अमेरिकी शहर लस एञ्जलस (एलए)ले चुनावी बुथलाई लटरीको टिकट बनाउँदैछ । एक चौथाइभन्दा कम मतदाता स्थानीय चुनावमा भाग लिने देखिएपछि एलएको ‘इथिक्स कमिशन’ले मतदातालाई प्रोत्साहित गर्न भोट हाल्न आउनेलाई पुरस्कार दिन सिटी काउन्सिललाई सिफारिश गरेको छ । कमिशनका अध्यक्ष नाथन होचम्यानले पुरस्कारको राशि निर्धारण गर्न परीक्षण कार्यक्रम शुरु गर्नुपर्ने बताएका छन् ।
लस एञ्जलस टाइम्सका अनुसार पुरस्कारको राशि २५ हजार डलरदेखि ५० हजार डलरसम्म हुनसक्ने होचम्यानले बताएका छन् । यस विषयलाई राज्य परिषद्का अध्यक्ष हर्ब वेशनको नेतृत्व रहेको नियम, निर्वाचन तथा अन्तरसरकारी सम्बन्ध समितिले अनुमोदन गर्न बाँकी रहेको बताइएको छ । वेशन यो उपायबाट उत्साहित बने पनि उनले छिमेकी परिषद्हरुको विचार बुझ्न चाहेको होचम्यानले बताएका छन् ।
त्यहाँको सङ्घीय कानूनले मतदानका लागि रकमको लेनदेनमाथि प्रतिबन्ध लगाए पनि मतदानका लागि यो आवश्यक रहेको इथिक्स कमिशनकी आयुक्त जेसिका लेभिन्शनले बताएकी छन् । त्यस्तै क्यालिफोर्नियाको कानूनले निर्वाचनमा सहभागी उम्मेदवारलाई भोटका लागि पैसा र पुरस्कारको लेनदेनमाथि रोक लगाएको छ । उता, होचम्यानले भने यो पुरस्कार निर्वाचन बुथमा प्रवेश गर्नका लागि मात्र रहेको दाबी गरेका छन् । रासस/एपी