इस्लामिक कानूनद्वारा शासित इरानमा मदिरा सेवन बर्जित छ । तर, हालै सार्वजनिक एक तथ्याङ्कले भने अत्यन्त कठोर कानून भएको यो मुलुकमा मापसेकर्ताहरूको उच्च सङ्ख्या रहेको आश्चर्यजनक खुलासा गरेको छ । समाचार संस्था इरानियन स्टुडेण्ट्स न्यूज एजेन्सी (इस्ना)ले बताएअनुसार कुल ७ करोड ७० लाख जनसङ्ख्या रहेको इरानमा करीब १० लाखभन्दा बढी मानिसले मदिरा सेवन गर्ने गरेका छन् ।
इरानमा पहिलोपटक आयोजित विश्व मदिरा दुरुपयोग सम्मेलनका सहभागी एशिया–प्रशान्त एशोसिएशनका मेडिकल टक्सिकोलोजी विभागका अध्यक्ष डा. रेजा अफसरीको भनाइलाई उद्धृत गर्दै इस्नाले यो जानकारी दिएको हो । उनले सन् २०१३ को मार्चसम्मको १ वर्षको अवधिमा गरेको अध्ययनका आधारमा यस्तो भेटिएको बताए । यसमा अझ आश्चर्यचकित पार्ने कुरा त के छ भने यो इस्लामिक मुलुकमा मदिरा सेवनकर्तामध्ये महिलाको सङ्ख्या पनि उल्लेख्य छ । ‘१० लाखभन्दा बढी इरानीले मदिरा सेवन गर्ने गरेका छन्, जसमध्ये ३० प्रतिशत महिला छन् भने ७० प्रतिशत पुरुष पाइएको छ,’ अफसरीले भने ।
सन् २०१३ को अन्त्यतिर इरानमा मदिरा सेवन गर्नेहरूका लागि त्यसको लतबाट छुटाउने उद्देश्यले पहिलो ‘डिटक्सिफिकेशन सेण्टर’ खुलेको थियो । सन् १९७९ मा इरानमा भएको इस्लामिक क्रान्तियता त्यहाँ मदिरा साथमा राख्न, सेवन गर्न र त्यसको विक्रीमा कडा प्रतिबन्ध लगाइएको छ । यद्यपि क्रिश्चियनहरूलाई मात्र मदिरा उत्पादन गर्न अनुमति दिइएको छ । इरानमा बढ्दो मापसेका कारण प्रहरीले सडकमा नै मदिरा सेवन गरे/नगरेको जाँच गर्दै आएको छ । त्यस्तै यदि मापसे गरेको पाइएमा प्रहरीले उनीहरूलाई ६० डलरसम्म जरीवानासमेत तिराउँदै आएकोे छ । इरानमा उपभोग हुने मदिरा इराकको कुर्दिस्तानबाट तस्करी हुने गरेको भए पनि इरानीहरूले स्थानीयस्तरमा उत्पादित मदिरा नै सस्तो मूल्यमा पाउने गरेका छन् । इरानमा मदिरा सेवन गरेर ज्यान गुमाउनेको सङ्ख्यासमेत बढ्दो क्रममा रहेको बताइन्छ । रासस/एएफपी