नेपाल पहाडैपहाड भएको देश हो । करीब ८० दशमलव ७ प्रतिशत भूभाग पहाडी बनावटको छ । यी पहाडले राम्राराम्रा उपत्यका बनाएका छन् । देशका विभिन्न भागमा रमणीय तालतलैया छन् । तालतलैया र उपत्यकाहरूको आफ्नै प्रकारको विशेषता छ । कतिपय ठाउँमा यी एकअर्कोको पूरकका रूपमा आबद्ध छन् । उपत्यका र तालतलैयालाई सानाठूला पहाडले घेरेका छन् । यी पहाडका टुप्पाबाट उपत्यका र तालतलैयाको दृश्यावलोकन गर्न सकिन्छ । यसका लागि पहाडका टुप्पाहरूमा दृश्यावलोकन केन्द्रहरूको निर्माण गर्न जरुरी हुन्छ । यसको अभावले यी पहाडपर्वतको सदुपयोग हुन सकेको छैन ।
यसपटकको मेरो अमेरिकी बसाइमा म क्यालिफोर्नियाको दक्षिणी भागमा रहेको अत्यन्त व्यस्त शहर लस एन्जलेस पुगेको थिएँ । यो शहर पहाडको काखमा अवस्थित छ । यो भ्रमणमा मेरो बसाइ दुई ठाउँ नरवाक र रिभर साइडमा भयो । रिभरसाइड पनि पहाडको काखमा अवस्थित छ । रिभरसाइडका केही पहाडमा दृश्यावलोकन केन्द्रहरू बनाइएका छन् जहाँबाट मानिसले दायाँबायाँमा रहेका शहरहरूको दृश्यावलोकन गर्न सक्छन् ।
दृश्यवलोकन केन्द्र अर्थात् पहाडको टुपोमा जान सुविधायुक्त पदमार्गले वरिपरिबाट घेरिएको छ । शहरको दृश्यावलोकनका लागि प्रत्येक दिन मानिसको घुइँचो लागिरहेको हुन्छ । यी शहर एकातिर पहाडको काखमा अवस्थित छन् भने अर्कोतिर प्रशान्त महासागरको काखमा । अर्थात् क्यालिफोर्नियाका शहर वा बस्तीहरू पहाड र प्रशान्त महासारको काखमा अवस्थित छन् । मेले विभिन्न पहाडको चुचुरोमा गएर प्रत्येक बस्तीको दृश्यावलोकन गर्ने मौका पाएँ । जहाँबाट रिभरसाइड, मरुन उपत्यका, सान डियागो, अन्टारियो, लस एन्जेलेस शहरहरू देख्न सकिन्छ । यी शहर प्रत्यक्ष वा अप्रत्यक्ष रूपले प्रशान्त महासागरसँग जोडिएका छन् ।
काठमाडौं उपत्यकाका साथै पोखरा सुर्खेत र दाङ उपत्यका पनि चारैतिरबाट पहाडले घेरिएका छन् । यी पहाडको उचाइ एकैनासको छैन कोही होचा छन् भने कोही अग्ला । तर, तिनीहरू यी उपत्यकाका प्रत्येक कुनाकुनामा फैलिएका छन् । यी पहाड पर्यटन उद्योगका लािग वरदान हुन सक्छन् । यो सम्भावनालाई मूर्तरूप दिन दूरदर्शिता, गहनतम विचार, स्वार्थविहीनता, निडरता, आँट र प्रतिबद्धताको आवश्यकता पर्छ । यसो हुन सकेमा आवश्यकताअनुसार यी पहाडका चुचुरामा पुग्ने न्यूनतम लागतमा पदमार्गको निर्माण गर्न सकिन्छ । यसअतिरिक्त घोडचढी उद्योगको विकासका साथै केबुलकारको विकास गर्न सकिन्छ ।
