विभिन्न मिठा परिकारहरू बनाउन सकिने सम्भावनाहरू विद्यमान छन् ।
समाजमा विषादीरहित तरकारीको मागमा वृद्धि हुँदै गएको सन्दर्भ विषादीको प्रयोग नै गर्नु नपर्ने र तमाम औषधीय गुणहरूसमेत विद्यमान रहेको कुभिन्डो माग तरकारीका रूपमा भान्साकोठामा पनि भविष्यमा बढ्ने सम्भावना अधिक रहेको छ ।
कुभिन्डोबाट विभिन्न स्वादका मीठा परिकारहरू तयार गर्ने गरिन्छ । नेपालमा भारतबाट कुभिन्डोका पेडालगायत विभिन्न मीठा परिकारहरू आयात हुने गरेको सन्दर्भमा नेपालमा पनि कुभिण्डाका विभिन्न मीठा परिकारहरू बनाउन सकिने सम्भावनाहरू विद्यमान छन् ।
उपर्युक्त सम्भावना हुँदाहुँदै नेपालमा कुभिन्डोको व्यावसायिक उत्पादन भने हुन सकेको छैन । कृषि तथा पशुपक्षी विकास मन्त्रालयको तथ्यांकअनुसार नेपालमा ७१४ हेक्टर क्षेत्रफलमा ९ हजार ८ सय २७ मेट्रिक टन (मेट) कुभिन्डो उत्पादन भएको देखिन्छ । उत्पादकत्वका दृष्टिबाट हेर्दा नेपालमा प्रतिहेक्टर १७ दशमलव ७६ मेट कुभिन्डो उत्पादन हुने गर्छ । प्रतिव्यक्ति खपतका रूपमा हेर्दा २०७८ को जनगणना र २०७८/७९ को कृषि तथ्यांकका आधारमा गणित गरी हेर्दा नेपालमा प्रतिव्यक्ति कुभिन्डो खपत ३३७ ग्राम रहेको देखिन्छ ।
शहरीकरण, विदेश बसाइँसराइले कुभिन्डोको उपलब्धता हिजो जसरी घरमा कम्तीमा एउटा कुभिन्डो रोप्ने र खपत हुने प्रवृत्तिमा परिवर्तन देखिएको छ । नवरात्रको सात्विकीकरण एवम् पशुबलिप्रति उदासीनताका कारण दुवै नवरात्रमा कुभिन्डोको बलि दिने अभ्यासको पुनरावृत्ति हुने संकेतहरू देखापरेका छन् ।
उपर्युक्त पक्षलाई दृष्टिगत गर्दै नेपालमा पनि कुभिन्डो खेतीको व्यवसायीकरण गर्नुपर्ने आवश्यकता देखिएको छ । पश्चिमी गोलाद्र्धमा कुभिन्डोप्रति आकर्षण बढ्दै गएको सन्दर्भ र पश्चिमले अनुमोदन गरिसकेपछि मात्र महत्त्व बुझ्ने पूर्वीय प्रवृत्तिका माझ भविष्यमा कुभिन्डोको खपतमा वृद्धि हुने सहज अनुमान लगाउन सकिन्छ ।
उपर्युक्त पक्षलाई दृष्टिगत गर्दै नेपालमा पनि कुभिन्डो खेतीको व्यवसायीकरण गर्नुपर्ने आवश्यकता देखिएको छ । कुभिन्डोको उत्पादन र खपतबीच अन्तरसम्बन्ध स्थापित गर्नु, खपतमा वृद्धि गर्नु, कुभिन्डोका परिकारहरूको विविधीकरण गर्नु, कुभिन्डोको उत्पादनमा बृहत् खेती (विग फार्म) को अवधारणामा यसको एउटै फार्म हाउसबाट कम्तीमा नेपाललाई पुग्ने गरी कुभिन्डो उत्पादन तथा कुभिन्डो क्षेत्रलाई उद्योगका रूपमा विकास गरी क्षितिजीय र ऊध्र्व योजन गर्नु कुभिन्डो खेतीको व्यवसायीकरणका केही उदाहरण हुन् ।
केरला विश्वविद्यालयको एग्री इन्फोटक पोर्टलको एक अध्ययन अुनसार कुभिन्डोको प्रति फल तौल ४ दशमलव ८२ केजी रहेको छ । यसअनुसार नेपालमा आर्थिक वर्ष २०७८/७९ मा करीब २० लाख गोटा कुभिन्डो फलेको देखिन्छ । एक हिन्दू परिवार एक कुभिन्डो बलि दिने परिकल्पनालाई आधार मान्ने अवस्थामा शारदीय र वासन्ती नवरात्रमा मात्र करीब ८८ लाख कुभिन्डो अपुग रहेको सजिलै अनुमान लगाउन सकिन्छ । यस अनुसार ४२ हजार ४ सय १६ मेट बराबरको कुभिन्डो बलि प्रयोजनका लागि मात्र नेपालमा न्यून उत्पादन रहेको पाइन्छ । यी आँकडामा ३ हजार ८२ हेक्टर क्षेत्रफलमा थप कुभिन्डो खेती हुन आवश्यक देखिन्छ । नेपाली आम बुझाइको भाषामा भन्नु पर्दा
