यसपालिको तिहार तथा छठमा भारतबाट आएको फूलको व्यापार सधैं झैं गुल्जार रह्यो । नेपाली किसानहरूले फुलाएको फूल भने विक्री नभएर झार भयो । किसानलाई मार भयो, व्यापारीलाई भार भयो । धेरैले भने नेपाल अब कृषिप्रधान देश रहेन । तर तपाईं मान्नुस् या नमान्नुस्, नेपाल कृषिप्रधान देश नै हो । कृषिप्रधान भएकैले नेपाल देश हो । उद्योगप्रधान वा अरू कुनै प्रधान भएको भए यो देश नभएर यो विदेश हुन्थ्यो होला ! धेरै मानिस यो सोचेरै दु:खी हुन्छन् कि नेपाल कृषिप्रधान देश हो । त्यही भएर अहिले थुप्रै नेपाली उद्योगप्रधान वा अरू प्रधान भएका देशतिर हान्निएका ।
हाम्रा पुर्खालाई खेती गर्नबाट रोक्नु हाम्रो वशको कुरा थिएन । नत्र आज यस्तो लज्जित हुनुपर्दैनथ्यो होला । देशका धेरै मानिसहरू कृषिकर्ममै लागेपछि अरूले के नै गर्न सक्थे र ? देश कृषि प्रधान हो । यसमा जुन प्रधान शब्द आउँछ, त्यसको त्यो प्रधानसँग कुनै साइनो छैन, जुन प्रधानमन्त्रीमा वा धानमन्त्री अर्थात् कृषिमन्त्रीमा आउँछ । यो देशको प्रधानमन्त्री वा कृषिमन्त्री कृषिप्रधान होइनन् कुर्सीप्रधान हुन् । त्यसबाहेक उनीहरू हर्टिकल्चर अर्थात् फूलप्रधान वा बगैंचाप्रधान हुन् । किनकि उनीहरूलाई कुर्सी र कार्यक्रमहरू धेरै मन पर्छ । अनि कार्यकर्ता र कार्यक्रम आयोजकहरूले अर्पण गर्ने पुष्पगुच्छा, मालाहरू पनि खुब मन पर्छ । हो, यो आयातमा भने नेपाल कृषिप्रधान नै हो ।
यो देशमा के मन्त्री, के सन्त्री, के प्रधानमन्त्री वा सर्वसाधारण, धेरैलाई लाग्छ कि नेपाल युरोप, अमेरिका, जापान किन भएन ? वा नेपालको नाम नेपाल नभई इटाली वा जर्मनी किन भएन ? अर्थात् ऊ जे छ, त्योबाहेक अरू किन भएन ? त्यसैले त धेरै नेपाली नेपालभन्दा विदेशमै जान र पाए उतै बस्न चाहन्छन् । त्यसैले उनीहरू नेपालभन्दा अमेरिका वा अस्ट्रेलियाकै विषयमा बढी सोच्छन, कुरा गर्छन् र ती देशहरूबारे बढी जानकारी पनि राख्छन् । अनि नेपाल ती देशहरू जस्तो नभएको पाएपछि दु:खी र चिन्तित हुन थाल्छन् । उनीहरूको यो सोचाइमा नेपाल भन्ने जुन देश छ, त्योबाहेक अरू नै केही भए चैं यो उसको प्रगति हुन्थ्यो । प्रगतिको अर्थ हामी जे छौं, त्योभन्दा भिन्न अरू कुनै देश बन्नु हो । अघि बढेर वा घटेर जे भए पनि फरक पर्दैन, तर नेपाल नाम चैं हुनुभएन । तर नेपाल त दुर्भाग्यवश कृषिप्रधान देश हो । लाग्दो हो, यदि यो व्यापारप्रधान, उद्योगप्रधान वा पेट्रोल/ग्यासप्रधान भएको भए हामी पनि सिंगापुरे वा अरबी ठाँटसँग जिन्दगी बाँचिरहेका हुन्थ्यौं ।
मानिसहरूलाई टेन्सन छ कि हाम्रोमा खोलानदीमा पानी बग्नुको साटो पेट्रोल वा डिजेल बगेको भए हामी भूपरिवेष्ठित भए पनि केही फरक पर्दैनथ्यो । हामीलाई यी नेताझैं नांगिँदै गएका हिमाल पनि आवश्यक हुन्नथ्यो । यी खोला, जंगल, जनावर, चराचुरुंगीको च्यारच्यार र चिरचिर सुनिरहनै पर्दैनथ्यो । यदि हामीले पनि हलिउड र बलिउडमा बन्ने जस्ता चलचित्र बनाउन सकेको भए यी मठमन्दिर, गुम्बा, बहालहरू नभए पनि आनन्द आइरहन्थ्यो । यो एक्काईसौं शताब्दीमा पनि हामीलाई हाम्रै देश देखेर बडो दु:ख लाग्छ कि यति धेरै हिमाल, पहाड भएर पनि नेपाल स्वीट्जरल्यान्ड किन भएन ?
