सरकारले टिकटक भन्ने चिनिया एपलाई ड्याम्मै बन्द के गद्र्याथ्यो ठीकठाकसँग चलिरहेको देश अकस्मात् ठ्याक्कै दुई भागमा विभाजित भयो । कोही भन्छन्– सरकार उल्टो बाटो हिँड्यो, कोही भन्छन्– बल्ल सुल्टो हिँड्न खोजेको छ । कोही भन्छन्– सरकारले अभिव्यक्ति स्वतन्त्रता हनन गर्यो त कोही भन्छन्– टिकटकले गर्दा समाजमा विकृति मौलाएकाले ठोकेर ठीक गर्यो । कोही भन्छन्– प्रतिगमन भो, कोही अग्रगमन । कोही भन्छन्– सरकारले अमेरिका र भारतको कुरा सुन्योे, अब चीन रिसाउँछ । यसले राष्ट्र कमजोर बनाउँछ । जे होस्, यो टिकटकिया राष्ट्रवाद केही समय त राम्रै टिक्ने देखिन्छ ।
हाम्रो व्यवहार र व्यापार साँच्चै अनलाइन अर्थात् डिजिटल भैसक्या बेलामा सरकारले यसरी टिकटक झ्याप्पै बन्द चाहिँ गर्न हुन्नथ्यो रे । विकृति मौलाए पनि सके नियमन, नसके अनुगमन, त्यो पनि नसके मात्रै बिस्तारै बिस्तारै बन्द गर्या भे चैं हुन्थ्यो रे ।
देश कति धेरै डिजिटल र टिकटकमय भैसकेछ भने सुन, चाँदी, हीरा, मोतीसम्म पाइने सुपरमार्केट र मलहरूमा जुम्लाको स्याउदेखि हुम्लाको हुक्कासम्म, सिन्धुलीको जुनारदेखि सिलगुडीको सुनारसम्मले टिकटकबाट अपारको व्यापार गरिरा रछन् । हुन पनि अब शोरुम सजाएर, जागीरे जोताएर र लगानी जुटाएर किन पो व्यापार गर्नु ? अल्छी ग्राहकलाई बल्छी हान्न छाडेर को टन्टा बोकोस् । सबैलाई अनलाइनमै खरीद गर्नु छ । खरीददारहरू सबै चिसो एसी चालू गरेर डबल बेडमा घुरिरहेका छन् वा भित्तामा अड्याइएका मोबाइलमै टिकटक हेर्न मस्त छन् । अनि पैसा धेरै लगानी गरेर कानूनी बाटो रोज्ने चाहिँ त्रस्त छन् ।
तर अहिले सुकेका नरिवल र फुकेका नेता दुवैको भाउ बढिरहेको छ । अफसिजनमा यस्तै हुन्छ । नेता सधैं नरिवलको तुलनामा ज्यादा बिकाउ हुने गरेका छन् । अमला र अम्बा कडा छन् । यतिबेला नेताहरू बेचिनका लागि हरेक चौबाटोमा खडा छन् । सारा सामान अनलाइनमा बिकिरहेका छन् । नेताजी भने अनलाइन, अफलाइन, बेलाइन अनेक प्रकारले बिकि नै रहेका छन् ।
मन्त्री, प्रधानमन्त्रीको म्युजिकल चेयर प्रतियोगिता त अहिले छैन । तर नेताहरूको सत्ताको अंशबण्डा अफेयर भने चलिरहेकै छ । युवा जति खाडीमा छन् त सीधै कुरा हो बुढाजति देश हाँक्ने गाडीमा छन् । थुप्रै महिला चुनावै नलडे पनि सांसदको कोट र साडीमा छन् । अहिले त कालाबजारी, गुण्डादेखि गल्लीको भिखारी पनि आफ्नो बोरामा एक–दुई नेताहरू लिएर विक्रीका लागि सडकमा उभिएका छन् । सँगै एकजना सेल्सम्यान अर्थात् विक्री प्रतिनिधि देखिन्छ, जो आफ्नो बोराभित्र चम्किलो खोल भएको प्याकेटमा रहेको सामान कुनै अनलाइन खरीदकर्ताको घरमा डेलिभरी दिइरहेको छ ।
यतिबेला नेताहरू बेचिनका लागि हरेक चौबाटोमा खडा छन् । सारा सामान अनलाइनमा बिकिरहेका छन् । नेताजी भने अनलाइन, अफलाइन, बेलाइन अनेक प्रकारले बिकि नै रहेका छन् ।
काठमाडौंदेखि पोखरासम्म, सिन्धुलीदेखि चितवनसम्म, बुटवलदेखि धनगढीसम्म सबै अनलाइन भएका छन् । बरमझिया वा भैरहवाको पेडादेखि बेलायतको मदिरासम्म । चीनको मोबाइलदेखि अमेरिकाको किताबसम्म । डिस्काउन्ड अफर, रिफरल मार्केटिङ, अफिसियल मार्केटिङ र सेल । हाकिम, नेता र जालझेल । सरकारी योजना सबै फेल । सबै बिकिरहेका छन् अनलाइनमा ह्वारह्वार ! मनलाइनलाई अनलाइन समाचार बनाएर कमाउने लाइन पनि चलेकै छन् ।
