ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

मन्त्री नै मन्त्री

२०८० कात्तिक, १७  
तीतो मीठो
Aarthik Abhiyan 18th Anniversary
author avatar मदन लम्साल

सबै विदेश गए, देशै रित्तियो, गाउँ नै सिध्यियो भनेर हल्लाखल्ला छ । तर दशैंमा गाउँ गाको, के रित्तिन्थ्यो, गाउँ गाउँमा चहलपहल पो देखियो त । गाईबाख्रा कुद्ने डाँडाकाँडामा गाडीहरू धुलो र धुँवा उडाउँदै कुदेका देखिए । तीमध्ये धेरै त झण्डावाला मन्त्रीहरूका र तिनको अघिपछि लाग्ने डन्डावालाका कार नै धेरै थिए । आम्मामा, मन्त्री त कति कति ।

दशैंको टीकामा मान्यजनले दिने आशिर्वाद भने अलि फेरिँदै गएको सुनिन्थ्यो, ‘आयु द्रोणसुतेका सट्टामा कि त ‘छिट्टै विदेश जाने चाँजापाँजो मिलोस्’ भन्ने थियो भने धेरैले ‘छिट्टै मन्त्री बन्नू’ भन्ने आशिर्वाद दिइरहेका देखिन्थे । प्रदेशहरूमा बेरोजगारहरू पनि सजिलै मन्त्री बनेका अनुभवका कारण यो नयाँ आशिर्वाद प्रादुर्भाव भएका हुनुपर्छ ।

हो, गणतन्त्र आएपछि सबै वस्तुमा परनिर्भर भए पनि हाम्रो देश मन्त्रीहरूमा भने आत्मनिर्भर छ । कति धेरै मन्त्रीहरू छन् देशैभरि । प्रदेशका र केन्द्रका नयाँ मन्त्री, वर्तमान मन्त्री, भूपू मन्त्री । देशैभरिका सडकमा फोहोर छरिएसरी मन्त्रीहरू छरिएका छन् । सरकारको त्रिपाल मन्त्री नामक यै हिँडडुल गर्ने बाँसका खम्बाहरूमा त टिकेको छ । बाँसहरू हल्लिरहन्छन्, सरकार चलिरहन्छन् । हामी हाम्रो जीवनमा कति मन्त्रीहरू देख्छौं ? यो देशमा धेरै कुर्सीहरू छन् र धेरै मानिसहरू छन् । तर जब केही खास कुर्सीहरूमा केही खास मान्छेहरू बस्छन् त ती मन्त्री बन्छन् ।

कतिपय मानिसहरू मन्त्री हुनुलाई आफ्नो जीवनको प्रमुख लक्ष्य मान्छन् । जन्मिए, मन्त्री बने र मरेर गए । केही मानिस देशका लागि मन्त्री बन्छन् । केही पार्टीका लागि त केही साथीका लागि । तर धेरै आफ्नै लागि । तर धेरै मानिसहरू गिलासका लागि वा विलासका लागि मन्त्री बन्छन् ।

तपाईं एउटा मान्छेको हाउभाउ, हिँडाइ, लवाइ, खवाइ, चालढाल देखेर टाढैबाट भन्न सक्नुहुन्छ कि ‘ऊ मन्त्री आइराको छ’ भनेर । किनकि मन्त्री बन्नका लागि सबै कुरा आवश्यक हुन्छ, तर योग्यता वा दक्षता भने आवश्यक हुन्न । मूर्ख मान्छे एकदम राम्रो मन्त्री बन्न सक्छन् । त्यसैले मूर्खहरू नै लामो समयसम्म मन्त्रीमा टिकिरहन सक्छन् । मन्त्री बन्दै बन्दै कतिपय मौकामा मुख्यमन्त्री वा प्रधानमन्त्री नै बन्न भ्याउँछन् । तपाईंहरूमध्ये कोही मूर्ख हुनुहुन्छ भने मन्त्री बन्न कोसिस गर्न सक्नुहुन्छ । यदि पटमूर्ख हुनुहुन्छ भने त छिट्टै नै बन्नुहुन्छ । बुद्धिमान् मानिस यही कारण नै शायद राजनीतिमा आउँदैनन् । उनीहरूलाई डर हुन्छ कि कतै कुनै दिन उनी मन्त्री नबनाइयुन् । फेरि मूर्ख मानिसहरू मन्त्री बनेनन् भने कहाँ जान्छन्, के गर्छन् बिचरा ? त्यै भएर त हामीहरू मूर्खहरूलाई सांसद चुन्छौं र पछि उनीहरू मन्त्री बन्छन् । यदि मूर्ख भएर पनि तपाईं मन्त्री बन्न सक्नुभएन भने मन्त्री भएपछि पक्कै मूर्ख बन्नुहुन्छ । त्यसैले त मन्त्री भएपछि कार्यक्रमहरूमा गएर उनीहरूले के के बोल्छन्, उनीहरूलाई नै थाहा हुन्न ।

