सरकारलाई हामीले कर भुक्तानीका लागि पैसा बुझाउँदै आएका छौं । तर, इटलीमा भने कला र पुराताङ्खिवक वस्तुलाई पनि कर भुक्तानीको माध्यम बनाइएको छ । त्यहाँको सरकारले कर भुक्तानी माध्यमबाट सांस्कृतिक सम्पदालाई सरकारी नियन्त्रणमा लैजाने नयाँ कदम चालेपछि इटलीका नागरिक सरकारलाई कर तिर्नका लागि पेण्टिङ तथा मूर्तिहरुलाई प्रयोग गर्नसक्ने भएका हुन् । जनताको आम्दानीको कर तथा बाँकी रहेको कर छल्ने कार्य घटाउन मन्त्री डारियो फ्रानेसचिनीले यस्तो उपाय सुझाएको इटलीको संस्कृति तथा पर्यटन मन्त्रालयले बताएको छ ।
सरकारले ऐतिहासिक कलाका साथै पुराताङ्खिवक मूल्य भएको सम्पत्ति, समकालीन कला कौशल, प्राचीन पुस्तक तथा ठूला महलहरुसमेत करका रुपमा स्वीकार्ने बताइएको छ । सन् १९८२ मा तयार गरिएको तर थोरैमात्र प्रयोगमा आएको कलाको पुनर्संरचनासम्बन्धी प्रणालीलाई पुनर्विस्तार गर्न यो कदम आवश्यक रहेको मन्त्रालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ । सम्पत्ति कर तिर्नुको साटो सरकारलाई कलाकृतिहरु दान गर्ने प्रणाली अन्य यूरोपेली राष्ट्रहरुमा स्थापित भइसकेको छ । बेलायतमा आर्थिक वर्ष २०१२/१३ मा यस्तै किसिमको प्रणाली प्रयोगमा ल्याउँदा सरकारले ८ करोड ४ लाख डलर करबापत उठाएको बेलायती आर्ट काउन्सिलले बताएको छ ।
इटलीमा निजी र सरकारी कोष बढाउन प्रयासरत फ्रान्सेसिनीले कर भुक्तानीका रुपमा कलाकृतिलाई लिँदा राज्यलाई दोहोरो लक्ष्य हासिल गर्न सहयोग पुग्ने बताएका छन् । ‘एकातिर यसले सङ्कटको समयमा कर भुक्तानीका लागि मानिसलाई कलाकृतिको विक्री गर्न अनुमति प्रदान गर्छ भने अर्कोतिर यसले राज्यलाई ऐतिहासिक र कलात्मक सम्पत्ति पुनः हासिल गर्न सहयोग पुर्याउँछ,’ उनले भने । ६ वर्षमा तेस्रो मन्दीको सामना गरिरहेको र बचत गर्न सङ्घर्षरत इटलीमा कर भुक्तानी र राज्यको हजारौं वर्ष पुरानो कलाकृति तथा पुरातङ्खवको बचावसम्बन्धी मामिलाले ठूलै विवादको सामना गर्दै आएको छ । त्यस्तै करछलीका कारण देशले वार्षिक अनुमानित ९१ अर्ब यूरोको क्षति बेहोर्दै आएको बताइएको छ ।