ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

ल है प्रगति गर्नोस् !

२०८० कात्तिक, २४  
तीतो मीठो
Aarthik Abhiyan 18th Anniversary
author avatar मदन लम्साल

सबैले भन्छन् प्रगति गर्नुपर्छ । तर कसरी गर्ने ? यो अभाव, पाखण्ड, भ्रष्टाचारको दलदलमा बसेर कता, कसरी प्रगति गर्ने ? तर नेताहरू घाँटी सुक्नेगरी कराइरहेका छन् प्रगति गर, प्रगति गर भनेर । सरकार पनि जनतालाई भन्छ, जे जस्तो परिस्थिति भए पनि प्रगति गर, बाँकी काम सरकारले गर्छ !

सरकार भन्छ तिमी जागीर खाऊ, बेरोजगारीको समस्या आधा समाप्त हुन्छ । फेरि तिम्रो भाइलाई पनि कुनै काममा लगायौ भने बाँकी आधा बेरोजगारी पनि खत्तम । तिमीले काम गर्‍यौ भने सरकारले गरीबी निवारण गर्छ, सरकारको अतिकम विकसित राष्ट्रबाट विकासोन्मुखमा स्तरोन्नति गर्ने लक्ष्य पूरा हुन्छ रे !

प्रगति आधुनिक मानिसको चस्का हो । प्रगति हाम्रा समस्याहरूको हल पनि हो । हाम्रा घरहरू बन्नेबित्तिकै देशमा घरविहीनका समस्या दुई तिहाइले हल हुन्छ । बाँकी समस्या शहरहरूमा बनिरहेका अग्लाअग्ला गगनचुम्बी महलमा बनिरहेका फ्ल्याट वा अपार्टमेन्टहरू माथि उठ्नासाथ त्यो पनि समाप्त हुन्छ ।

प्रगति नगरीकन समस्याहरू सिद्धिँदैनन् । देशमा बेरोजगारी छ । ठीक छ । तिमी जागीर खोज वा स्टार्टअप शुरू गर, नभए विदेश जाऊ । यो सब गर्न कसैलाई अतिरिक्त तिर्नुपर्छ भने तिर । व्यवसाय गर्न घुस दिनुपर्छ भने देऊ । कसैको चाकरी गर्नुपर्छ भने गर । तर प्रगति चैं गर । जागीर पाउनु प्रगति हो, व्यवसाय गर्नु प्रगति हो, अतिरिक्त लाभ प्राप्त गर्नु पनि प्रगति नै हो । निजी सुरक्षा प्रगति हो । सुखी जीवन प्रगति हो । तिमीले पढ्यौ भने शिक्षामा प्रगति हुन्छ । तिमीले कुनै कारखाना चलायौ भने देशमा उद्योग बढ्छ । तिमीले प्रगति गरे सरकारले पनि प्रगतिको चार्ट देखाउन पाउँछ ।

हिजोआज मानिसहरू ठूल्ठूलो स्वरमा जताततै भ्रष्टाचार बढ्यो, भ्रष्टाचार हुनुहुँदैन मात्र भनिरहन्छन् । ऊनीहरू जुन जुन ठाउँमा सेवा लिन पुग्छन्, त्यहाँ त्यहाँ भ्रष्टाचार हुँनै हुँदैन भनेर कराइरहन्छन् । अर्थात् जुन जुन सरकारी अफिस जसरी चलिरहेको छ चलिरहोस्, तर जब कुनै व्यक्ति त्यस कार्यालयमा पुग्छ, त्यसबेला उसले ख्वाउने, पियाउने गर्न नपरोस् । आफ्नो काम फटाफट होस् ।

मानिसहरू चाहन्छन् कि पवित्र नदीको बीचमा एउटा टापु बनिरहोस्, जहाँ उनीहरू भ्रष्टाचार गरेर आआफ्नो प्रगति गरिरहन सकून् । वर्षौंदेखि यस्ता टापु बनाउने व्यक्तिगत प्रयासहरूबाट एउटा विराट भूखण्ड बनिसकेको छ ।

तर सेवा दिएर प्रगति गर्न चाहने मानिसहरू त्यसको ठ्याक्कै उल्टो चाहन्छन् । उनीहरू चाहन्छन् कि देशमा कतै पनि भ्रष्टाचार नहोस्, केवल त्यो ठाउँ छाडेर जहाँ उनीहरू कार्यरत छन् । त्यसैले त न्यायाधीशले अदालतमा भ्रष्टाचार देख्दैन, नेता र पुलिसमा देख्छ । कर्मचारीले आफूकहाँ देख्दैन नेतामा देख्छ । नेता पनि के कम ? आफ्नो आङमा बसेकोे भ्रष्टाचारको भैंसी देख्दैन, कर्मचारीको जीउमा हिँडिरहेकोे घुसको जुम्रा मात्र देख्छ ।