गणतन्त्र आएपछि सबै वस्तुमा परनिर्भर भए पनि हाम्रो देश मन्त्रीहरूमा भने आत्मनिर्भर छ । कति धेरै मन्त्रीहरू छन् देशैभरि । प्रदेशका र केन्द्रका नयाँ मन्त्री, वर्तमान मन्त्री, भूपू मन्त्री । देशैभरिका सडकमा फोहोर छरिएसरी मन्त्रीहरू छरिएका छन् ।

मलाई के लाग्थ्यो भने केन्द्रमा मात्र केवल एउटा सरकार भएकाले सबैभन्दा धेरै मूर्ख मन्त्रीहरू हामीकहाँ छन् । तर जब मैले सबै प्रदेश घुम्ने मौका पाएँ, तब मेरो घमण्ड चकनाचुर भयो । किनकि केन्द्रमा भन्दा एकसे एक महामूर्खहरू प्रदेशमा पनि रहेछन् । वास्तवमा स्थानीय तहका टाउकेहरूलाई पनि मन्त्री भनिदिएको भए गज्जप हुन्थ्यो । किनकि, आखिरमा तिनका हाउभाऊ र तुजुक पनि कुनै मन्त्रीका जस्तै त छन् । र ती पनि एक से एक प्रदेशका मन्त्रीहरूभन्दा कम मूर्ख त छैनन् !

तपाईंलाई थाहै छ मूर्खता दुई किसिमको हुन्छ । एउटा जुन प्रकट हुन्छ, दोस्रो जो प्रकट हुँदैन । मन्त्री जसै काम गर्न शुरू गर्छन्, तब मूर्खता प्रकट हुन शुरू हुन्छ । यसैले त हाम्रो देशमा मन्त्रीहरू कामै गर्दैनन् र त उनीहरू बाहिरबाट बुद्धिमान् देखिन्छन् ।

प्रत्येक मन्त्री अलग अलग ढाँचाका हुन्छन् । कुनै मन्त्रीहरू प्राय: यात्रा गरिरहन्छन् । वहाँबाट यहाँ, यहाँबाट वहाँ गरिरहन्छन् । कतिपय मन्त्रीहरू हरेक प्रकारका कार्यक्रममा भाग लिन पुगिरहन्छन् । विवाह, शवयात्रा, उद्घाटन, सेमिनार, विदेश यात्रा आदिमा उनीहरू जहाँ कहीँ भेटिन्छन् । कुनै मन्त्री बडो स्टन्टबाज हुन्छन् । नयाँ नयाँ फन्डा देखाइरहनुलाई आफ्नो धर्म र कर्म नै ठान्छन् । मन्त्रीहरू कुनै फाइल अघि बढाउँछन्, कुनै बढाउँदैनन् । कुनै कुनै फाइल अघि बढाउँछु भनेर पनि अघि बढाउँदैनन् । उनीहरू जहाँ गए पनि भ्रष्टाचार निर्मूल पार्छु भनेर भाषण गर्छन् । तर प्राय:ले आफै अग्रसर भएर भ्रष्टाचार गर्छन् भने कतिले चैं श्रीमती, छोराछोरी, सालासाली, भान्जाभान्जी वा बिचौलिया आदिमार्फत गर्छन् । यो उनीहरूको आवश्यकता नभई बाध्यता हो । किनकि यो देशमा कति धेरै बेरोजगारी फैलिएको छ । यी बेराजगारहरूमध्ये एउटा ठूलो संख्या मन्त्री पदमा रोजगार हुन पाएका छन् । अझ तीमार्फत तिनका पीए, प्रेस सल्लाहकार आदिले पनि जागीरमा झुन्डिन पाएका छन् । त्यसैले, जब मन्त्रीमण्डल नयाँ बन्छ वा विस्तार हुन्छ, मलाई असाध्यै खुशी लाग्छ । ल, केही थपले रोजगारी पाए भनेर ।

६–८ महीना वा वर्ष दिन मन्त्री बन्न पाएपछि एउटा मन्त्रीले जिन्दगीभरिका लागि आम्दानीको जोहो गर्छ । मन्त्री पदबाट हटेपछि एउटा मन्त्री कुनै पनि काममा काम लाग्ने रहँदैन । त्यसो त मन्त्री पदमा हुँदा पनि ऊ कुनै काम लाग्ने त हुँदैन नै ।

खैर, अहिलेलाई भने हाम्रो देशका मन्त्रीहरूका संख्या र यिनीहरूका कारनामाहरूलाई व्यवस्थित तरीकाले रेकर्डमा राख्नु अत्यावश्यक छ । किनकि ‘गिनिज बुक अफ वल्र्ड रेकर्ड्स’मा समावेश गरेर देशको नाम विश्वमा अझ फैलाउनु छ नि त ! बरु आउनुस्, हामी पनि मन्त्री बन्ने वा बनाउने र देशबाटै बेरोजगारी हटाउने अभियानमा लागौं ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)