निर्यात प्रवर्द्धन भन्ने विषय बहुआयामिक विषयका रूपमा रहँदै आएको छ । कुनै एउटा पक्षको मात्र सबलताले निर्यात क्षेत्र सबल हुन सक्दैन । यस क्षेत्रको समग्र सबलताका लागि आकर्षित हुने विभिन्न आयामको समानुपातिक र यथोचित विकास हुनु अति जरुरी हुन्छ । सारमा भन्नुपर्दा देहायका आयामहरूको समानुपातिक विकास हुन सकेको खण्डमा मात्र निर्यात प्रवर्द्धन कार्यहरूलाई परिणामोन्मुख र लक्ष्योन्मुख बनाउन सकिन्छ ।
प्रक्रियागत जटिलता अल्पविकसित देशहरूमा निर्यात अभिवृद्धिका लागि सबैभन्दा गम्भीर बाधाका रूपमा पहिचान भएको विषय हो । नयाँ निर्यातकर्तालाई प्रवेशका असहजता, अभ्यस्त व्यवसायीहरूलाई हतोत्साहन र निर्यातजन्य सुनिश्चितताको कमीका कारण यसले एकातिर निर्यात व्यवसायलाई अनुमानयोग्य बनाउन नसकिने वातावरण सृजना गर्छ भने अर्कोतिर निर्यात व्यापारसम्बद्ध लागतमा समेत वृद्धि गर्छ । यी कारणले निर्यातयोग्य वस्तुहरूको प्रतिस्पर्धी क्षमतामा ह्रास आउने र निर्यातकको समय क्षमतामा ह्रास आउने हुन जान्छ । तसर्थ निर्यातसम्बद्ध प्रक्रियाहरू निर्यात व्यापारमैत्री हुनुपर्ने पहिलो स्थापित मान्यता रहिआएको छ । तसर्थ हरेक देशहरूले सर्वप्रथम निजीक्षेत्रको समेत संलग्नतामा देशका नियम, कानुन र प्रक्रियाहरूमा विद्यमान अवरोधकहरूलाई हटाउँदै निर्यात व्यापार सहज र व्यवसायमैत्री बनाउन निर्यातसम्बद्ध प्रक्रियाहरू निर्यात व्यापारमैत्री हुन आवश्यक देखिन्छ । निर्यात व्यापार प्रवर्द्धनको यो प्रक्रियागत आयाम सबैभन्दा महत्त्वपूर्ण पक्षका रूपमा रहिआएको पक्षलाई सरकार र निजीक्षेत्र दुवैले आत्मसात् गरी निर्यात क्षेत्रका लागि आवश्यक पर्ने प्रक्रियाहरू सरल र अनुमानयोग्य बनाउन विशेष ध्यान दिनु आवश्यक छ ।
देशभित्र विद्यमान प्रक्रियागत पक्षलाई सम्बोधन गरेपश्चात् उत्पादित वस्तुहरूको प्रवर्द्धनलाई व्यवस्थित र संगठित रूपमा कार्यान्वयन गर्नु आवश्यक हुन्छ । नेपाली उत्पादनहरूलाई अन्तरराष्ट्रिय बजारमा परिचत बनाउन र प्रतिस्पर्धी बनाई नेपाली उत्पादनको बजारमा अंश वृद्धि गर्नु यी प्रवर्द्धनात्मक आयामको महत्त्वपूर्ण पक्ष हो । यी प्रवर्द्धनात्मक कार्यहरूमा नेपाली उत्पादक, निर्यातकर्ताहरूलाई मेलामा प्रभावकारी सहभागिता, नेपाली उत्पादनहरूको एकद्वार प्रणालीबाट प्रचारप्रसार र नेपाली उत्पादनहरूलाई बजारमा उपस्थिति बढाउन एकल छत्र शो रूमहरूको व्यवस्था गरी प्रवर्द्धनात्मक कार्यहरू सम्पन्न गर्नुपर्ने आवश्यकता सर्वत्र महसूस गरिएको छ । यी कार्यक्रम सञ्चालनमा देखिएको बजेटरी सहयोगको मात्रामा वृद्धि गर्नु पनि त्यत्तिकै जरुरी देखिएको छ ।