मानिसहरू चाहन्छन् कि सेवा लिन न्यायालयको र न्यायाधीशको वा अरू कसैको पनि ढोका चहार्न नरोस् र सेवा दिनेको पनि प्रगति होस् । तर फेरि उनीहरू नै कामना गर्छन् कि सरकारी कार्यालयमा वा न्यायालयमा भ्रष्टाचार नहोस् । यस्तो कसरी सम्भव हुन्छ र ? किनकि आफ्ना प्रगतिका आकांक्षा गर्नेले खुला सडकमा हिँडेर त व्यक्तिगत प्रगति हुन सक्दैन । त्यसैले उनीहरू घरघर, दलदल, गल्लीगल्लीका बाटाहरू प्रयोग गर्छन् । यसरी देशैभरि यस्तै प्रगतिको हावा चलिरहेको छ । सबै दलका भूरे टाकुरे प्राय: सबै नेताहरूको सन्देश पनि यही छ कि यसरी नै प्रगति गरिरहू । र यसरी नै देशले प्रगति पनि गरिनै रहेको छ ।

तर प्रगतिको बाटोमा केही ढुंगाहरू बाँकी छन् । केही पत्रिका र केही पत्रकार छन् । केही कानून छन् । केही विधेयक छन्, जसलाई पास वा फेल गराउनु छ । ती पत्रिका वा पत्रकारहरूलाई केही दिएर गोदी भनेजस्तै काखे मिडियामा परिवर्तन गर्नु, गराउनु छ, ता कि उनीहरूको निजी आर्थिक प्रगतिको रथ अघि बढोस् ।

त्यसैले कुनै पनि सभा, सम्मेलनमा दुई चारजना जम्मा भएको देख्नासाथ नेताहरू घाँटी सुक्नेगरी, मुटु फुट्नेगरी कराउन थालिहाल्छन्, ‘देशमा भ्रष्टाचार समाप्त हुनुपर्छ ।’ यो उनीहरूको इमानदार इच्छा हो र उनीहरूको दलको घोषणापत्रमा पनि त्यही लेखिएको छ । तर उनीहरूको राजनीतिक दलले पनि प्रगति गर्नु छ । प्रभाव बढाउनु छ, चुनाव जित्नु छ । त्यसैले बाध्य भएर दुई नम्बर कमाइको पैसा ग्रहण गर्नैपर्छ । ऊ मनमनै सोच्छ ‘चारैतिर पवित्र सामाजिक एवं राजनीतिक वातावरण होस्, भ्रष्टाचारहीनताको वातावरण होस् । तर केबल मेरा लागि मात्र यो सुविधा होस् कि भ्रष्ट तरीकाले नै भए पनि प्रस्ट अघि बढ्न सकूँ ।’

प्रगति प्रत्येक व्यक्तिको निजी मामला हो र उसले आफ्नै तरीकाले सुल्झाउनुपर्छ । शिक्षामा भ्रष्टाचार चलिरहोस् । ता कि मेरा छोराछोरीले विदेश जाने मौका पाइरहून्, मेरा कार्यकर्ताले राजनीतिक नियुक्ति पाइरहून् । ठेक्कापट्टामा भ्रष्टाचार चलिरहोस्, ता कि चुनावमा मेरो एक सिट नगुमोस् । तर साथै अर्कोतिर उनीहरू चाहन्छन् कि देशमा भ्रष्टाचार नहोस् । यो कामना ती सबैको हो, जो आफ्नो प्रगतिका लागि मौका पर्नासाथ आफ्नो काम फत्ते गर्न घुस दिन्छन् वा लिन्छन् । म स्वच्छ अरू सबै खत्तम, म सेवक अरू सबै शोषक । यस्तै भाष्यको भरमा नै सबै प्रगतिको बाटो हिँड्न आतुर छन् ।

मानिसहरू चाहन्छन् कि पवित्र नदीको बीचमा एउटा टापु बनिरहोस्, जहाँ उनीहरू भ्रष्टाचार गरेर आआफ्नो प्रगति गरिरहन सकून् । वर्षौंदेखि यस्ता टापु बनाउने व्यक्तिगत प्रयासहरूबाट एउटा विराट भूखण्ड बनिसकेको छ । कुनै ठाउँ अछुतो छैन । यस्तो किन हुन्छ त ? किनकि सबैलाई प्रगति जो गर्नु छ ? त्यसैले तपाईं पनि यो भौतिक दुनियाँमा छिट्टै र जसरी पनि प्रगति गर्न चाहनुहुन्छ भने एउटा आफ्नै टापु बनाउनुतर्फ लागिहाल्नोस्, जहाँ तपाईंले हरेक भ्रष्ट आचरण गर्ने छूट पाउनुहुन्छ । अनि न हुन्छ तपाईंको प्रगति !

तिहार २०८० को उपलक्ष्यमा हार्दिक मंगलमय शुभकामना !

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)