काठमाडौं । हरेक वर्ष कात्तिक शुक्ल पूर्णिमा (कछलाथ्व पुन्ही) लाई उपत्यकाका नेवार समुदाय सकिमिला पुन्हीका रूपमा मनाउँछन्। यस दिन मुख्यरूपमा तरुल, सखरखण्ड, वनतरुल, पिँडालु आदि उसिनेर खाने तथा भगवानलाई चढाउने गरिन्छ । नेवार समुदायले भुटेको नयाँ गेडागुडीबाट विभिन्न देवी देवता, मन्दिर र जात्राको कलात्मक आकृति बनाएर प्रदर्शन गरी यो पर्व मनाउने चलन छ । त्यस्तै यस पर्वलाई सकि (पिँडालु, तरुल आदि) मना (उसिन्नु) . सकिमना पुन्ही पनि भनिन्छ।
यस दिन विभिन्न मठ–मन्दिर, बहाल, चैत्य अगाडि विभिन्न अन्नहरू मिलाएर विभिन्न कलाकृतिहरु बनाइ प्रदर्शन गर्ने गरिन्छ। यसलाई हलिमली ब्वयेगु भन्ने गरिन्छ । काठमाडौंको असनस्थित अन्नपूर्ण मन्दिर अगाडि, नयाँ सडकको पीपलबोट परिसरमा, मच्छिन्द्रबहाल, इटुम्बहाल लगायतका ठाउँमा पनि नेवार समुदायका मानिसहरू भुटेको अन्न, गेडागुडी, सखरखण्ड लगायतका वस्तुहरू राखेर विभिन्न आकृतिहरू बनाइ पूजा गरेका थिए । यसबेला दाफा भजन गाएर देवीदेवताप्रति भक्तिभाव दर्शाउने गरिन्छ । पूजा सकेपछि हलिमलीमा सजाइएको गेडागुडी प्रसाद स्वरूप सबैलाई बाँडिन्छ।
हलिमली ब्वयेगु भनी विभिन्न अन्नहरु द्वारा कलाकृतिहरु देखाउनुले हामीभित्र लुकेको सीप, कौशल र जाँगरिलोपनलाई उजागर गर्छ। संस्कृतिविदका अनुसार परापूर्वकालमा नेपालमा अनिकाल परेर धानको बीउ समेत नपाइएपछि गहुँ, मकै, भटमास जस्ता अन्न पनि खान हुन्छ भन्ने सन्देश दिने उद्देश्यले कात्तिक शुक्ल पूर्णिमाको दिन यस्तै विभिन्न अन्नबाट देवदेवीको चित्र बनाई पछि त्यही अन्न प्रसादको रुपमा खाने चलन बनेको हो । कार्तिक शुक्ल पूर्णिमाको दिन उपत्यकाका तीन ओटै जिल्ला काठमाडौं, भक्तपुर र ललितपुरमा नेवार समुदायले विशेष रूपमा सकिमना पूर्णिमा (सकिमिला पुन्हि) मनाउने गर्छन्।
तस्वीरहरू : सुनिल शर्मा/आर्थिक अभियान