‘दशैं आयो, खाऊँला पिऊँला, कहाँ पाउँला, चोरी ल्याउँला’ भन्थे । तर यसपालाको दशैं बजारमा बजारको रौनक छैन । किनकि मानिसहरूको हातमा पैसा छैन । हो, कसै कसैसँग चिनी किन्ने पनि पैसा त छ । तर बजारमा चिनी नै छैन । बजारमा खसी, बोका लगायत अरू थुप्रै सामान त छन्, तर मानिसहरूसँग पैसा नै छैन । पैसा हुनेसँग रहर छैन, किनकि तिनका छोराछोरी विदेशतिर छन् । तर बजार त बजार नै हो । मानिसहरू आइरहेका छन्, गैरहेका छन् । गाडी, मोटरसाइकल खडा छन् । तर सबैले भनिरहेका छन्, ‘बजार सुस्त छ ।’
पसलेहरू पनि सुस्त छन् । भलै पसलेहरू आआफ्नो ठाउँमा उछलकुद गरि नै रहेका छन् । तर सामान कट्दैन । सामान कटोस् पनि कसरी ? सामान किन्नेहरू कि त मुग्लिन कटिसके, कि मुग्लान, हिँडेर, गुडेर वा उडेर ।
व्यापार कस्तो छ भनेर कसैले सोध्यो भने पसले साहुजी घाटे वैद्यले झैं फ्याट्ट जवाफ दिन्छन्, ‘अलिअलि चलिराछ ।’ अर्थात् व्यापारको मुटुको धड्कन बाँकी नै छ, मरिसकेको छैन । तर मर्ने तरखरमा छ । व्यापार रफ्तारमा चल्नुपथ्र्यो, अर्थात् दौडनुपथ्र्यो । तर अहिले दौड प्रतियोगिता चलिरहेको छैन । अहिले त प्रौढ प्रतियोगिता पो चलिराछ ।
देश नै प्रौढले मात्रै चलाउने भएपछि कहाँ दौडन सक्छ त ? प्रौढको चल्ने भनेकै थुतुनो हो । हातगोडा त लर्बराइहाल्छ । अर्थात् चालमा सुस्ती छ । मन्दी छ । यो मन्दी भन्ने चीज पनि अचम्मको जन्तु छ, कहाँ कहाँबाट आउँछ आउँछ । वास्तवमा व्यापारलाई दौडिनका लागि बाटो बनाइदिनुपर्ने जन्तुहरू उग्राएर बसेका कारण व्यापार दौडिन सकेन । मन्दी कसरी हट्छ त अब ? जब बजारमा पैसा आउँछ । पैसा कहाँ गाथ्यो र आउनलाई ? त्यो त अर्थमन्त्री र गभर्नरलाई सोध्नुपर्छ, सरकारलाई सोध्नुपर्छ ।
बजारमा चिनी, दाल लगायतका वस्तुको माग बढिरहेको छ । त्यसैले यसको भाउ पनि बढिरहेको छ । यो ‘माग’ र ‘भाउ’को सम्बन्ध पनि बाँदर र खम्बाको जस्तो पो देखिन्छ । बाँदरले खम्बा पायो कि उक्लिहाल्ने भने जस्तै कुनै चीज बजारमा अभाव छ भन्ने बित्तिकै त्यसको भाउ पनि स्वाट्टै माथि उक्लिहाल्ने ।
भनिन्छ– बजारमा चिनी, दाल लगायतका वस्तुको माग बढिरहेको छ । त्यसैले यसको भाउ पनि बढिरहेको छ । यो ‘माग’ र ‘भाउ’को सम्बन्ध पनि बाँदर र खम्बाको जस्तो पो देखिन्छ । बाँदरले खम्बा पायो कि उक्लिहाल्ने भने जस्तै कुनै चीज बजारमा अभाव छ भन्ने बित्तिकै त्यसको भाउ पनि स्वाट्टै माथि उक्लिहाल्ने । वास्तवमा अभावमा त अभाव पो बढ्नुपर्ने थियो, यो भाउ(व) चैं किन बढ्नुपर्ने हो, मैले बुझ्या छैन ।
तर यो भाउको प्रभाव यस्तो देखिन्छ कि जब भाउ चढ्छ, ग्राहकहरू पसल पसलबाट तल ओर्लन्छन् । जब भाउ उकालो लाग्छ, तब आकाश नै छुन खोज्छ, मानिसहरू पनि भाउलाई हेर्न मन लागे आकाशतिर हेरे हुने हो । तर उनीहरू चिन्तित हुँदै सरकारतिर पो हेर्छन् । सरकार पनि के कम ?
