आर्थिक प्रगतिले केही भाषा लोप बनाउने एक नयाँ अध्ययनले देखाएको छ । कुनै पनि राष्ट्रमा भएको आर्थिक विकास त्यहाँको भाषा सुरक्षानिम्ति बाधक हुने वैज्ञानिकहरुले बताएका छन् । जैविक अनुसन्धान जर्नल ‘प्रोसिडिङ्स अफ द रोयल सोसाइटी बी’को पछिल्लो संस्करणमा प्रकाशित एक अध्ययन प्रतिवेदनले यस्तो देखाएको हो । उत्तर अमेरिका, यूरोप र अष्ट्रेलियाजस्ता विश्वका विकसित क्षेत्रको अल्पसङ्ख्यक भाषा लोप हुने अवस्थामा रहेको अध्ययनमा पाइएको छ । त्यहाँको भाषा लोप हुनुमा आर्थिक विकास नै प्रमुख कारक रहेको बताइएको छ । त्यस्ता भाषाहरुलाई बचाउन सबैले ध्यान केन्द्रित गर्न आवश्यक रहेको प्रतिवेदनको सुझाव छ ।
‘विश्वका भाषाहरु अहिले तीव्र गतिमा लोप भइरहेका छन्, यो गम्भीर अवस्था हो,’ क्याम्ब्रिज युनिभर्सिटीका अनुसन्धानकर्ता र यस प्रतिवेदनका प्रमुख लेखक तात्सुया अमानोले बताएका छन् । भाषा लोप हुने क्रम विश्वमा कस्तो छ र यसका प्रमुख कारणहरु पत्ता लगाउन अनुसन्धान केन्द्रित भएको अमानोको भनाइ छ । विश्वमा रहेका भाषामध्ये २५ प्रतिशत लोप हुने उच्च जोखीममा रहेको उनले बताएका छन् । आर्थिक रुपमा सम्पन्न राष्ट्रहरुमा भाषा लोप हुने क्रम तीव्र रुपमा बढ्दै गएको अनुसन्धानमा पाइएको छ । उत्तर अमेरिकामा अप्पर टानाना भाषा बोल्ने मानिसहरु अलास्कामा मुस्किलले २५ जना रहेको र यो सधैंका लागि लोप हुने अवस्थामा रहेको बताइएको छ ।
त्यस्तै यूरोपको अवस्था पनि उत्तर अमेरिकाभन्दा फरक नरहेको अध्ययनले देखाएको छ । राष्ट्रको आर्थिक विस्तारसँगै त्यहाँको भाषालाई अन्य कुनै भाषाले विस्थापित गर्ने अमानोको तर्क छ । सो भाषा प्रायोग गर्न मानिसहरु बाध्य बन्ने गरेका छन् । यूरोप तथा उत्तर अमेरिकाजस्ता राष्ट्रको आर्थिक वृद्धि तीव्र रुपमा अगाडि बढ्ने क्रममा रहेकाले भविष्यमा अल्पसङ्ख्यक भाषा लोप हुनसक्ने उच्च सम्भावना रहेको बताइएको छ । यस्ता क्षेत्रमा भाषा बचाउ अभियान शुरु गर्नुपर्नेमा अनुसन्धानकर्ताले जोड दिएका छन् ।