स्वस्थ अर्थतन्त्रको विकासका लागि प्रतिस्पर्धाको संरक्षण र प्रतिस्पर्धीको संरक्षणको महत्त्वपूर्ण भूमिका रहेको हुन्छ । प्रतिस्पर्धाको संरक्षण गर्न नसकेको खण्डमा त्यसले उपभोक्ता, लगानीकर्ता सबै पक्षमा नकारात्मक असर गर्दछ भने प्रतिस्पर्धीको संरक्षण गर्न नसकेको खण्डमा लगानीकर्ताको लगानी जोखिममा पर्ने, स्थापित लगानीकर्ता डुब्ने र नवप्रवेशी लगानीकर्ता पनि स्थापित नहुने खतरा उत्पन्न हुन्छ । अर्थात् प्रतिस्पर्धाको संरक्षण गर्न नसकेको खण्डमा बजारमा एकाधिकारको राज हुन्छ भने प्रतिस्पर्धीको संरक्षण गर्न नसकेको खण्डमा बजारमा अनिश्चितता र अराजकताको राज हुन्छ । तसर्थ बुद्धिमान नीतिनिर्माताहरू विशेष गरी अर्थप्रशासन र वाणिज्य प्रशासनले प्रतिस्पर्धाको संरक्षण र प्रतिस्पर्धीको संरक्षणलाई एउटै सिक्काका दुईवटा पाटाका रूपमा लिई यी दुवै पक्षको यथोचित संरक्षण गर्न जरुरी छ ।
अर्थतन्त्रको स्वास्थ्यका लागि प्रतिस्पर्धाको महत्त्वलाई दृष्टिगत गर्दै नेपाल सरकारले प्रतिस्पर्धा प्रवर्द्धन तथा बजार संरक्षण ऐन २०६३ जारी गरी लागू गरेको छ । यस ऐनका महत्त्वपूर्ण पक्षहरूमा प्रतिस्पर्धाविरुद्धको संरक्षण गर्न नहुने, प्रभुत्वशाली हैसियतको दुरुपयोग गर्न नहुने, प्रतिस्पर्धालाई नियन्त्रण गर्ने उद्देश्यले गाभिन वा मिल्न नहुने प्रावधानहरू यस ऐनमा समेटिएका छन् । यसै गरी बोलपत्रमा अनियमितता गर्न नहुने, एकलौटी कारोबार गर्न नहुने, बजार सीमित गर्न नहुने, बन्धनयुक्त विक्री गर्न नहुने, भ्रमपूर्ण विज्ञापन गर्न नहुने जस्ता विषयहरू यस ऐनमा समेटिएका छन् ।
प्रतिस्पर्धा प्रवर्द्धन तथा बजार संरक्षण गर्न यस ऐनमा प्रतिस्पर्धा प्रवर्द्धन तथा बजार संरक्षण बोर्डको समेत व्यवस्था गरिएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति सचिवको अध्यक्षतामा गठन हुने यस बोर्डमा अर्थ मन्त्रालय, कानून, न्याय तथा संसदीय व्यवस्था मन्त्रालय, उद्योग वाणिज्य क्षेत्रमा कार्यरतहरूबाट नेपाल सरकारबाट मनोनीत सदस्यहरू, उपभोक्ता हकहित संरक्षण क्षेत्रबाट समेत प्रतिनिधित्व हुने गरी बोर्डको व्यवस्था गरिएको छ । प्रतिस्पर्धाको संरक्षण गर्ने जस्तो महत्त्वपूर्ण भूमिका रहेको यो बोर्ड नेपालको अर्थतन्त्रको स्वास्थ्य कायम गर्न सबैभन्दा प्रभावशाली निकायका रूपमा रहेको छ ।
