व्यस्त दैनिकी, असन्तुलित खानपिन र ब्यायामको कमीले नित्याएको मोटोपना अहिले धेरैका लागि चिन्ताको विषय बनेको छ । सानो र छरितो ज्यानको चाहना सबैलाई हुन्छ । कार्यालयका हाकिमले आफ्ना कर्मचारीलाई तौल घटाउन र बढी क्रियाशील बनाउन प्रोत्साहित गर्ने गरेको नयाँ तथ्य खुलेको छ । कम्पनीले कर्मचारीलाई तौल घटाउन प्रेरित गर्ने मात्र नभएर उनीहरुको वजन सम्बन्धमा कडा निगरानीसमेत गर्ने गरेको पाइएको छ । ‘इम्प्लोई वेलनेश प्रोग्राम’ले गरेको अध्ययनअनुसार कम्पनीहरुले आफ्ना कर्मचारीको सक्रियताका साथै उनीहरुको तौलबारे जानकारी लिने र बढी तौल हुनेहरुलाई जरीवानासमेत तिराउने गरेका छन् ।
स्वास्थ्यसम्बन्धी अभियान वर्षौं अघिदेखि चल्दै आएको छ । पछिल्लो समय यसले विकसित रुप लिँदै आएको छ । हाल कर्मचारीको कम्मर, कोलेस्ट्रोल, सुगर लेभल र ब्लड प्रेसरजस्ता अति आवश्यक क्षेत्रको जाँच गरेर उनीहरुको तौलको स्तरबारे जानकारी हासिल गर्ने कम्पनीहरुको प्रवृत्तिमा वृद्धि भइरहेको छ । कर्मचारीको गोपनीयता कायम राख्न कम्पनीले यस्तो जाँचमा तेस्रो पक्षको प्रयोगसमेत गर्ने गरेका छन् । पछिल्लो समयमा भने तौल नापेर पुरस्कार र सजाय दिने क्रमले तीव्रता पाएको छ । कर्मचारीको शारीरिक गतिविधि र तौल व्यवस्थापन सन् २०१५ मा ठूला कम्पनीहरुको प्रमुख स्वास्थ्य प्राथमिकताभित्र पर्ने नेशनल बिजनेश ग्रूप अन हेल्थका उपप्रमुख लआन हेनिनले बताएकी छन् ।
‘रोजगारदाताहरु अझ बढी नतीजा र उद्देश्यमा आधारित प्रोत्साहनतर्फ लागिरहेका छन्,’ हेनिनले भनिन् । अधिकांश अमेरिकीहरु मोटो हुने गरेकाले कर्मचारीका लागि तौल चिन्ताको विषय हुने गरेको पाइन्छ । त्यहाँ १० वयस्कमध्ये सात जना बढी मोटो हुने गरेको तथ्याङ्क छ । मोटापनाले मधुमेह, मुटुरोगलगायतका खर्चिला रोग लाग्ने सम्भावना भएकाले पनि कर्मचारी बढी सचेत हुनु आवश्यक रहेको बताइएको छ । तर, यस्तो कदम चाल्ने कम्पनीहरुको सङ्ख्या अपेक्षाकृत थोरै भए पनि धेरै कम्पनीहरुले यस प्रवृत्तिलाई अपनाइरहेको उनको भनाइ छ ।