हरेक सफल पुरूषका पछाडि कुनै महिलाको हात हुन्छ र त्यो हात विशेषगरी पत्नीको हुन्छ भन्ने हामीले सुन्दै आएका छौं । तर, विवाहले कसैको कार्य प्रदर्शनमा सम्बन्ध विच्छेदले भन्दा बढी क्षति पुर्याउँछ भन्ने कुराले धेरैलाई आश्चर्य लाग्नसक्छ । हालै युनिभर्सिटी अफ फ्लोरिडाका अर्थविद्हरुले सार्वजनिक गरेको एक अध्ययन प्रतिवेदनअनुसार हेज फण्ड व्यवस्थापकको प्रदर्शन भन्दा सम्बन्ध विच्छेद र विवाह दुबैले घटाउने देखाएको छ । यसको रोचक तथ्य के छ भने कार्य प्रदर्शनमा सम्बन्ध विच्छेद लगत्तै आउने कमी विवाह भएको लगत्तै भन्दा बढी हुन्छ ।
हेज फण्डको अल्फा (जोखीम समायोजनका आधारमा प्रदर्शनको मापन) व्यवस्थापकको सम्बन्ध विच्छेदको समयमा वार्षिक ७ दशमलव ४ प्रतिशतले घटेको तर विवाहको समयमा यो दर साढे ८ प्रतिशत रहेको पाइएको छ । ‘विवाहले फण्ड व्यवस्थापकको प्रदर्शनमा बढी क्षति पु¥याउँछ भन्ने तथ्य निकै आश्चर्यलाग्दो छ,’ प्रतिवेदनका एक लेखक डा. सुगत रेले भने । फण्ड व्यवस्थापकको सम्बन्ध विच्छेद लगानीकर्ताहरुका लागि सधैं रातो झण्डाका रुपमा रहेको छ । फण्ड म्यानेजरको सम्बन्ध विच्छेद हुँदा आपूmले उक्त हेज फण्डमा रहेको रकम झिक्ने गरेको हेज फण्ड व्यवस्थापक पल तुदोर जोन्स द्वितीय बताउँछन् । ‘व्यवस्थापक सम्बन्ध विच्छेदको स्थितिबाट गुज्रिरहँदा तपाईंले स्वतः १० प्रतिशतदेखि २० प्रतिशत रकम झिक्नु हुनेछ,’ जोन्सले भने ।
बुढा व्यवस्थापकहरुका लागि विवाह सबैभन्दा हानिकारक रहेको अध्ययनका क्रममा फेला परेको छ । औसत ४९ वर्षभन्दा माथिका म्यानेजरको विवाह भएको लगत्तै प्रदर्शन १४ दशमलव ३ प्रतिशतले घटेको पाइएको छ । उता, युवा व्यवस्थापकका प्रदर्शनमा भने विवाहले कुनै पनि हानि पुर्याएको भेटिएन । यस्ता व्यवस्थापकको प्रदर्शन सम्बन्ध विच्छेदबाट बढी प्रभावित भएको अध्ययनले देखाएको छ । बुढा म्यानेजरहरुको सम्बन्ध विच्छेदको समयमा प्रदर्शन वार्षिक ४ दशमलव १ प्रतिशतले मात्र घटेको छ भने युवाको १५ दशमलव ७ प्रतिशतले घटेको अध्ययन प्रतिवेदनमा भनिएको छ । हेज फण्डको अल्फालाई त्यहाँ अर्को व्यवस्थापक छ÷छैन भन्नेले पनि ठूलो प्रभाव पारेको बताइएको छ ।
एउटा व्यवस्थापक निजी जीवनका समस्यामा फसेको समयमा कम्पनीलाई डोर्याउने अर्को व्यवस्थापक हुने कम्पनीलाई त्यति ठूलो असर नपर्ने प्रतिवेदनका लेखक रे बताउँछन् । एकल व्यवस्थापक विवाह र सम्बन्ध विच्छेदबाट गुज्रिँदा बढी मार पर्ने उनको भनाइ छ । रेका अनुसार यिनीहरु नाफा भएको फण्ड बेच्ने र चाहिएभन्दा बढी समय घाटा बेहोरेर बस्नेजस्ता व्यावहारिक पूर्वाग्रहको शिकार हुने गरेका छन् । प्रतिवेदनका तथ्यहरु सन् १९९४ देखि २०१२ सम्म सङ्कलित तथ्याङ्कमा आधारित रहेको बताइएको छ । यसमा ७ सय ८६ जना व्यवस्थापकका ८ सय ५७ ओटा विवाह र २ सय ५१ ओटा सम्बन्ध विच्छेदलाई समावेश गरिएको छ ।