परन्तु, अति प्रतिस्पर्धा पनि मुलुकको अर्थतन्त्रका लागि हानिकारक हुन्छ । उदाहरणका लागि नेपालको निर्यात क्षेत्रमा उद्योगहरू खोल्ने लहरलाई लिन सकिन्छ । नेपाली तयारी पोशाकले बाह्य जगत्मा राम्रो बजार पाइरहेको समयमा हरेक नेपालीहरूको ध्याउन्न तयारी पोशाक उद्योग खोल्ने र मुनाफा कमाउनेमा केन्द्रित रहेको थियो । लगानी गर्ने क्षमता राख्ने नेपालीको ओठमा त्यस समयमा नेपाली तयारी पोशाक उद्योग लगानी गर्ने शब्द यसरी झुण्डिएको थियो कि मानौं नेपालमा लगानी गर्ने अरू कुनै क्षेत्र नै बाँकी छैन । यस्तो अन्धाधुन्ध लगानीले नेपाली तयारी पोशाक उद्योगलाई कहाँ पुर्यायो कसरी यस्तो लगानीले नेपाली तयारी पोशाक उद्योगको जग मजबुत हुन सकेन भन्ने उदाहरण हामी सबैका सामु घाम जस्तै छर्लङ्ग छ ।
नेपाली ऊनी गलैंचा उद्योगमा पनि त्यही प्रवृत्ति दोहोरिएको थियो । लगानी गर्ने क्षमता राख्ने नेपालीको ओठमा त्यस समयमा गलैंचा उद्योग लगानी गर्ने शब्द यसरी झुण्डिएको थियो कि मानौं नेपालमा लगानी गर्ने अरू कुनै क्षेत्र नै बाँकी छैन । यस्तो अन्धाधुन्ध लगानीले नेपाली ऊनी गलैंचा उद्योगलाई कहाँ पुर्यायो कसरी यस्तो लगानीले नेपाली ऊनी गलैंचा उद्योगको जग मजबुत हुन सकेन भन्ने उदाहरण हामी सबैका सामु घाम जस्तै छर्लङ्ग छ ।
यो प्रवृत्तिको शिकार पश्मिना उद्योग पनि भएको छ । नेपाली पश्मिना उद्योगमा पनि त्यही प्रवृत्ति दोहोरिएको थियो । यस्तो अन्धाधुन्ध लगानीले नेपाली पश्मिना उद्योगलाई कहाँ पुर्यायो कसरी यस्तो लगानीले नेपाली पश्मिना उद्योगको जग मजबुत हुन सकेन भन्ने उदाहरण हामी सबैका सामु घाम जस्तै छर्लङ्ग छ ।
अलैंचीमा मुनाफा देख्यो भने सबै नेपालीहरू अलैंची अलैंची भन्दै त्यसैका पछि दगुर्ने, अदुवा भने पछि सबै जना अदुवाकै पछि मरिहत्ते गर्ने, जडीबुटी भने पछि सबै जडीबुटी उद्यमी बन्ने प्रवृत्ति नेपालका यत्ति व्याप्त छ कि यसले यी कुनै पनि क्षेत्रको स्वस्थ रूपमा विकास हुन दिएको छैन । पुरानालाई भयको भारी बोकाउने, नयाँलाई पनि स्थापित हुन नदिने, उद्यम व्यवसायमा अस्वस्थ प्रतिस्पर्धाको प्रवृत्ति हावी हुने, अतिप्रतिस्पर्धाका उद्योगको आम्दानी र नाफामा ह्रास आउने, गुणस्तरमा ह्रास आउने र समग्रमा उद्योग धराशयी हुँदै जाने स्थितिको भुक्तभोगी नेपाली उद्योग क्षेत्र रहँदै आएको छ ।
यसले लगानीको जोखिम बढाउने, बैंक तथा वित्तीय संस्थाको जोखिम बढाउने र उद्यमीहरूको उत्पादनको प्रतिस्पर्धी क्षमतामा ह्रास आई समग्र अर्थतन्त्र नै धराशयी हुने खतरा विद्यमान हुने हुँदा हरेक देशले अस्वस्थ प्रतिस्पर्धाबाट जोगाउन नीतिगत र कानूनी व्यवस्था गरेका हुन्छन् । अस्वस्थ्य प्रतिस्पर्धाले निम्त्याउने जोखिम न्यूनीकरण गर्ने गरी उद्योग स्थापना, कारोबार सञ्चालन र वितरण सञ्जाल विस्तार गर्दा अति प्रतिस्पर्धाबाट जोगाउने गरी नियमनकारी निकायहरू क्रियाशील रहेका हुन्छन् ।