निर्यात प्रवर्द्धनको अर्को महत्त्वपूर्ण पक्ष भनेको स्वदेशमा उत्पादन, परिवहन र निर्यातका प्रक्रियागत पक्षमा सहज वातावरण सृजना गर्नु हो । जग्गाप्राप्ति, वित्त व्यवस्थापन, श्रम कानून, छूट, सुविधा आदिका माध्यमबाट निर्यात व्यापारलाई सहज बनाउन आवश्यक हुन्छ । स्वदेशमा जति सहज वातावरण हुन्छ विदेशमा नेपाली वस्तुलाई बजार प्राप्ति पनि त्यही अनुपातमा सहज हुन जान्छ भन्ने पक्षलाई दृष्टिगत गर्दै स्वदेशमा निर्यातजन्य पक्षमा सहज वातावरण बनाउन सरकार र निजीक्षेत्रले एकआपसमा हातेमालो गरी अघि बढ्न आवश्यक देखिन्छ ।
निर्यात प्रवर्द्धनको अर्को महत्त्वपूर्ण पाटो भनेको निर्यातसँग सम्बद्ध सबै पक्षलाई यस क्षेत्रमा लाग्न उत्प्रेरित गर्नु पनि हो । जुन देशमा यो उत्प्रेरणात्मक पक्ष सबल हुन्छ, निर्यात क्षेत्रको आत्मबल पनि सोहीअनुरूप सबल हुन्छ । करमा छूट, सहज वित्त व्यवस्थापन, अनुदान, प्रोत्साहनजस्ता विषयहरूलाई सम्बोधन गर्दै निर्यातजन्य वस्तुहरूको मूल्य प्रतिस्पर्धी क्षमता अभिवृद्धि गर्ने गरी निर्यात प्रवर्द्धनमा उत्प्रेरणात्मक उपायहरूमा विशेष जोड दिनु आवश्यक देखिन्छ । तसर्थ निर्यातमा उत्प्रेरणात्मक आयामलाई नेपालले पनि विशेष प्राथमिकतामा राखी आवश्यक कदम चाल्नु आवश्यक छ ।
निर्यात व्यापारमा सबैभन्दा महत्त्वपूर्ण भूमिका खेल्ने भनेको नै उत्पादनको परिमाण, मूल्य, गुणस्तर र आपूर्ति समय हो । यी सबै पक्षमा सबल हुने गरी निर्यातसम्बद्ध सरकारी निकायहरू, निजीक्षेत्रका प्रतिनिधिमूलक संघसंस्थाहरू, निर्यातसम्बद्ध पूर्वाधार, उद्यमी, उत्पादक, संकलक, ढुवानी, माध्यमिक तत्त्वहरू, निर्यातक, अनुसन्धानकर्ता र उत्पादकत्व पक्ष अब्बल हुन आवश्यक छ । यी सबै पक्षको समग्र सबलताले निर्यातमूलक वस्तु र सेवालाई अन्तरराष्ट्रिय बजारमा प्रतिस्पर्धा गर्न सहज हुन्छ । अर्थात् स्वदेशमा सबलताको स्तरले अन्तरराष्ट्रिय बजारमा उत्पादनको सबल उपस्थितिको प्रत्याभूति हुने गर्छ । निर्यात प्रवर्द्धनको यस आयामलाई दृष्टिगत गर्दै नेपालले पनि निर्यात सम्बद्ध सरकारी निकायहरू, निजीक्षेत्रका प्रतिनिधिमूलक संघसंस्थाहरू, निर्यातसम्बद्ध पूर्वाधार, उद्यमी, उत्पादक, संकलक, ढुवानी, माध्यमिक तत्त्वहरू, निर्यातक, अनुसन्धानकर्ता र उत्पादकत्व पक्षमा विश्वका विकसित र उदीयमान अर्थतन्त्रले अनुसरण गरेका विधि, पद्धति र मानकलाई आधार मानी सोहीअनुरूप उपर्युक्त पक्षलाई सबल बनाउन आवश्यक देखिन्छ ।
देश, काल र परिस्थितिले उत्पादन र वितरण प्रक्रियामा रूपान्तरणको माग गरिरहेको हुन्छ । वर्तमान सूचनाप्रविधिको आम पहुँच, विश्व नै ग्राममा रूपान्तरण भइरहेको अवस्थामा नेपालले पनि आफ्ना उत्पादन र उद्यमीहरूलाई यस नयाँ परिवेशसँग प्रतिस्पर्धा गर्ने गरी रूपान्तरण गर्न आवश्यक छ ।