यस्ता धेरै कुराहरू छन्, जसका बारेमा मानिसहरू चिन्तित भइरहन्छन् । चिन्तित हुनु यो देशमा कृषिभन्दा प्रमुख कर्म हो । प्राचीन ऋषिमुनि चिन्तित रहन्थे, राजामहाराजा रहन्थे । फेरि अहिले नेताहरूले धेरै चिन्ता गर्न थालेका छन् । काठमाडौं उपत्यका पानीमा डुबेको देखेर चिन्तित भएर मञ्जुश्रीले डाँडा काटेर पानीको निकास खोलेका थिए रे । यो चिन्तित रहने शृंखला अनन्त छ । त्यसैले अहिले पनि कतै बाढी आयो भने, खडेरी पर्यो भने, कतै भूकम्पले घर ढलायो भने, वा कुनै पनि प्राकृतिक वा अन्य विपत्ति आइपर्यो भने हाम्रा मन्त्रीहरू चिन्तित हुन थालिहाल्छन् । मन्त्रीको चिन्तित मुड देखेर उनीमातहतका सचिव, कर्मचारीहरू पनि चिन्तित हुन थालिहाल्छन् । यी सबै चिन्तित भएको देखेर घरका कुकुरहरू र डालीका ढुकुरहरू पनि झोक्राउन थाल्छन् । एउटा कृषिप्रधान देश हुनुको फाइदा यो छ कि चिन्तित हुनका लागि समय प्रशस्त रहन्छ । त्यसैले प्रधानमन्त्री, मन्त्री, सांसददेखि सरकारी कर्मचारीहरू यस कुरामा सधैं चिन्तित भइरहन्छन् कि देशमा यति धेरै खोला र नदीनालाहरूमा पानी बगिरहेको छ, तर देशको जमीनमा सिँचाइ पुग्न किन नसकेको होला भनेर ।
यो देशमा के मन्त्री, के सन्त्री, के प्रधानमन्त्री वा सर्वसाधारण, धेरैलाई लाग्छ कि नेपाल युरोप, अमेरिका, जापान किन भएन ? वा नेपालको नाम नेपाल नभई इटाली वा जर्मनी किन भएन ? अर्थात् ऊ जे छ, त्योबाहेक अरू किन भएन ? त्यसैले त धेरै नेपाली नेपालभन्दा विदेशमै जान र पाए उतै बस्न चाहन्छन् ।
तपाईं जब कतै जानुहुन्छ, बसको झ्यालबाट खेतहरू देख्नुहुन्छ, जहाँ डोजर पुगे पनि सिँचाइ चैं पुगेको छैन । यदि तपाईं ठूलो मान्छे अर्थात् सरकारी हाकिम, नेता, मन्त्री, प्रधानमन्त्री आदि हुनुहुन्छ भने त बसमा भरोसा गर्ने कुरै भएन । त्यसैले तपाईं कि कारमा नत्र धेरैजसो हेलिकोप्टर वा हवाईजहाजभित्रबाट पनि देश देख्नुहुन्छ । माथिबाट त देश के देखिन्छ र ? त्यही अन्त्यहीन पहाड, चट्टान, पत्थर, उवडखावड मात्र देख्नुहुन्छ । माथिबाट न त तपाईंले फूल फूलेको देख्न सक्नुहुन्छ, न त धान, गहुँ फलेको । माथिबाट तपाईंले शायदै कुनै महिला, बालबालिका, वृद्ध, बाढीपीडित, भूकम्पपीडित आदि सर्वसाधारणलाई देख्नुहुन्छ । त्यसैले जब कुनै हार्भर्ड पढेको अर्थशास्त्री वा विदेशमा असफल भएर वा विदेश बिगारेर देश सपार्छु भनेर लागेकाहरूलाई वा गाउँगाउँमा गएर भाषण गर्दै हिँडेकाहरूको कुरा सुन्छु, मलाई कस्तो कस्तो लाग्छ । उनीहरूले गाउँ देखेको दाबी गर्नु र गाउँलेले भूत देखेको दाबी गर्नु उस्तै लाग्छ मलाई ।
आजसम्म कसैले देश अर्थात् गाउँहरू देखेकै छैनन् । कसले देखेको छ र देश खै ! किसानले केवल आफ्ना खेत देखेका छन् । बढीमा छिमेकीका खेत, खोला, ससुराली गाउँ र मावल देखे होला । विद्यार्थीले विद्यालय र त्यहाँसम्म पुग्ने बाटो देखे होला । नेताले आफ्ना चुनाव क्षेत्र देखे होला, जहाँबाट उनीहरूले भोट बटुले । उद्योगीहरूले आफ्ना कारखाना र पक्की सडक देखे होला, जुन सडकबाट उनका मालसामान लिएर ट्रक आउँछ । व्यापारीले ती बाटाहरू देखे, जहाँबाट उनीहरूले बहुराष्ट्रिय कम्पनीका सामान गाउँ गाउँ पुर्याए ।
त्यसो त देश हेर्न काठमाडौंका मान्छे पोखरा, चितवन गए । धरानका मान्छे सुदूरपश्चिम गए । भैरहवाका मान्छे विराटनगर गए । सरकारी कर्मचारीहरू पनि पूर्व–पश्चिम सबैतिर पुगे । बेलाबेलामा नेता, मन्त्रीहरू पनि गए, सरकारी गेष्टहाउस वा रिसोर्ट नामक रेस्ट हाउसमा रहे, कार्यकर्ता आदि भेटे, अनि फर्किए । तर देश भने देख्न सकेनन् वा भ्याएनन् । न त उनीहरूले पढ्न छाडेर विदेश जाने लाइनमा बसेका विद्यार्थीलाई देखे । न कतारमा काम गर्न जान भिसाको लाइनमा लागेका लाखौं बेरोजगार युवाहरूलाई देखे । न उनीहरूले खेत, बारी वा त्यहाँ काम गरिरहेका किसानहरूलाई देखे । उनीहरूलाई भेट्ने त झन् परको कुरा भइहाल्यो । तर कसैले नदेखे पनि, कसैले नभेटे पनि, देशका झण्डै ६२ प्रतिशत मानिसहरूले अहिलेसम्म पनि कृषिकर्म गरि नै रहेका छन् । आफ्नो बल–बुताले भ्याएसम्म अन्न उब्जाएर देशको पेट भर्ने काम गरि नै रहेका छन् । यस्तो अवस्थामा नेपाललाई कृषिप्रधान देश नभनेर के भन्ने त ?