जापानको बहुराष्ट्रिय सूचनाप्रविधि कम्पनी ‘एनईसी’ले नक्कली वस्तु पत्ता लगाउने स्मार्टफोन बनाएको छ । कम्पनीले सोमवार कुनै पनि वस्तुमा भएको माइक्रोस्कोपिक प्याटर्न पढेर वस्तु नक्कली हो होइन, छुट्ट्याउने प्रविधि सार्वजनिक गरेको हो । कम्पनीका अनुसार यस प्रविधिलाई ‘अब्जेक्ट फिङ्गरप्रिण्ट्स’ वा थ्रीडी सतह जाँचेर पनि नक्कली वा सक्कली छुट्ट्याउनका लागि प्रयोग गर्न सकिन्छ । ‘तपाईं उही प्यारेण्टल मोल्डबाट आएको वस्तुको पनि पहिचान गर्न सक्नुहुनेछ,’ एनईसीका इन्फरमेशन्स एण्ड मिडिया प्रोसेसिङ ल्याबोरेटरिजका सहायक महाप्रबन्धक तोशिहिको हिराओकीले भने । नजिकैबाट नियाल्दा एउटा बालकबाट अर्को बालकलाई समेत छुट्ट्याउन सकिने उनको भनाइ छ ।
यो प्रविधिको माध्यमबाट भन्सार अधिकारीहरुले कुनै पनि वस्तुको नजिकैबाट फोटो खिच्ने र त्यसलाई यसअघि दर्ता भएको फोटोसँग दाँजेर सक्कली वा नक्कली छुट्ट्याउन सक्ने बताइएको छ । त्यस्तै सक्कली वस्तुलाई उत्पादन भएको समय र स्थानसँग मिलाएर पनि हेर्न सकिने कम्पनीले जानकारी दिएको छ । नक्कली वस्तुको व्यापारले खर्बौं डलर छुन लागेको स्थितिमा यो उपकरण लाभदायी भएको हिराओकीले बताएका छन् । कम्पनीका अनुसार अहिले परीक्षण चरणमा रहेको यो प्रविधि आगामी वर्षदेखि व्यावसायिक विक्रीका लागि खुला गरिनेछ ।