सिङ्गापुरमा झ्यालबाट चुरोटको ठुटा फाल्ने एक व्यक्तिलाई १९ हजार ८ सय सिङ्गापुर डलर (१५ हजार डलर) जरीवाना तिराइएको छ । उनलाई तोकिएको जरीवानाको सो रकम हालसम्मकै उच्च रहेको त्यहाँको राष्ट्रिय वातावरण संस्थाले बताएको छ । ३८ वर्षीय उक्त व्यक्तिले झ्यालबाट चुरोटका ठुटा फालेको दृश्य ‘सर्भिलियन्स’ क्यामरामा कैद भएको थियो । उनी कुन चाहिँ तलामा बस्थे भन्ने नखुलाइएको भए पनि ३३ ओटा अपराधका लागि प्रतिचुरोट ६ सय सिङ्गापुर डलर तिर्न सरकारले निर्देशन दिएको थियो । त्यस्तै, ३४औं अपराधका लागि भने उनलाई सामुदायिक सेवा गर्ने आदेश दिइएको थियो । यी सबै उनले ४ दिनभित्र गरिसक्नुपर्ने बताइएको छ ।
सामुदायिक सेवाका क्रममा उनले ‘सुधारात्मक कार्य प्रक्रिया’ लेखिएको टि–सर्ट लगाएर ५ घण्टासम्म सार्वजनिक क्षेत्रको सरसफाइ गर्नुपर्नेछ । सफाइका लागि परिचित राष्ट्र सिङ्गापुरमा सार्वजनिक स्थलमा फोहोर फाल्नेजस्ता सानो अपराधका लागिसमेत ठूलै सजाय दिइन्छ । सार्वजनिक स्थल वरपर फोहोर नहोस् भन्नका लागि चुइङ्गमको आयातमा समेत प्रतिबन्ध लगाइएको छ । सन् २०१४ मा सिङ्गापुरका ६ सय स्थानमा ‘सर्भिलियन्स’ क्यामरा राखिएको र सार्वजनिक स्थलमा फोहोर फाल्ने २ सय ६ जनाविरुद्ध कारबाही गरिएको राष्ट्रिय वातावरण संस्थाको तथ्याङ्कमा पाइएको छ ।