यस्तो पनि विज्ञापन !
स्विट्जरल्याण्डको एउटा धार्मिक संस्थाले अत्यन्त असामान्य विज्ञापन गरेर रोजगारीको खोजी गर्नेहरुलाई आश्चर्यचकित बनाइदिएको छ ।
व्यवसाय व्यवस्थापनलगायत विधामा सफलता पाएका व्यक्तिलाई कार्यकारी भूमिकामा राख्न चाहने कम्पनीहरुले प्रयोग गर्दै आएका आइतवार छापिने समाचारपत्रको वर्गीकृत विज्ञापन स्तम्भमा मानिसको खोजी गरिएको हो । त्यो अनौठो विज्ञापनमा भनिएको छ- तलब नलिईकन पूर्णकालीनरुपमा जीवनभर भिक्षु भएर सेवा गर्न इच्छुक बैङ्कर, व्यापारी वा कानुनव्यवसायीको आवश्यकता परेको छ ।
रोमन क्याथोलिक भिक्षुहरुको संस्थाले गरेको विज्ञापनमा उम्मेदवारको उमेर २२ देखि ३५ वर्षीचको अविवाहित पुरुष हुनुपर्ने र उसले आश्रममा बस्न स्वीकार गर्नुपर्नेछ । 'तलबको साटो सफल उम्मेदवारलाई व्यक्तिगत भौतिक सम्पत्तिबाट मुक्ति, ईश्वरको प्रार्थना र ध्यान गर्न पर्याप्त समय प्रदान गरिनेछ' विज्ञापनमा उल्लेख छ ।
स्वीस समाचार वेबसाइट 'ट्वेण्टी मिन डट कम' का अनुसार बितेको दशकदेखि भिक्षुको नयाँ भर्ती नहुँदा आश्रममा रहेका भिक्षुको सङ्ख्या २ सयमा झरेपछि त्यस्तो विज्ञापन सार्वजनिक भएको हो । अघिल्लो दशकमा उक्त संस्थामा कति जना भिक्षु थिए भन्नेबारेमा समाचारमा केही उल्लेख गरिएको छैन । रासस/एएफपी