अन्तरराष्ट्रिय बजारमा आफ्ना उत्पादनलाई प्रवेश गराउन र दीर्घकालपर्यन्त टिकाई राख्न उत्कृष्ट स्तरको मेधाको आवश्यकता पर्छ । उक्त मेधा प्राप्त गर्न सोहीअनुरूपको दक्ष जनशक्ति, तथ्यांक, सूचना र व्यापारसम्बद्ध ज्ञानको पनि आवश्यकता पर्छ । व्यापारसम्बद्ध मेधा जति उत्कृष्ट हुन्छ, अन्तरराष्ट्रिय बजारमा स्वदेशी उत्पादनलाई सोहीअनुरूप स्थापित गर्न सकिन्छ भन्ने मान्यता रहिआएको छ । निर्यात सम्बद्ध यो मेधा नीतिनिर्माण तह, कार्यान्वयन तह, उद्यमी, निर्यातक, ढुवानी व्यवसायी, भन्सार एजेन्ट तथा प्राज्ञिक क्षेत्र सबैतिर समान रूपमा लागू हुन्छ । यी सबै पक्षको एकीकृत मेधाले मुलुकको समग्र निर्यातलाई जुन दिशा र आकार प्रदान गर्छ, त्यो बढी चिरस्थायी र लाभदायक हुन्छ । तसर्थ निर्यात प्रवर्द्धनको महत्त्वपूर्ण आयामका रूपमा रहेको यो मेधा पक्षमा उत्कृष्टता प्राप्त गर्न यस क्षेत्रमा पर्याप्त लगानी हुन जरुरी छ ।
निर्यात व्यापार प्रवर्द्धनको अर्को महत्त्वपूर्ण आयाम मैत्री आयाम हो । नीतिशास्त्रमा यसलाई साम नीति भनिन्छ । यस सामनीतिलाई सञ्चालन गर्ने औजार भनेको दौत्य सम्बन्ध हो । मित्रताको उत्कृष्ट नमूना प्रस्तुत गर्दै स्वदेशी उत्पादनहरू सम्बद्ध बजारमा अन्य मुलुकको तुलनामा सहज प्रवेश पाउने वातावरण सृजना गर्नु नै निर्यातमा दौत्य पक्षको उद्देश्य हो । तसर्थ कूटनीतिक सक्रियताका माध्यमबाट स्वदेशी उत्पादनलाई गन्तव्य मुलुकमा सहज बजार उपलब्ध गराउने गरी दौत्य नीतिको अधिकतम उपयोग गर्न जरुरी हुन्छ । यसका लागि पनि यस्तो दौत्य नीति लागू गर्न सक्ने गरी कूटनीतिक सेवाको क्षमतामा अझ निखार र तिखार ल्याउन जरुरी छ ।
उत्पादन उद्योगसँग नैतिक आयामहरू पनि जोडिएर आएका हुन्छन् । यी आयामसँग वातावरणीय पक्ष, श्रमपक्ष, वर्गविशेष र उत्पादनमा असल अभ्यासहरू जोडिएर आएका हुन्छन् । यी पक्षहरूमा प्रचार हुने असल सन्देशले सम्बद्ध मुलुकका उत्पादनहरूलाई गन्तव्यमा विशेष दर्जा प्राप्त भइरहेको हुन्छ । नेपालले पनि यस पक्षलाई दृष्टिगत गर्दै आफ्ना उत्पादनसँग प्रत्यक्ष सरोकार राख्ने नैतिक आयामहरूमा सबल हुने रणनीति अंगीकार गर्नुका साथै यस्ता सबल पक्षहरूलाई अन्तरराष्ट्रिय समुदायमा स्थापित गर्न प्रचारात्मक र कूटनीतिक अभियान नै सञ्चालन गर्नुपर्छ ।
