ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

सुन्तलाले राम्रो मूल्य पाएपछि ईच्छाकामनाका किसान खुशी 

२०८० मंसिर, १६  
समाचार बागमती प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar सूर्यप्रसाद अधिकारी

चितवन । चितवनको पहाडी क्षेत्र इच्छाकामना गाउँपालिकामा सुन्तलाले   राम्रो मूल्य पाएपछि किसान खुशी भएका छन । 

सो गाउँपालिकामा अगौटे सुन्तलाले राम्रो आम्दानी पाएपछि उनीहरु हर्षित भएका हुन । इच्छाकामना गाउँपालिका–५ का रामप्रसाद बोहोरा अघिल्ला वर्षको तुलनामा अहिले सुन्तलाले राम्रो मूल्य पाएको बताउँछन । अहिले बजारमा राम्रो मूल्य पनि छ , माग पनि छ, उनले भने, “कम उत्पादन भएका कारण मूल्य राम्रो पाएको हो ।” उनले अहिले सुन्तलाको होलसेल मूल्य प्रतिकिलो रु ९० सम्म परेको बताए ।  उनले दुई बिघा क्षेत्रफलमा सुन्तला खेती गर्दै आएका छन  ।

वैदेशिक रोजगारमा गएर तीन महिनामा नेपाल फर्किएका बोहोराले सुन्तलाबाट विदेशको भन्दा राम्रो कमाइ भएको बताए । बुबाको पालादेखि आफ्नो घरका लागि मात्रै सुन्तला खेती गरिएको भए पनि विस्तारै यसलाई व्यावसायिक गर्दै लाँदा अहिले आम्दानीको मुख्य स्रोत नै सुन्तला खेती भएको उनको भनाई छ  । विगतका  वर्षहरुमा प्रतिकिलो  ७० रुपैंया हाराहारीमा यहाँका सुन्तला बिक्री हुने गरेको थियो ।

इच्छाकामना गाउँपालिका–३ माझगाउँका अर्का किसान सीताराम गुरुङले चार बिघा क्षेत्रफलमा सुन्तला खेती गर्दै आएका  छन । उनले अहिले उत्पादन भएको सुन्तलाले बजार मूल्य राम्रो पाएको भन्दै यही मूल्य कामय रहे यस वर्ष किसानले राम्रो आम्दानी लिन सक्ने बताए । उनले भने, “अहिले होलसेल मूल्य नै प्रतिकिलो रु ९० देखि १०० सम्म परेको छ । यो बढ्दै जाने देखिन्छ ।”

बजार भाउ स्थिर रहन नसक्ने भएकाले अहिलेको मूल्यबाट घटवढ हुनसक्ने भन्दै उनले बजारको सुनिश्चितता गर्न सके व्यावसायिक सुन्तला खेती गर्ने किसानले राम्रो आम्दानी लिन सक्ने बताए  ।  “अहिले थोरै उत्पादन भएको छ । त्यही कारणले आम्दानी राम्रो हुन सकेको हो ।’ उनले भने ।  

२४ वर्षको उमेरदेखि सुन्तला खेती गर्दै आएको अनुभव सुनाउँदै ६० वर्षीय गुरुङले अगौटे सुन्तलाले राम्रो मूल्य पाएको बताए  । उनले वार्षिक रु चारदेखि पाँच लाखसम्मको सुन्तला बेच्दै आएका छन  । अगौटे सुन्तलाबाट राम्रो आम्दानी हुन थालेपछि अन्य किसानले समेत यही जातको सुन्तला लगाउन थालेका छन ।

इच्छाकामना गाउँपालिकाको कृषि विकास शाखा प्रमुख आशिष त्रिपाठी अहिले बजारमा आएको सुन्तलालाई बजारको अभाब नभएको बताउँछन । उनले भने , “बजारको अभाव पनि छैन र सुन्तालाले राम्रो मूल्य पनि पाएको छ ।” केही किसानले ठेकेदारमार्फत सुन्तला बजारमा ल्याउने हुँदा मूल्य पाए पनि पैसा नपाउने समस्या भएको भन्दै उनले यो समस्या समाधानका लागि शाखाले सहकार्य गर्ने प्रयास गरिरहेको बताए  । 

यस पालिकामा ३५ हेक्टर क्षेत्रफलमा सुन्तला खेती गरिँदै आइएको छ । जहाँ वार्षिक तीन सय मेट्रिक टन सुन्तला उत्पादन हुँदै आएको छ । जिल्लाको इच्छाकामना गाउँपालिका र भरतपुर महानगरपालिका–२९ को पहाडी क्षेत्रमा सुन्तला खेती गरिँदै आइएको छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)