यी सबै साधनको प्रयोग गरी वर्षभर लाखौं मानिसले पदमार्गको प्रयोग गरी काठमाडौंलगायत ललितपुर, भक्तपुर, कीर्तिपुर आदि शहरको दृश्यावलोकन गर्न सक्छन् । यसले के पुष्टि गर्छ भने क्यालिफोर्नियाका पहाडहरूले जस्तै नेपालका यी पहाडले भ्यूटावरको कार्य गर्ने छन् भन्ने कुरामा शंका गर्न सकिँदैन । यी चुचुराबाट उपत्यकाका शहर र हिमालयको दृश्यावलोकन गर्न सकिन्छ । त्यस्तैगरेर पोखरा उपत्यका जुन पर्यटन उद्योगका लागि वरदान नै साबित भइसकेको छ, यो उपत्यका पनि होचा र अग्ला डाँडाले घेरिएको छ ।
फेवातालमाथि रहेको साराङकोट डाँडामा जान सडक विकास भएको छ जुन पर्यटकका लागि प्याराग्लाइडिङको सुविधाले अझ बढी आकर्षित गराएको छ । यसैको सिको गरेर रूपा र बेगनास तालहरूलाई पनि यिनीहरूको सामुमा रहेका डाँडाकाँडालाई विकास गरी दृश्यावलोकन केन्द्र बनाउन सकिन्छ । यस कदमले पोखरा पर्यटन उद्योगका लागि अझ बढी आकर्षणको केन्द्र बन्न सक्छ ।
देशका विभिन्न ठाउँमा निर्माणाधीन भ्यूटावरहरू आजको आवश्यकता हो कि होइन यस विषयमा विस्तृत खोज र अनुसन्धान हुन जरुरी थियो । जसको सहयोगले वैकल्पिक उपायहरू छन् कि छैनन् भन्ने कुराको निक्र्योल गर्न मदत गर्छ । दुर्भाग्य, यस विषयलाई वास्ता नै गरिएको छैन ।
नेपालका नेता, कार्यकर्ता, सरकारी कर्मचारी, नीतिनिर्माता र निर्णयकर्ताहरूसँग दुर्लभ स्रोतसाधनको विवेकशील प्रयोगका सम्बन्धमा कुनै सचेतता देखिँदैन । कुनै एकको सस्तो लोकप्रियताका लागि टिकाउपन नभएका र आर्थिक उन्नतिमा सहयोग वा योगदान नपुर्याउने क्षेत्रहरूमा राष्ट्रिय ढुकुटीको दुरुपयोग हुने गरेको छ । एउटा मात्र होइन, धेरै उदाहरण प्रस्तुत गर्न सकिन्छ । किटेरभन्दा दीर्घकालमा आर्थिक उन्नतिका लागि योगदान पुर्याउन सक्ने आयोजना भए पनि वर्तमान अवस्थामा ऋणको भारमात्र थोपरिरहेका छन् । यसप्रकारका आयोजनाको छनोट गर्दा कुनै एउटा स्वार्थसमूहको फाइदाका लागि गर्ने गरिन्छ । यही र यस्तै समूहको फाइदाका लागि सिङ्गो देश नै लागिपर्छ । सीमित स्रोतसाधनको विवेकशील प्रयोगका लागि दूरदर्शिताको आवश्यकता पर्छ जसलाई विस्तृत खोज र अनुसन्धानले सहयोग पुर्याउँछ । नेपालमा स्वार्थसमूहले विकासको अवधारणा बनाउँछ, त्यसैमा राष्ट्रिय ढुकुटी खर्च गर्ने परिपाटी बसेको छ । यसका ज्वलन्त उदाहरण हुन्– नेपालका विभिन्न ठाउँमा निर्माण भइरहेका भ्यूटावर । जबकि यी ठाउँका प्राकृतिक भ्यूटावर विना उपयोग खेर गइरहेका छन् । हलिउड गेट जुन एउटा टाकुराको टुपोमा छ यसले क्यालिफोर्नियाको विशाल शहर लस एन्जेलसको दृश्यावलोकन गर्न सहयोग पुर्याएको छ ।
