ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

आईपीओ स्वीकृति सञ्चालक समितिबाट गराउने तयारी

२०८० कात्तिक, १९  
शेयर / बैङ्किङ गतिविधि
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar प्रजिता बुढाथोकी

काठमाडौं। प्राथमिक बजारमा निरन्तर निष्कासन हुँदै आएको प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) अब भने घट्ने देखिएको छ । लगातारको निष्कासनले दोस्रो बजारमा धितोपत्रको आपूर्ति बढेको गुनासो आएसँगै नेपाल धितोपत्र बोर्डले अब आईपीओ स्वीकृति प्रक्रियामा केही ढिलाइ गर्ने भएको हो । बोर्डका अध्यक्ष रमेशकुमार हमालले आईपीओ स्वीकृति प्रक्रिया रोक्ने कानूनी आधार नभएकाले कम गर्दै लैजाने तयारी गरेको जानकारी दिए । उनले बजारको मागअनुसार केही अघिदेखि नै बोर्डले आईपीओ स्वीकृति प्रक्रियामा ढिलाइ गर्दै आएको बताए ।

धितोपत्र बजारको विकास र विस्तारमा कम्पनीहरू थपिनु सकारात्मक मानिन्छ । आफ्नो कार्यकालमा सूचीकृत कम्पनीको संख्या बढाउने योजनासहित आएकोमा व्यक्तिगत आक्षेप लागेसँगै बोर्ड सञ्चालक समितिबाट आईपीओ स्वीकृति गराउने प्रस्ताव गरेको अध्यक्ष हमालले जानकारी दिएका हुन् ।

पछिल्लो समय आईपीओ स्वीकृतिका सम्बन्धमा बोर्ड अध्यक्षलाई आक्षेप लगाउने काम भइरहेको र त्यो सरासर गलत रहेको उनले बताए । बोर्डमा आईपीओ स्वीकृति प्रक्रियाका लागि विभाग गठन गरेर काम भइरहेको र सोही विभागको सिफारिशमा अध्यक्षले स्वीकृत गर्ने हमालले जानकारी दिएका छन् । आईपीओको तीव्रताका कारण दोस्रो बजारमा आपूर्ति बढेको कारण बजार प्रभावित भएको गुनासोलाई चाँडै नै सम्बोधन गरिने उनले बताए । आईपीओले दोस्रो बजार प्रभावित बनेको हो या अरू कुनै कारणले हो भन्ने विषयमा बोर्डले विशेष निगरानी गरिरहेको हमाल बताउँछन् । बजारको माग सार्वजनिक निष्कासन कम गर्नु रहेको छ भने आगामी दिनमा बोर्डको सञ्चालक समितिले निर्णय गर्ने भएसँगै उक्त प्रक्रिया स्वत: कम हुने उनको भनाइ छ । सञ्चालक समितिले बोर्डको अध्यक्षले जसरी दैनिक काम नगर्ने भएकाले आगामी दिनमा सञ्चालक समितिले स्वीकृति दिने भएमा प्रक्रिया ढिलो हुने हमालले बताए । चालू आर्थिक वर्ष शुरू भएयता बोर्डले ६ कम्पनीलाई आईपीओ अनुमति दिएको छ भने दुई कम्पनीलाई थप सार्वजनिक निष्कासन (एफपीओ) को अनुमति दिएको छ । हाल बोर्डमा आईपीओका लागि २१ कम्पनीले निवेदन दर्ता गराएका छन् । एफपीओको निवेदन पाँच कम्पनीको छ । त्यस्तै १२ कम्पनीले हकप्रद निष्कासनका लागि, सातले ऋणपत्रका लागि र ८ म्युचुअल फन्डले एकाइ जारी गर्ने स्वीकृति माग्दै बोर्डमा निवेदन दिएका छन् ।

पुराना लगानीकर्ता डम्बरुवल्लभ घिमिरे भने आईपीओले दोस्रो बजार प्रभावित बनेको मान्न तयार छैनन् । आईपीओ र हकप्रद भरेर लामो समय विक्री नगर्ने लगानीकर्ता पनि धेरै रहेकाले केही लगानीकर्ताको आरोपका आधारमा निष्कासन प्रक्रिया घटाउन नहुने उनको तर्क छ । ‘बजारलाई आफ्नो गतिमा चल्न दिने हो । बजार बढाउने वा घटाउने जिम्मा नियामकको होइन,’ उनले भने, ‘नियामकलाई प्रक्रियागत रुपमा काम गर्न दिनुपर्छ । नियामकले आपूर्ति घटाउनेभन्दा पनि माग बढ्ने खालको नीतिमा जोड गर्नुपर्ने लगानीकर्ता घिमिरेको सुझाव छ । दोस्रो बजारमा संस्थागत लगानीकर्ता बढाउनुपर्नेतर्फ नियामकले ध्यान दिनुपर्नेमा घिमिरेले जोड दिए । 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)