बढी आत्मविश्वास भएका मानिसहरु काममा बढी सफल हुनुका साथै उनीहरुले आफ्ना समकक्षीलाई सजिलै झुक्याउनसक्ने एक अध्ययनले देखाएको छ । प्लस वान जर्नलको संस्करणमा प्रकाशित एक नयाँ अध्ययनले यस्तो देखाएको हो । बेलायतस्थित न्यूक्यासल युनिभर्सिटी र युनिभर्सिटी अफ एक्जेटरका अनुसन्धानकर्ताले गरेको अध्ययनअनुसार बढी आत्मविश्वास भएका मानिसमा आफूमा भएकोभन्दा बढी प्रतिभा छ भनेर अरुलाई झुक्याउनसक्ने क्षमता पाइएको छ ।
त्यस्तै यसले मानिसहरुले काममा सजिलै र अरुभन्दा बढी पदोन्नति पाउने अनुसन्धानकर्ताहरुले बताएका छन् । उनीहरु बैङ्क तथा अन्य सङ्गठनको शक्तिशाली पदमा समेत सजिलै पुग्नसक्ने अध्ययनमा बताइएको छ । यद्यपि, यस्ता बढी आत्मविश्वासी मानिसहरु अर्काको योग्यताबारे गलत टिप्पणी गर्न र जोखीम लिन बढी लालयित हुने पाइएको छ । यस्तो बानीले उनीहरुले काम गर्ने संस्थामा समस्या निम्त्याउने सम्भावना रहेको अध्ययनमा उल्लेख छ । त्यस्तै क्षमताबारे कम आत्मविश्वास हुने मानिसलाई उनीहरुका समकक्षीले कम आँकलन गर्ने गरेको बताइएको छ ।
कुनै एक व्यक्तिले आफ्नो क्षमता र अर्को मानिसले त्यही व्यक्तिको क्षमतालाई कसरी हेर्छ भन्ने दृष्टिकोणमा पहिलोपटक यस्तो सहसम्बन्ध पाइएको अध्ययनकर्ताहरुले बताएका छन् । अनुसन्धानकर्ताले अध्ययनको पहिलो दिनमा ७२ जना विद्यार्थीलाई आफ्नो क्षमता र अर्काको क्षमताको स्तर निर्धारण गर्न लगाएका थिए । त्यसमध्ये ३२ जना विद्यार्थी आफ्नो क्षमताप्रति कम विश्वस्त रहेको पाइएको थियो । उता, २९ जना विद्यार्थीले आफ्नो क्षमताप्रति बढी आत्मविश्वास देखाएका थिए । त्यस्तै, ११ जनाले भने आफ्नो क्षमताको सही आँकलन गरेका थिए ।
यस अध्ययनले विद्यार्थीले आफ्नालागि निर्धारण गरेको स्तर र अरुले सोचेको स्तरमा सकारात्मक सहसम्बन्ध रहेको देखाएको छ । आफ्नो क्षमताबारे बढी स्तर निर्धारण गर्ने विद्यार्थीलाई अरुले दिएको स्तरसमेत उच्च रहेको अध्ययनमा पाइएको थियो । त्यसैगरी आफूलाई कम आँकलन गर्ने विद्यार्थीमाथि पनि यस्तै अध्ययन लागू गरिएको थियो । विद्यार्थीले एकअर्कालाई राम्रोसँग चिनेको ६ हप्तापछि यो अध्ययन पुनः गरिएको थियो । यसको नतीजा पहिलाको जस्तै रहेको थियो । दोस्रोपटक पनि बढी आत्मविश्वास भएका विद्यार्थीलाई साथीहरुले पनि बढी मूल्याङ्कन गरेका थिए ।