नेपालले पनि नेपाली निर्यातजन्य उद्योगमा देखिएका समस्याहरूलाई दृष्टिगत गरी हरेक उद्योगमा प्रतिस्पर्धाको संरक्षण र प्रतिस्पर्धीको संरक्षण गर्ने गरी नियमनकारी निकाय विशेष गरी उद्योग विभाग र वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागलाई अझ बढी क्रियाशील बनाउन आवश्यक देखिन्छ । कुनै क्षेत्रमा नयाँ उद्योग स्थापना हुँदा, नयाँ कारोबार सञ्चालन हुँदा त्यसले पुराना स्थापित उद्योगहरूलाई के कस्तो असर पर्दछ, यसले रोजगारीमा के कस्तो असर गर्दछ, पुराना उद्योगहरू धराशयी हुने अवस्था आउँछ कि आउँदैन भन्ने विषयमा गम्भीर भएर विश्लेषण गरी सो का आधारमा नयाँ निर्णय लिन आवश्यक देखिन्छ । प्रतिस्पर्धाको संरक्षणका नाममा नयाँ उद्यमहरू स्थापना गर्न दिंदै जाने हो भने सोही प्रकृतिका पुराना उद्योगहरू विस्थापित हुँदै जाने अवस्थामा स्थापित उद्योगहरूमा बैंक तथा वित्तीय संस्थाको लगानी, उद्योगमा स्वयम् उद्यमीहरूको लगानी तथा रोजगारीको अवस्थामा आउने अनिश्चयले अर्थतन्त्रलाई नियन्त्रणभन्दा बाहिर लान सक्छ भन्ने कुरालाई समेत नियमनकारी निकायहरूले विशेष ध्यान दिनुपर्ने हुन्छ ।
यसका लागि बजारको आकार, भविष्यमा बजारको प्रक्षेपण, प्रविधिको स्तर, रोजगार बजारमा पर्ने असर आदि सबै पक्षको विश्लेषण गर्ने गरी हरेक उद्योगहरूको बारेमा नियमित रूपमा अनुसन्धान हुनु जरुरी छ । यस अनुसन्धानका निचोडमा रही स्थापित उद्योगको संरक्षण र सोही प्रकृतिका नयाँ उद्योगहरूको स्थापनाका विषयहरू निक्र्योल हुने संयन्त्र र यस्तो कार्य सफलतापूर्वक सम्पन्न गर्न सक्ने जनशक्तिको विकास आजको अपरिहार्यता हो ।
उपरोक्त परिस्थितिलाई दृष्टिगत गरी नेपालले प्रतिस्पर्धाको संरक्षण र प्रतिस्पर्धाबाट संरक्षण नीतिलाई अति संवेदनशील ढंगले लागू गर्न जरुरी देखिएको छ ताकि नवप्रवेशीका लागि आगमनको ढोका बन्द नहोस् र स्थापितहरू अति प्रतिस्पर्धाका मारमा परी बन्द नहोऊन् । स्वस्थ अर्थतन्त्रका लागि प्रतिस्पर्धाको संरक्षण र प्रतिस्पर्धाबाट संरक्षणलाई मन्त्र मान्दै देशको अर्थतन्त्रको जग बलियो बनाउन जरुरी छ ।
लेखक व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रका वरिष्ठ अधिकृत हुन् ।