काठमाडौं । नेवार समुदायको पर्व पचली भैरव जात्रामा चार दशकपछि यस वर्ष यःसि (लिंगो) ठड्याइएको छ । जात्राका क्रममा काठमाडौंको टेकुस्थित पचली भैरव मन्दिर परिसरमा बुधवार बिहान ८ः३० बजेको शुभसाइतमा श्री पचली आजु यःसिं गुथि (रञ्जितकार गुथि) का सदस्यहरूसहित स्थानीयले यःसि ठड्याएका हुन्।
विगतका वर्षहरूमा आर्थिकलगायत कारणले जात्रामा यःसि ठड्याउन सकिएको थिएन । यस वर्ष गुठियारहरूको सक्रियता देखाएपछि जात्रामा यःसिं पुनःस्थापित भएको हो ।
जानकारहरूका अनुसार दशैं आउन लागेको जानकारी दिन जात्रामा लिंगो ठड्याउने परम्परा छ ।
जात्राका लागि साँखु माथिको जङ्गलबाट ३२ हाते लिङ्गोका लागि रुख काटेर ल्याइएको गुठियारहरुले जानकारी दिए ।
आश्विन शुक्ल चौथीका दिन लिंगो उठाएपछि टेकुबाट जात्रा शुरु हुन्छ । उक्त जात्रा ब्रह्मटोल, ज्याबहाल, जैसीदेवल, लगन हुँदै हनुमानढोका दरबार क्षेत्रसम्म हुने गरेको छ । अष्टमीका दिन लिंगो ढालिएपछि जात्रा सकिन्छ।
मल्लकालमा राजा जयराम मल्लले यो जात्राको शुरूआत गरेको विश्वास छ । श्री पचली भैरव आजु यो सिं गुठीले यो जात्राको व्यवस्थापन गर्दै आएको छ ।
यस वर्ष जात्रा व्यवस्थापन समितिले जात्रा सम्बन्धित फोटो प्रदर्शनीको पनि आयोजना गरेको छ ।