काठमाडौं । सरकारले दशैंका लागि खसीबोका र च्यांग्राको विक्री थालेको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनीले आज (मंगलवार)देखि सहुलियत दरमा खसीबोका र च्यांग्राको विक्री शुरु गरेको हो ।
विक्री शुरु भएसँगै कम्पनीको थापाथलीस्थित प्रादेशिक कार्यालयमा ग्राहकको घुइँचो लागेको छ । विक्री थालिएको पहिलो दिन ग्राहकले रोजीरोजी खसीबोका र च्यांग्रा किनेका छन् ।
कम्पनीले जिउँदो खसीबोकाको मूल्य छूटसहित प्रतिकेजी ६७० रुपैयाँ र जिउँदो च्यांग्राको मूल्य छूटसहित प्रतिकेजी १ हजार २५० रुपैयाँ तोकेको छ । खसीबोका र च्यांग्रामा प्रतिकेजी १० रुपैयाँ छूट दिइएको कम्पनीले जनाएको छ ।
कम्पनीले दशैंका लागि देशका विभिन्न स्थानबाट १ हजार च्याङ्ग्रा र २ हजार खसीबोका काठमाडौं भित्र्याएको हो । अन्य समयभन्दा दशैंमा काठमाडौंमा खसीबोका र च्यांग्राको माग उच्च हुने गरेको छ ।