करीब ४ हजार ६ सय २३ बिगाहा अर्थात् करीब ६० हजार ९५ रोपनी क्षेत्रफलमा थप कुभिन्डो खेती गर्नुपर्ने देखिन्छ ।
शारदीय र वासन्ती नवरात्रमा कुभिन्डोको बलिको पूर्ण उपयोग र अभ्यासलाई कुभिन्डोको उत्पादनसँग मात्र एकाकार गर्न सकेको खण्डमा यसले कुभिन्डोको खेतीमा नयाँ क्रान्ति ल्याउन सक्ने देखिन्छ । करीब ६० हजार रोपनी बराबरको कुभिन्डोको फार्म हाउस, कुभिन्डो खेतीभित्र हुने मिश्रित खेतीको अर्थशास्त्र, यस्तो कुभिन्डो फार्म हाउसमा सृजना हुने रोजगारी र उत्पादनदेखि उपभोगसम्मको वितरण प्रक्रियामा हुने आर्थिक गतिविधिहरू र यससँग गाँसिएको धार्मिक उत्साहबाट उपलब्ध ऊर्जाबीच यसले नेपालको समग्र अर्थतन्त्रलाई नै ठोस योगदान दिन सक्ने सम्भावना रहेको छ ।
कुभिन्डोको बृहत् खेती (फार्म हाउस) को अवधारणामा जान स्थानीय निकायहरूको समन्वयमा पहाडी भूभागमा जमीन बाँझो रहेको क्षेत्रको पहिचान गरी माटोको परीक्षणसमेत गरी करीब ६० हजार रोपनी बराबरको कुभिन्डो पकेट क्षेत्रको घोषणा हुन जरुरी छ । कुभिन्डोको उत्पादन, भण्डारण, परीक्षण, लेबलिङ, प्याकेजिङ, प्रशोधन र कुभिन्डोका विविध परिकारहरूसमेत उत्पादन गर्ने गरी पृष्ठ र अग्रयोजन र ऊध्र्वयोजनसहित कुभिन्डो फार्म हाउसको स्थापना हुन जरुरी छ । यस्तो जग्गा प्राप्तिमा स्थानीय निकायको सहयोग र समन्वय, स्थानीय लगानीकर्ताको सहभागिता र स्वदेशमा कृषिक्षेत्रमा लगानीको अनुभव भएका ठूला लगानीकर्तालाई लगानीको प्रत्याभूतिसहित सहुलियतदरमा दीर्घकालीन ऋण व्यवस्थापन र जग्गामा हदबन्दी र त्यससँग जोडिएका व्यवसायमा व्यवधान खडा गर्ने कानूनमा संशोधन गर्न सकेको खण्डमा नेपालमा कुभिन्डोको आम प्रयोग र धार्मिक प्रयोगमा व्यापक वृद्धि हुने र कुभिन्डोका विभिन्न खालका परिकारहरू स्वदेशमा नै उत्पादन भई देशमा कुभिन्डोकृत आफ्नै सुचक्र स्थापित हुने देखिन्छ ।
यसका लागि कुभिन्डो फार्म हाउसको अवधारणाका बारेमा प्राज्ञिक प्रयास अर्थात् अर्थशास्त्रीय दृष्टिकोणबाट यसको पुस्ट्याइँ गर्न संगठित र व्यवस्थित अध्ययनसहित परियोजना तयार गर्नुपर्छ । कुभिन्डोको दोहन हुन नसकेको सम्भाव्यतालाई पूर्णरूपमा उपयोग गर्ने, सम्भानाका नयाँ क्षेत्रहरू पहिचान गर्ने र उत्पादक र उपभोक्ताहरूबीच भावनात्मक र व्यावहारिक सम्बन्ध स्थापित गरी कुभिन्डोलाई नेपालको तरकारी र फल खपतको मूलधारको उत्पादनका रूपमा स्थापित गर्नु आजको आवश्यकता हो ।