निर्यात प्रवर्द्धनका लागि रणनीतिक आयामको पनि महत्त्वपूर्ण भूमिका रहेको हुन्छ । कच्चापदार्थ निर्यात, अर्धप्रशोधित वस्तु निर्यात, प्रशोधित वस्तु निर्यात, म्यानुफ्याक्चर्ड वस्तुको निर्यात, सेवा निर्यात, छिमेकी देशमा निर्यात, समान सांस्कृतिक पृष्ठभूमिमा रहेका देशहरूमा निर्यात, असमान सांस्कृतिक पृष्ठभूमिमा रहेका देशहरूमा निर्यात, सम्पन्न देशमा निर्यात, विपन्न देशमा निर्यात, आम उपभोगका वस्तुहरूको निर्यात, हस्तकलाजन्य सौजन्यका वस्तुहरूको निर्यात, सहुलियतको सदुपयोगजन्य निर्यातजस्ता तमाम रणनीतिक पक्षहरूलाई मिहीन विश्लेषण गरी देश सुहाउँदो उचित निर्यात रणनीतिले मात्र निर्यातको दीर्घकालीन लक्ष्य प्राप्त गर्न सहयोग पुर्याउँछ । नेपालको निर्यात रणनीतिमा यस आयामलाई अझ गम्भीरताका साथ अंगीकार गरी अघि बढ्नुपर्ने अवस्था रहेको छ ताकि नेपालको निर्यातको चरित्र स्थापित भई स्थायी प्रकृतिको बजार प्राप्त हुन सकोस् ।
निर्यात व्यापार माथि उल्लेख गरिएझैं बहुआयामिक र बहुतान्त्रिक विधाका रूपमा रहेको हुन्छ । यसका तानाबानाहरू जटिल र धेरै जेलिएका हुन्छन् । यी जेलिएका तानाबानाहरूलाई सुल्झाउनु, तानाबानाहरूलाई गति प्रदान गर्दै निश्चित दिशा र गतिमा क्रियाशील बनाउन समन्वयको भूमिका महत्त्वपूर्ण हुन्छ । नेपालको सन्दर्भमा निजीक्षेत्र र सरकार तथा सरकारकै निर्यातसम्बद्ध निकायहरूलाई निर्यात प्रवर्द्धनरूपी अभियानमा सक्रिय तुल्याउन सर्वाधिकार सम्पन्न समन्वयात्मक निकायको आवश्यकता सर्वज्ञ महसूस गरिएको छ ।
नेपालमा विद्यमान सम्भावनाहरूलाई उजागर गर्दै तिनलाई मूलधारमा ल्याई देशको निर्यात बास्केटमा आबद्ध गराउनु अति जरुरी छ । यसका लागि सुगम र दुर्गम, मूलधारका व्यवसायी र दूरदराजका व्यवसायी, स्थापित र नवस्थापित व्यवसायी, पिछडिएको क्षेत्र र वर्गका उत्पादनहरू सबैलाई उचित संरक्षण र प्रोत्साहन हुने गरी प्राथमिकता दिनु जरूरी देखिएको छ । समान अवसर र समन्यायिक अवसरको मान्यतालाई निर्यात क्षेत्रमा स्थापित गर्ने गरी प्राथमिकता निर्धारण गर्नु जरुरी छ । देश, काल र परिस्थितिले उत्पादन र वितरण प्रक्रियामा रूपान्तरणको माग गरिरहेको हुन्छ । वर्तमान सूचनाप्रविधिको आम पहुँच, विश्व नै ग्राममा रूपान्तरण भइरहेको अवस्थामा नेपालले पनि आफ्ना उत्पादन र उद्यमीहरूलाई यस नयाँ परिवेशसँग प्रतिस्पर्धा गर्ने गरी रूपान्तरण गर्न आवश्यक छ ।
यसरी उपर्युक्त १२ वटा आयामहरूलाई एकीकृत पहुँचका आधारमा सम्बोधन गर्दै नेपालको निर्यातलाई नयाँ उचाइमा पुर्याउन सकिन्छ । उपर्युक्त १२ ओटा पक्षमा जति बढी लगानी अभिवृद्धि गर्न सकिन्छ सोहीअनुरूप नेपालको निर्यात प्रवर्द्धनसमेत हुने निश्चित छ । यीमध्ये कुनै एक पक्षमा कम ध्यान दिँदा साथ नेपालको निर्यातमा कुन न कुनै रूपमा नकारात्मक असर नै पर्ने देखिन्छ । यस पक्षलाई आत्मसात् गर्दै नेपालको निर्यात व्यापारलाई समग्रतामा एकीकृत पहुँचका आधारमा अघि बढाउन जरुरी देखिन्छ ।
लेखक व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रका वरिष्ठ अधिकृत हुन् ।