काठमाडौं । नवरात्रिअन्तर्गत महानवमी पर्व आज हर्षोल्लासका साथ दुर्गा भवानीको पूजा आराधना गरी बलि दिएर मनाइँदैछ ।
आश्विन शुक्ल प्रतिपदाका दिन वैदिक विधिपूर्वक माता नवदुर्गा भवानीको आवाहन गरी घटस्थापना गरिएको जलपूर्ण कलशमा नवमी अर्थात् नवरात्रिको अन्तिम दिन विशेष श्रद्धाभक्तिपूर्वक पूजाअर्चना गरिन्छ। महानवमीका दिनमा गरिने दुर्गा पूजालगायतका कार्य गरी जमरा विभिन्न शक्तिपीठमा लगी चढाइन्छ ।
दशैंघर र कोतलगायत विभिन्न देवी मन्दिर र शक्तिपीठमा बलि दिइन्छ। नवमीका दिन पशुपन्छी बलि दिने प्रचलन छ । हनुमानढोका दरबार क्षेत्रमा रहेको वर्षमा एकपटक महानवमीका दिन मात्र खुला गरिने तलेजु भवानीको मन्दिरमा बिहानैदेखि भक्तजनहरूको भीड लागेको छ ।
तलेजु भवानी मन्दिर वर्षमा एक दिन महानवमीको दिन मात्र खुला हुन्छ । असन, भेडासिं, बसन्तपुर बजारमा बलिका लागि कुखुरा, हाँस, कालिज पनि विक्री गर्न राखिएको छ । कोहीले भाकल पूरा गर्न जटा नरिवल पनि फुटाउँछन् । हनुमानढोका दरबारका साथै नेपाली सेनाका ब्यारेक र गुल्महरूमा बाजागाजासहित जङ्गी निशाना पूजा र कोतपूजा गर्ने प्रचलन छ । महानवमीका दिन सर्वसाधारणहरूले आ–आफ्ना सवारीसाधनको पूजा पनि गरिएको छ ।