विशेष कुभिन्डो फार्म हाउस र उपभोक्ताबीच कुभिन्डो एपमार्फत स्थायी सम्बन्ध स्थापित गरी इकमर्शको माध्यमबाट आपूर्तिको व्यवस्था गर्न सकेको खण्डमा कुभिन्डो क्षेत्रमा दोहन हुन नसकेको सम्भाव्यतालाई पूर्णरूपमा उपयोग गर्न सकिने, सम्भावनाका नयाँ क्षेत्रहरू पहिचान हुन सक्ने, उत्पादक र उपभोक्ताहरूबीच भावनात्मक र व्यावहारिक सम्बन्ध स्थापित हुने र कुभिन्डोको विशाल बजारमा विषादीरहित विशुद्ध नेपाली जातको बीज, वातावरण र क्षेत्रमा उत्पादित कुभिन्डोको उपस्थिति बढ्ने देखिन्छ । हिमालयन कुभिन्डोको ब्रान्डमा यसलाई स्थापित गर्न सकेको खण्डमा नेपालका कृषिजन्य उत्पादनमा कुभिन्डोे एक महत्त्वपूर्ण आर्थिक पाटोका रूपमा स्थापित हुने निश्चित छ । कुभिन्डोको धार्मिक र औषधीय महत्त्वलाई समाजमा स्थापित गर्दै यसमा अन्तरनिहित आर्थिक पक्षलाई बजारशास्त्रको परिभाषा र मान्यताअनुसार ढाल्दै अघि बढ्न सकेको खण्डमा कुभिन्डो नेपालको आर्थिक कायापलटको महत्त्वपूर्ण तत्त्व बन्न सक्ने निश्चित छ । यसरी यति धेरै विशाल सम्भावना बोकेको कुभिन्डो क्षेत्रको विकास गर्न नेपाल सरकारबाट संरक्षणात्मक, प्रवर्द्धनात्मक तथा उत्प्रेरणात्मक उपायहरू अपनाउँदै बृहत् कुभिन्डो फार्म हाउस स्थापना गर्ने दिशामा अभिभावकीय भूमिकामा प्रस्तुत हुन पनि त्यत्तिकै जरुरी छ । यस कार्यमा कृषि विश्वविद्यालय र वनस्पति शास्त्र अध्ययन विभागलाई समेत परिचालन गरी कुभिन्डो क्षेत्रलाई अझ वैज्ञानिक र व्यावसायिक रूपमा विकास गर्न सकिने सम्भावना रहेको छ । कुभिन्डोका हाइब्रिड र नश्ल सुधार गरिएका जातहरूको बजारमा प्रवेश बढ्दै गएको र यसको गुणस्तरमा विभिन्न प्रश्नहरू खडा भइरहेको सन्दर्भमा माथि उल्लेख गरेझैं विशुद्ध रैथाने जातका नेपाली कुभिन्डोलाई विश्व कुभिन्डो बजारमा स्थापित गर्ने र बजार प्रवर्द्धन गर्ने रणनीति अंगीकार गर्ने हो भने नेपाल कुभिन्डो उत्पादनमा विश्वकै हब बन्ने निश्चित छ । यसरी धार्मिक महत्त्वका वस्तुहरूमा अन्तरनिहित औषधीय र पोषणीय गुणहरूको सर्वसाधारणीकरण गरी यसबाट समग्र समाजमा आर्थिक गतिविधिहरू व्यवस्थित रूपमा अघि बढाउँदै समाजको बृहत्तर हित गर्न सकिन्छ । धर्म र अर्थ दुवैको रक्षा हुने यस मोडलको उपयुक्त उदाहरण कुभिन्डो हो । समाजले कुभिन्डोलाई मान्यता दिँदा कुभिन्डोले समाजलाई समृद्ध बनाउन सक्ने क्षमता राख्छ ।
धर्म एव हतो हन्ति धर्मो रक्षति रक्षित: ।
तस्माद् धर्मं न त्यजामि मा नो धर्मो हतोऽवधीत् ।।
को मर्म पनि यही हो । हरेक दृष्टि आर्थिक कोण भन्ने अभियान राष्ट्रिय दैनिकको दर्शनको मान्यता पनि यही हो । माता दुर्गा भवानीले सबै हिन्दू धर्मावलम्बीहरूमा यसरी सोच्ने क्षमता प्रदान गरून् । धर्मशास्त्र र अर्थशास्त्रको संगम सृजना गर्दै अघि बढ्दा व्यक्ति, समाज र धर्म सबैका अभ्युदय हुने उदाहरण कुभिन्डोमा अन्तरनिहित धर्मशास्त्र र अर्थशास्त्रले स्पष्ट गरेको छ ।
लेखक व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रका वरिष्ठ अधिकृत हुन् ।