त्यस्तै गरेर सान डियागो शहरको दृश्यावलोकन आर्मीक्याम्पको नजिकै रहेको पहाडको चुचुरोबाट हुने गर्छ । त्यस्तै चुचुरा भएका नेपालमा पनि पहाडहरू छन् जसलाई विकास गरी दृश्यावलोकन केन्द्रहरू बनाउन सकिन्छ । तर, नेपालमा वास्तविकता फरक छ । यसको बदलामा भ्यूटावरहरूको निर्माण गर्ने गरिन्छ ।
नेपाल केही राम्रो गर्नका लागि सिकारु अवस्थामा छ । सिकेर र जानेर कहिल्यै पनि पाको हुइँदैन । अरूबाट सिक्दा सानो पनि भइँदैन बरु उचाइमा पुग्न मदत गर्छ । त्यसैले अरूबाट सिक्नु र यदि राम्रो सिकाइ छ भने त्यसको नक्कल गर्नु श्रेयस्कर नै हुन्छ । नेपालमा भने कसैबाट सिक्ने प्रवृत्ति नै छैन । यसरी सिकेर कार्यमा जाने नेताको नेपालमा अभाव छ । नेताले जे सोचो त्यही नेपालको राष्ट्रिय एजेन्डा बन्छ । नेताको चाकडी र वरिपरि रहने स्वार्थसमूहले राज्यको स्रोतसाधनको परिचालन गर्छ । देश विकासका लागि त्याग र तपस्याको आवश्यकता पर्छ, जुन नेपालका नेताहरूमा अभाव छ । नेपाललाई समृद्ध बनाउन यसको सशक्त आवश्यकता पर्छ । तर, नेपालमा यसको विपरीत हुन्छ । स्वार्थीपन जहाँत्यहीँ पाइन्छ । नेपालको विकास हुन नसक्नुमा यसैको परिणाम हो भन्न सकिन्छ ।
नेपालमा सस्तो लोकप्रियताका लागि राष्ट्रिय स्रोतसाधनको परिचालन गरिन्छ । गहन खोज र अनुसन्धानको विषयलाई छायामा पारेर मनोमानी ढंगले स्रोतसाधनको परिचालन गरिन्छ । देशका विभिन्न ठाउँमा निर्माणाधीन भ्यूटावरहरू आजको आवश्यकता हो कि होइन यस विषयमा विस्तृत खोज र अनुसन्धान हुन जरुरी थियो । जसको सहयोगले वैकल्पिक उपायहरू छन् कि छैनन् भन्ने कुराको निक्र्योल गर्न मदत गर्छ । दुर्भाग्य, यस विषयलाई वास्ता नै गरिएको छैन । देशका विभिन्न ठाउँमा भ्यूटावरहरूको निर्माण भइरहेको छ । यी भ्यूटावरको विकल्पमा डाँडाकाँडाका चुचुरा प्रयोग गर्न सकिने सम्भावना यथेष्ट छ ।
एकाध अपवादलाई छोडेर तिनीहरूको प्रयोग हुन सकेको छैन । भ्यूटावरहरूको निर्माणमा हुने खर्चको सदुपयोग यी सम्भावित चुचुराहरूमा जानका लागि एउटा आठफुटे पदमार्गको निर्माण हुन सक्ने थियो, जसमा लाखौंलाख पर्यटकले पद यात्रा गरी उपत्यकाहरूमा रहेका घनाबस्तीहरूको एकातिरबाट दृश्यावलोकन गर्न सक्थे भने अर्कोतिरबाट अग्लाअग्ला हिमचुचुराहरूको दृश्यावलोकनले उनीहरूलाई मनोरञ्जन प्रदान गर्न सक्ने थियो ।
लेखक अर्थशास्त्री हुन् ।