सर्वसाधारण चिन्तित भएको देखेर सरकार पनि चिन्तित हुन शुरू गर्छ । मान्छे चिन्तित हुँदा त थाहा पाइन्छ । तर सरकार चिन्तित कसरी हुन्छ मैले देख्या छैन । तपाईंले सरकारलाई चिन्तित भा देख्नु भा छ र ? सरकार चिन्तित भो भने के गर्छ हँ ? टाउकोमा हात राख्छ कि पेटमा ? कि सरकार पीरैपीरले नीलोकालो हुन्छ ? शायद सरकार चिन्ताले कालो हुँदै गर्दा सामानहरू पनि कालो बजारमा पुग्ने रहेछन् ।
तर यो कालो बजार भनेको चैं कस्तो हुन्छ, यो पनि मलाई अलि ज्ञान भएन । किनकि बजार कालो भने पनि त्यहाँ चारैतिर उज्यालो नै उज्यालो देखिन्छ । कालो धन भन्छन् । तर मैले चाहिँ सबैको धन वा पैसा चम्किलो नै देखिरहन्छु । कि मेरा आँखा बिग्रिए ? पैसा त पैसा हुन्छ, त्यसलाई कालो किन भनेको होला ? अनि कोही खैरो धन र सेतो धन पनि भन्छन् । धन भनेको धन मात्रै होइन र भन्या ? यसको पनि जात र रङ हुन्छ र ? धन बोल्दा सत्य चुप रहन्छ भन्छन् । त्यसो भए सत्य खोज्न काहाँ जाने त ?
कतिपय शब्दहरूको अर्थ बुझ्न नसकेर म कहिलेकाहीँ रनभुल्लमा पर्छु । जस्तै, हिजोआज धेरै व्यापारीलाई टाट पल्ट्यो भन्छन् । यो भन्या के हो ? व्यापारीको पसल वा गोदाममा बिछ्याइएको टाट उल्ट्यो भन्या हो वा के हो ? हैन यदि व्यापारमा धेरै घाटा लागेर बर्बाद भयो भन्न खोजेको हो भने व्यापारिक नेताहरूबाहेक अरू व्यापारीले आफू टाट पल्टेको स्वीकारै गर्दैनन्, बरु आत्महत्या गर्छन् ।
हो, व्यापारमा घाटा सहन नसकेर व्यापारीले आत्महत्या गरिरहेका छन् भन्ने हिजोआज खुब सुनिन थालेको छ । यो झन् नबुझिने कुरा भयो । एक त आत्मा अमर छ भनिन्छ । अमर आत्माको हत्या गर्न कसरी सकिन्छ र ? ल आत्महत्या भने पनि खासमा त्यो हत्या नै हो भने त्यसको छानबिन किन भइरहेको छैन ? देशमा कसैले कसैको हत्या गरेको छ भने प्रहरीले किन केही गरिरहेको छैन ? सरकारले किन केही गरिरहेको छैन भन्ने प्रश्न उठ्छ ।
प्रश्नहरू पनि उठेर के गर्नु ? प्रश्नहरू त देशमा कति उठेका छन् छन् । भुटानी शरणार्थी, सुन काण्ड, ललिता निवास जग्गा प्रकरण, कालापानी लगायत विषयमा हजारौं प्रश्नहहरू उठि नै रहेका छन् । ती सुतेका छैनन् । तर यसको उत्तर दिन सक्ने महापुरुष यो देशमा अहिलेसम्म जन्मिसकेको देखिँदैन ।
यसरी यत्रा यत्रा विषयहरू हुँदा हुँदै जाबो भाउ बढ्ने र घट्नेजस्ता प्रश्नहरूको उत्तर खोजेर कहाँ पाइन्छ त ? बरु आउनोस् विना ढेवा, विना चिनी र विना उत्तर लगायत थुप्रै अभावहरूका बीच पनि दशैं चैं भव्य रूपमा मनाउनुपर्छ है !
बडा दशैं २०८० को हार्दिक मंगलमय शुभकामना !