उच्च शिक्षा, योग्यता र शीप भएका मानिसले बढी पैसा कमाउने त हामीले देख्दै आएका छौं । तर, हालै भएको एक अध्ययनले भने बालबच्चा भएका पुरुषले अन्यको तुलनामा बढी पैसा कमाउने आश्चर्यजनक नयाँ तथ्य सार्वजनिक गरेको छ । अमेरिकाको न्यूयोर्कस्थित सिटी युनिभर्सिटी अफ न्यूयोर्क (सीयूएनवाई)ले सन् १९९० र सन् २०१० बीच गरेको लिङ्ग, आम्दानी र आमाबाबुबीचको सम्बन्धबारे गरेको एक अध्ययनले यस्तो बताएको हो । ‘द ममी ट्याक्स एण्ड द ड्याडी बोनस’ शीर्षकको उक्त अध्ययनको रिपोर्टअनुसार अन्य कुनै जनसङ्ख्या समूहभन्दा सन्तान भएका पुरुषले बढी कमाउने गरेका छन् । सन्तान भएका वा नभएका महिला तथा सन्तान नभएका पुरुषको तुलनामा सन्तान भएका पुरुषको व्यक्तिगत आम्दानी बढी हुने गरेको अध्ययनमा पाइएको छ ।
‘यसलाई कहिलेकाँही ‘पिताको प्रिमियम’ पनि भन्ने गरिएको छ,’ प्रतिवेदनकी लेखिका तथा सामाजिक मनोवैज्ञानिक र सीयूएनवाईका स्नातक केन्द्रकी विद्यावारिधि अध्येता जष्टिन कालकाग्नोले भनिन् । ‘हामीले लगातार अन्य समूहको तुलनामा सन्तान भएका पुरुषको कमाइ बढी हुने गरेको पाएका छौं,’ उनले भनिन् । न्यूयोर्क टाइम्सका कार्यकारी सम्पादकको असमान आम्दानीबारेको छलफलबीच यो प्रतिवेदन सार्वजनिक भएको हो । सन्तान भएका महिलामा यस्तो नहुने कालकाग्नोको दाबी छ । उमेर, शैक्षिक स्तर, पेशा, जाति, जातीय समूह तथा तथ्याङ्क सबैको निष्कर्ष एउटै रहेको प्रतिवेदनले उल्लेख छ । सन् २०१० मा भएको अध्ययनअनुसार न्यूयोर्क शहरमा बस्ने सन्तान भएका महिलाले एकदमै थोरै पैसा कमाउने गर्छन् । कामकाजी महिला र पुरुषको तुलनामा त्यस्ता महिलाको कमाइ २७ प्रतिशत कम हुने गरेको पाइएको छ । पेशामा हुने लैङ्गिक विभेदका कारण यस्तो हुने गरेको कालकाग्नोको बुझाइ छ । त्यस्तै सामाजिक मनोविज्ञानका आधारमा पनि सन्तान भएका पुरुषले काममा बढी चासो देखाउने र यसो हुँदा पुरुष कर्मचारीको मूल्याङ्कनसमेत बढ्ने र उनीहरूले बढी बोनस तथा क्षतिपूर्ति पाउन सक्ने सम्भावना रहेको उनले बताइन् । ‘सन्तान हुने पुरुष कर्मचारी न्यानोपन र मायालु स्वभावको हुने तथा उनीहरूको कामप्रतिको समर्पण पनि बढी हुने गरेको केही सामाजिक मनोेवैज्ञानिकहरू बताउँछन्,’ कालकाग्नोले भनिन् । यस्ता सबै सकारात्मक प्रवृत्तिका कारण पनि कर्मचारीहरूमा आम्दानीको अन्तर देखिने गरेको छ ।