मादकपदार्थ सेवन (मापसे) गरेर सवारीसाधन चलाउने र तीव्र गतिमा गाडी हाँक्नेलाई जरीवाना लगाउने चलन हामीकहाँ मात्र नभई विश्वका विभिन्न देशमा पनि पाइन्छ । मापसे गर्ने तथा तीव्र गतिमा सवारीसाधन चलाउने प्रवृत्ति रोक्न यस्तो कदम सहयोगी हुने गरेको छ । यस्तो गतिविधि गर्ने वा ट्राफिक नियमको उल्लङ्घन गर्नेलाई कतै थोरै जरीवाना तिराइन्छ त कतै धेरै । बेलायतमा भने त्यहाँको सरकारले मापसे गर्ने तथा तीव्र गतिमा गाडी हाँक्नेहरुलाई तिराइने जरीवाना चार गुणा बनाउने तयारी गरिरहेको छ ।
सरकारद्वारा बेलायत र वेल्सको अदालती गाइडलाइन (दिशानिर्देश) परिवर्तन गर्न न्यायाधीशसमक्ष पेश गरेको नयाँ योजनामा तीव्र गतिमा गाडी हाँक्नेलाई १० हजार पाउण्डसम्म जरीवाना लगाउने प्रस्ताव गरिएको छ । हाल उनीहरुले २ हजार ५ सय पाउण्ड जरीवाना तिर्दै आएका छन् । त्यस्तै, मापसे गनेको जरीवाना ४ हजार पाउण्डसम्म पुर्याउने उक्त योजनाको प्रस्ताव छ । यसका साथै मापसे गरेर सवारीसाधन चलाउँदा वा तीव्र गतिमा गाडी हाँक्दा कुनै गम्भीर गल्ती भएमा अदालतले अधिकतम जरीवाना लगाउन सक्ने बताइएको छ । हाल बेलायतमा अधिकतम जरीवानाको आकार ५ हजार पाउण्ड वा सोभन्दा बढी छ ।
न्यायाधीशको अधिकार बढाउने प्रस्ताव सन् १९९१ मा पेश गरिए पनि अहिले मात्र त्यो कार्यान्वयन भएको न्यायमन्त्री जेरमी राइटले बताएका छन् । न्यायाधीशहरुलाई दिइएको यस्तो असीमित अधिकार अपराधीलाई दण्ड दिन र अपराध दोहोर्याउनबाट रोक्न सहयोगी हुने राइटको भनाइ छ । तर, सवारी चालक समूहले नयाँ योजनालाई असान्दर्भिक भएको भन्दै यसको आलोचना गरेका छन् । जरीवानालाई चार गुणा बढाउनुको सट्टा सडकमा ट्राफिक प्रहरीको सङ्ख्या बढाउन अटोमोबाइल एशोसिएशनका अध्यक्ष एडमण्ड किङ्गले सुझाएका छन् ।
उता, बेलायतमा तीव्र गतिमा सवारी हाँकेर मृत्यु हुनेको सङ्ख्या उच्च रहेको भन्दै सडक सुरक्षासम्बन्धी काम गर्ने संस्था ‘ब्रेक’का प्रवक्ता जेम्स म्याकलोगलिनले आफू तीव्र गतिमा सवारी चालउनेलाई कडा सजायको पक्षमा रहेको बताएका छन् । जरीवाना चार गुणा बढाउने योजनाले केही हदसम्म भएपनि यस्तो प्रवृत्तिमा रोक लगाउन र दुर्घटनामा कमी ल्याउन सहयोग पु¥याउने विश्लेषण गरिएको छ ।