जसरी कुनै मन्त्री बिक्छ कुनै रिसोर्टमा, मुख्यमन्त्रीको लोभमा । दशैं दिशामा अनलाइनको बबण्डर आफ्नो गतिमा सबैलाई दपेटिरहेको छ, लपेटिरहेको छ । प्रत्येक प्रदेश, महानगर, नगर, गाउँपालिका र वडाहरूमा नेता हाकिम अनलाइन बिक्नका लागि ननलाइनको डोजरसँगै तम्तयार खडा छन् ।
मेयरदेखि शेयर बजारमा शेयर खरीद विक्री गर्नेहरू समेत टिकटक लगायतका सामाजिक सञ्जालमा महँगी र अस्तव्यस्तताका कविता फुराइरहेका छन् । धर्को तानेर शेयर बजारको भविष्यवाणी गर्नेको बोली पनि बिकेकै छ । हिजोआज केही वर्षमै अनलाइनमा यति कवि र अर्थशास्त्री जन्मिएका छन् कि त्यति त असार साउनमा भ्यागुता पनि हुन्नन् । यता भ्यागुताहरूले कविसँग तुलना गरेकोमा खेद व्यक्त गरिसकेका छन् । तर जति अनलाइन अनलाइन भनेर कुर्लिए पनि अझै युवाहरू विदेशमा जागीर वा कलेजका लागि अनलाइन फारम भरेर पासपोर्ट लिने लाइनमा छन् । बडो गज्जपको दृश्य छ देशैभरि ।
टिकटके र फेसबुके अफेयर, झगडा, लफडा, सम्मेलन सबै थोक भइरहेको छ । अनलाइन प्रेम भयो । अहिले अनलाइनमै मन्त्रोच्चारणसहित विवाहको कर्म पनि सम्पन्न हुन थालेको छ । आशीर्वाद पनि ई–पेमेन्टबाटै । तुरुन्त धन्यवादको जवाफको श्रव्यदृश्य । बाथरुमको सिटमै बसी बसी आफूलाई मन परेको भोजन अर्डर पनि दिन पाइने भएपछि के चाहियो ? मेनु नै मेनु । बस्, तपाईं क्लिक गर्नुस्, टच गर्नुस् अर्थात् बटन थिचिरहनुस् आफ्नो मोबाइलमा, बाँकी काम अनलाइनवालाले गर्दिहाल्छ ।
मोडर्न प्लेटफर्म । केही समयपछि नै तपाईंको घरअघि बाइक–गाडीवालाहरू तपाईंको अर्डर डेलिभरी गर्न घुमिरहेका हुनेछन् । अब त निकट भविष्यमै तपाईंको छतमा ड्रोनले सामान झारिरहेका दृश्य सामान्य हुनेछ । तपाईंले आफ्नो बाथरुममै बसी–बसी छतमा उडिरहेका ड्रोनलाई आफ्नो ओटीपी पासवर्ड भन्नुपर्ने हुन्छ । चाहनुभयो भने ओटीपी नुहाउँदा नुहाउँदै वा पलंगमा पल्टिरहेकै अवस्थामा पनि बताउन सक्नुहुन्छ । अनि विवाहको भोज पनि तपाईंकोमा हाजिर भइसक्छ । अनि यसरी अनलाइन विवाह सम्पन्न हुन्छ । यस्तो डिजिटल माहौलमा सरकारले यसरी हठात् टिकटक बन्द गर्न कसरी सकेको होला हँ ? नयाँ दलहरूले टिकटकबाट बल गरेर भोट बटुल्छन् भनेर डराएको कि अमेरिका र भारतले भनेर होश हराको ?
खैर अहिले भने अनलाइन डेलिभरीवाला आइपुगे जस्तो छ । धेरै समयदेखि श्रीमतीजीले नेपाली किवी, एभोकाडो र ज्याकफ्रुट फर्माइस गरिरहेकी थिइन् । श्रीमतीलाई खुशी पार्ने योभन्दा उचित अवसर अरू कुनै हुन सक्ला र ?
तर मलाई भने एउटा गहिरो चिन्ताले भित्रभित्रै सताइरहेको छ । टिकटक, भाइबर, ट्वीटर (एक्स), मेसेन्जर, लिन्क्डइन, ह्वाट्सएप, फेसबुक, इन्स्टाग्राम, डिस्कर्ड, स्काईप, टेलिग्राम, ईमेल, जीमेल के को मात्र जवाफ दिएर बसुँ ? चार दिनको जिन्दगी छ । तर दुई–दिन टेलिभिजनले लियो, दुई–दिन इन्टरनेटमा टिकटक सिकटकले वा फेसबुकले लिइरहेछ । टिकटक सदाका लागि बन्दै भएछ भने पनि अर्को कुनै पिकटक, बिगटक, बकबक, कचकच वा त्यस्तै केही नयाँ एप आउँछ नै होला । अनि हामीजस्ता मनुवालाई सताउँछ नै होला । अनि बाँच्ने चैं कहिले ? मादलको तालमा नाच्ने चैं कहिले ? त्यसरी सोच्दा चंै एक मनले भन्छ, सरकारले जुन कारणले टिकटक बन्द गरे पनि कमसेकम एउटा झण्झटबाट अहिलेलाई मुक्ति मिलेको छ । भोको पेटमा एउटा खोक्रो अभिव्यक्ति स्वतन्त्रताबाट र टिकटके राष्ट्रवादको गर्मीबाट छुट्टी मिलेको छ । तपाईंलाई चैं कस्तो लागेको छ कुन्नि ?