विश्व फूटबलको एक प्रमुख शक्तिराष्ट्र भए पनि इङ्लिश टीमलाई अभागी समूहका रूपमा चित्रण गर्ने गरिन्छ । राम्रो टीम हुँदाहुँदै पनि विगत लामो समयदेखि इङ्ल्याण्डले फिफा विश्वकपमा कुनै चमत्कार देखाउन सकेको छैन । यसैक्रममा यसपालिको विश्वकप इङ्ल्याण्डका लागि फलदायी नहुने अर्थविद्हरूको एक समूहले भविष्यवाणी गरेको छ । यो वर्षको विश्वकपको ‘ग्रूप अफ डेथ’ समूहमा परेको इङ्ल्याण्डले जित हासिल गर्न सक्ने सम्भावना न्यून रहेको उनीहरूको भनाइ छ । विश्वको एक प्रमुख लेखापरीक्षण तथा अनुसन्धान संस्था प्राइसवाटर हाउस कुपर्स (पीडब्ल्यूसी)का अर्थशास्त्रीहरूले गरेको एक अध्ययनअनुसार इटली र पोर्चुगलजस्ता प्रतिद्वन्द्वी टीमले धूलो चटाउने सम्भावना बढी छ । आर्थिक पुनर्बहाली, फूटबलको विकासको स्तर र अन्य सम्बन्धित पक्षहरूका आधारमा उनीहरूले यस्तो प्रक्षेपण गरेका हुन् । संस्थाले बिहीवार प्रकाशित गरेको पीडब्ल्यूसी वल्र्ड कप इण्डेक्समा इङ्ल्याण्डको अर्थतन्त्र, कुल गार्हस्थ्य उत्पादन (जीडीपी)को आकार र जनसङ्ख्याले पनि ब्राजिलमा हुने विश्वकपमा इङ्ल्याण्डलाई जित दिलाउन निकै थोरैमात्र योगदान दिने बताइएको छ । ‘जब विश्वकपको कुरा आउँछ, पैसाले सफलता दिलाउन नसक्ने तथ्यसमेत खुल्छ,’ पीडब्ल्यूसीको प्रतिवेदनमा उल्लेख छ । सन् २००८/०९ को विश्वव्यापी वित्तीय सङ्कट र त्यसपछिको यूरोजोन ऋणसङ्कटले मन्दीमा धकेलेको इङ्ल्याण्डको अर्थतन्त्रले पछिल्लो समय सन्तोषजनक आर्थिक पुनर्बहाली हासिल गरिरहेको छ । तर, विश्वकपको तयारीमा ठूलो परिमाणमा रकम खर्च गर्दै आएको इङ्ल्याण्डले लामो समयदेखि कुनै महŒवपूर्ण जित हात पार्न सकेको छैन ।
तर, पीडब्ल्यूसीको यो तथ्य फूटबलमा मात्र सीमित छ । संस्थाले यसअघि गरेको खेल प्रतियोगितासम्बन्धी विश्लेषणमा कुनै पनि राष्ट्रले ओलम्पिकमा हासिल गरेको कुल पदकको सङ्ख्या र उक्त राष्ट्रको अर्थतन्त्रबीच गहिरो सहसम्बन्ध रहने गरेको पाइएको थियो । संस्थाका अनुसार विश्वकपमा भने कुनै देशको प्रतिव्यक्ति जीडीपी र जनसङ्ख्याको आकारले प्रतियोगितामा उक्त राष्ट्रले गर्ने प्रदर्शनमा कुनै भूमिका निर्वाह गर्दैन । ‘हरेक राष्ट्रमा दर्ता भएका फूटबल खेलाडीको सङ्ख्या र औसत फूटबलको स्तरले विश्वकपमा गर्ने प्रदर्शनलाई बढी असर गर्ने पाइएको छ,’ प्रतिवेदनका लेखक जोन हक्सवर्थले भने । त्यसैगरी कुनै पनि राष्ट्रको दीर्घकालीन फूटबलिङ अभ्यासले समेत उसको विश्वकपमा हुने प्रदर्शनलाई प्रभावित पार्ने गरेको छ, उनले बताए । ‘जीडीपीभन्दा पनि फूटबलिङ अभ्यासले विश्वकपमा सफलता दिलाउन महŒवपूर्ण योगदान दिने गरेको छ,’ हक्सवर्थले भने । पीडब्ल्यूसीको सूचकमा आठौं स्थानमा परेको आधारमा इङ्ल्याण्ड क्वाटरफाइनलसम्म पुग्न इटली र उरुग्वेजस्ता कडा प्रतिस्पर्धीहरूलाई समूहगत प्रतियोगितामा हराउनैपर्ने दबाब इङ्ल्याण्डमाथि परेको छ ।