ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

रातो घुम्टोले सिँगारिएर जब त्रिपुरासुन्दरी भगवती माई माइत झरिन् [फोटो फिचर]

२०८० मंसिर, २९  
फोटो फिचर
Aarthik Abhiyan 18th Anniversary Image Not Found
तस्वीरहरू : सुनिल शर्मा/आर्थिक अभियान
author avatar अभियान संवाददाता

मलेखु (धादिङ) । सयौं मानिसको भीड । अघिअघि पञ्चेबाजासँगै युवाहरूले नाङ्गो खुडा, खुकुरी बोकेका छन् । कतिपयको हातमा दियो, कलश, शङ्ख, घण्ट छ । प्रहरी र भक्तजनले बनाएको हाते साङ्लोको घेराभित्र लामो कपाल मात्र देखिने प्रतिमूर्ति । सयौं मानिस बाटोको दायाँबायाँ बसेर पूजापाठ र अबिर जात्रा गर्दै छन् । 

धादिङको त्रिपुरासुन्दरी गाउँपालिका–४, सल्यानकोटबाट भगवती माइको प्रतिमूर्तिलाई त्रिपुरासुन्दरी गाउँपालिका–६, हाँसेबजारस्थित माइथानबेंसी सारिँदाको दृश्य हो यो । सयौं मानिसको लावालस्करसहित रातो घुम्टोले सिँगारिएर त्रिपुरासुन्दरी भगवती माई बिहान माइत झरेकी छन् । 

भगवतीको प्रतिमूर्तिलाई एक वर्षभित्र घर, माइत र मावली गरी तीन ठाउँमा पूजापाठ गर्ने अनौठो र रोचक परम्परा छ । यही परम्पराअनुसार आज बिहान भगवतीको घरको रूपले परिचित सल्यानकोट डाँडाको मन्दिरबाट माइतीको रूपमा चिनिने माइथानबेंसीको मन्दिरमा सारिएको स्थानीय शिवप्रसाद सापकोटाले जानकारी दिए । 

रोचक कुरा बाकसभित्र राखिएको भगवतीको प्रतिमूर्तिलाई भक्तजनले छुन भने नपाउने उनको भनाइ थियो । सापकोटाले भने, ‘पहिलेदेखिको चलन यही हो । भगवानलाई छुन र हेर्न पाइँदैन । बाहिरबाटै दर्शन गर्ने फुलअक्षेता चडाउने हो ।’ 

देवीको दर्शन गर्न सयौंको सङ्ख्यामा भक्तजनले मध्यरातिदेखि नै बाटो कुरेर बस्ने गर्दछन् । मूर्ति देख्न र छुन नपाए पनि गल्लीगल्लीमा जम्मा भएका भक्तजनले टाढैबाट दर्शन गर्ने गरिएको उनले बताए । वडादशैंको चतुर्थीका दिन पूर्वतर्फ दशैं घरबाट मूल मन्दिर सल्यानकोट सारिएको मूर्तिलाई आइतवार बिहानै न्वाघी घर आगिन्चोक हाँसे बजार मन्दिरमा सारिएको हो । 

रानामगर, तिमिल्सिना र सापकोटा थरका पूजारीले त्रिपुरासुन्दरी भगवतीमाइको मूर्ति र सरसामानलाई आफ्नो पिठ्युँमा बोकेर यात्रा गराउन परम्परा रहेको सापकोटाले जानकारी दिए । वर्षमा तीन पटक मूर्तिलाई यसरी नै बोकेर मन्दिर सार्ने गरिन्छ । रानामगर थरका स्थानीय पूजारी, सापकोटा र तिमल्सिना बाहेक अरु कसैले हेर्न र छुन नपाउने उनको भनाइ थियो । 

यी तीन थरिबाहेक मन्दिर पुग्ने जोसुकैले पनि मन्दिरको मूल ढोकाबाटै भगवतीलाई पूजाआजा गर्नुपर्ने नियम रहेको स्थानीय अगुवा कृष्णकुमार श्रेष्ठले बताए । उनका अनुसार यहाँ आइपुग्ने भक्तजनले आफ्नो मनोकाङ्क्षा पूरा गर्न परबाट नै देवीलाई फूलअछेताले पूजा गर्ने गर्दछन् । 

विवाहित नारीले धेरैजसो समय आफ्नो कर्मघरमा बिताउनुपर्ने, दशैंतिहारलगायत चाडबाडमा मामाघर जानुपर्ने र हिउँदमा फुर्सद मिल्ने भएकाले केही समय माइतीमा बस्न पाउने चलनसँग भगवतीको विभिन्न मन्दिरको बसाइँलाई तुलना गरिएको श्रेष्ठले जानकारी दिए । सोही परम्पराअनुसार सल्यानकोटमा रहेको दुई मन्दिरमध्ये घटस्थापनादेखि कोजाग्रत पूर्णिमासम्म भगवतीलाई पूर्वपट्टिको मन्दिरमा राखेर पूजाआजा गरिन्छ, जुन मामाघरको रुपमा प्रसिद्ध छ । 

स्थानीय पूजारी अर्जुन सापकोटाका अनुसार मङ्सिरदेखि चैतसम्म भगवतीलाई आगिन्चोक गाविसस्थित बेँसीको मन्दिरमा राखिन्छ, जुन भगवतीको माइतीको रूपमा चिनिन्छ । ‘सल्यानकोटकै पश्चिम थुम्कामा रहेको अर्को मन्दिरमा राखेर वर्षमा आठ महीनाभन्दा बढी समय भगवतीलाई त्यही पूजाआजा गरिने चलन छ । यसलाई भगवतीको कर्मघरका रूपमा लिइन्छ,’ उनले भने ।

‘पुजारीले मात्र छुन मिल्ने उक्त मूर्ति कस्तो आकारको छ वा बाकसभित्र के छ भनेर आम सर्वसाधारणले अहिलेसम्म देख्न पाएका छैनन् । प्रत्येक वर्ष मेला हेर्न आउँछौं । तर, छुन/हेर्न पाइने भन्ने हुँदैन । परम्परादेखि नै चलिआएको चलन हो । हामी यो परम्परा बदल्न सक्दैनौं,’ मेला हेर्न आएकी देवकी अधिकारीले भनिन् । 

नेपाल एकीकणका बेला पृथ्वीनारायण शाहले छिमेकी जिल्ला गोरखाबाट नुवाकोट आक्रमण गर्न जाँदा यही मन्दिर छेउमा बास बसेको र राति सपनामा एक बालिकाले आर्शिवाद दिएको प्रसङ्ग दिव्योपदेशमा उल्लेख छ । जिल्ला सदरमुकाम धादिङबेंसीबाट चालिस किलोमिटर उत्तरतर्फ पर्ने यो मन्दिरमा जात्रा हेर्नका लागि छिमेकी जिल्ला गोरखा, नुवाकोट, चितवन, काठमाडौं लगायतका ठाउँबाट भक्तजन आउने गर्दछन् । 

मङ्सिर महीनामा त्रिपुरासुन्दरी गाउँपालिका–४, सल्यानकोट डाँडाको मन्दिरबाट भगवतीको मूर्तिलाई बाकसभित्र राखी पिठ्युमा बोकेर करीब तीन घण्टाको पैदल दुरीमा पुगिने त्रिपुरासुन्दरी गाउँपालिका–६ माईथानबेंसीको मन्दिरमा ल्याइन्छ । यसरी देवीलाई माइत झारेसँगै यो वर्षको जात्रा सकिने गर्दछ । रासस

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)