महिला र पुरूष सँगसँगै काम गर्दा उनीहरु त्यति खुशी नहुने भए पनि यसबाट व्यवसाय भने बढी लाभान्वित हुने तथ्य फेला परेको छ । अमेरिकाका म्यासाचुसेट्स इन्ष्टिच्युट अफ टेक्नोलोजी र जर्ज वाशिङटन युनिभर्सिटीका अर्थविद्द्वय सारा फिसर इलिसन र वालेस पी मुलिनले गरेको अनुसन्धानले यस्तो देखाएको हो । महिला पुरूषको सहकार्यले व्यवसायमा उत्पादकत्व बढाउने भए पनि उनीहरुको खुशीको स्तर भने घटाउने ‘जर्नल एस्से अन ह्वाट मेन डोण्ट नो एबाउट वुमन एट वर्क’ नामक अध्ययन प्रतिवेदनमा भनिएको छ ।
अनुसन्धानकर्ताहरुले अमेरिकाको व्यावसायिक सेवा कम्पनीको ८ वर्षीय नाफा, कर्मचारी, उनीहरुको सन्तुष्टिको स्तर, सहकार्य, आत्मविश्वास र विविधताप्रतिको उनीहरुको दृष्टिकोणको अध्ययन गरेका थिए । यसमा महिला पुरूष समूहमा बसेर काम गर्ने कम्पनीका साथै महिलामात्र वा पुरूषमात्र काम गर्ने कम्पनीको तथ्याङ्क समावेश गरिएको थियो । सर्वेक्षणमा पुरूष वा महिलामात्र भएको समूहमा काम गर्ने कर्मचारीमा सन्तुष्टिको स्तर सबैभन्दा धेरै पाइयो । उता, महिला पुरूष दुवै समावेश भएको समूहमा भने सन्तुष्टिको स्तर कम रहेको अध्ययनले देखाएको छ ।
महिला पुरूष दुवै समावेश भएको समूहमा सन्तुष्टि, विश्वास र सहकार्यको स्तर ज्यादै नै कम रहेको अनुसन्धानकर्ताको भनाइ छ । यद्यपि, यसरी महिला पुरूष दुवै एउटै समूहमा बसेर काम गर्दा उत्पादकत्वमा वृद्धि हुने र व्यावसायिक लाभसमेत उच्च रहने गरेको बताइएको छ । ‘आफू जस्तै वा एउटै समूहका मानिसको वरिपरि बस्दा उनीहरुले बढी सहजता महसूस गर्ने गर्छन्,’ प्रतिवेदनकी सहलेखिका एमआईटीकी सारा फिसर इलिसनले भनेकी छन् । त्यस्तै एउटै समूहका कर्मचारीमा सामाजीकरण बढी हुँदा उनीहरुको कामप्रति ध्यान घट्नसक्ने इलिसनको भनाइ छ । उता, मिश्रित समूहमा भने सामाजीकरण कम भए पनि दक्षतामा हुने विविधताले उत्कृष्ट परिणाम ल्याउने बताइएको छ । मिश्रित समूहमा बसेर काम हुने कम्पनीको आम्दानी ४१ प्रतिशतले बढेको अध्ययनका क्रममा भेटिएको छ ।