सिङ्गापुरमा घरपालुवा जनावरका लागि वातानुकूलित विलासी कोठा, स्पा तथा रूचिकर खाना उपलब्ध गराउने एक विलासी होटल खोलिएको छ । मङ्गलवार खोलिएको यो होटलले यस धनी नगरमा घरपालुवा जनावरका लागि उपलब्ध सेवाको स्तर अझै बढाउने अपेक्षा गरिएको छ । ४ सय १ वर्गमिटर क्षेत्रफलमा रहेको उक्त वाजिङटन होटल बेलायती उपनिवेशकालमा कूटनीतिज्ञका लागि तयार गरिएको थियो । यो होटलमा तीन कुकुरका लागि प्रतिरात २ सय ७१ अमेरिकी डलर पर्ने ‘रोयस सुट’को व्यवस्था गरिएको छ । यस्ता कोठामा महँगा बत्ती, टेलिभिजन र कृत्रिम छालाको ओछ्यानको व्यवस्था गरिएको छ ।
यो होटल विशेषगरी कुकुरका लागि तयार गरिए पनि यहाँ बिरालोका लागि पनि व्यवस्था गरिने बताइएको छ । मानवले आफ्नो जीवनमा सबैभन्दा राम्रा कुरा पाउन चाहने हो भने उसका सबैभन्दा भक्त मित्रलाई पनि यस्तै कुरा पाउने हक हुनुपर्ने यस होटलका संस्थापक स्टेल टेलरले एक विज्ञप्ति जारी गर्दै भनेका छन् । आपूm जनावरलाई मन पराउने व्यक्ति भएकाले आफ्ना जनावरलाई घरमा बसेजस्तै सजिलो अनुभव गर्ने स्थान हुनुपर्ने सोचेको विज्ञप्तिमा टेलरले उल्लेख गरेका छन् । यो होटलमा यी घरपालुवा जनावरले आराम पाउनुका साथै हड्डीको आकारमा बनेको पौडी पोखरीमा शारीरिक अभ्याससमेत गर्न सक्नेछन् ।
यहाँ उनीहरुका लागि कृत्रिम बगैंचा छ र घरभित्र दौडनका लागि ट्रेडमिल पनि छ । यी जनावरका मालिकले उनीहरुका लागि स्पा, केश शृङ्गार, मसाज, अनुहार लेपन, फिँज स्नान, भुवा सुकाउने तथा वास्नादार तेल मसाजजस्ता सेवा उपलब्ध गराउन सक्छन् । यो होटलले यी जनावरलाई घरदेखि होटलसम्म र होटलदेखि घरसम्म ल्याउन पु¥याउन लिमोजिनको पनि व्यवस्था गरेको छ । ५५ लाख जनसङ्ख्या रहेको सिङ्गापुरमा घरपालुवा जनावरका लागि मात्र २ सय ५० ओटा पसल छन् । यी पसल प्रायः ठूला बजार क्षेत्रमा छन् । एक व्यापारीले यस्ता जनावर तथा उनीहरुका मालिकका लागि साताको अन्त्यमा समुद्रमा घुम्न पानीजहाज सेवासमेत उपलब्ध गराएका छन् । रासस/एएफपी